७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

होम आइसोलेसनः चिकित्सकीय निगरानी नपुग्दा जोखिमपूर्ण

गण्डकी प्रदेशमा मात्र कोरोनाका ७७ सय भन्दा बढी सक्रिय संक्रमित छन् । ती मध्ये होम आइसोलेसनमा हुनेको संख्या पनि करिब ७७ सय जति नै छ । संक्रमितको तुलनामा थोरै संख्यामा मात्र बिरामी अस्पतालमा छन् । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीको अवस्था जटिल रहेको चिकित्सकले बताएका छन् ।

पछिल्लो समय हरेक दिनहुँजसो यहाँ १५ जनाको हाराहारीमा संक्रमितले ज्यान गुमाईरहेका छन् । चिकित्सकका अनुसार होम आइसोलेसनमा रहेका बिरामीले पनि ज्यान गुमाएका छन् । त्यस्तै संक्रमित भएपछि पनि लामो समय होम आइसोलेसनमा बस्ने र अन्तिम अवस्थामा मात्र अस्पताल पुग्दा ज्यान जानेको संख्या बढिरहेको छ । होम आइसोलेसनमा बस्दा स्वास्थ्य बिग्रेको पत्तो नपाउने र अन्तिम अवस्थामा अस्पताल पुग्दा ज्यान जाने जोखिम बढेको चिकित्सक बताउँछन् ।

गण्डकी मेडिकल कलेज (जिएमसी)की मेडिकल सुपरिन्टेन्डेन्ट टुमाया घले भन्छिन्, ‘अहिले ज्यान गुमाउने अधिकांश बिरामी अन्तिम समयमा अस्पतालमा आएर हो । बेलैमा अस्पताल आउने हो भने बचाउन सकिन्थ्यो ।’ उनका अनुसार संक्रमण पुष्टि भएपछि अधिकांश संक्रमित होम आइसोलेसनमा बस्ने गरेका छन् । होम आइसोलेसनमा बस्दा उनीहरुलाई शारिरिक अप्ठेरोबारे पत्तो हुँदैन । अन्तिम अवस्थामा च्यापेपछि हतारहतार अस्पताल पुग्दा अवस्था नाजुक भईसकेको हुने उनले बताईन ।  

‘घरमै पनि निको होला की भनेर रोगले च्याप्दा पनि अस्पताल नआउँदा अहिले धेरैको ज्यान गएको छ,’ घलेले भनिन, ‘अस्पताल आउँदा निकै नै ढिला भईसकेको हुन्छ । हामीले बचाउने प्रयास गर्दा पनि सक्दैनौ ।’ होम आइसोलेनसमा बस्दा स्वास्थ्यबारे जानकार नहुँदा यो अवस्था आएको उनले बताइन । त्यसो भए के होम आइसोलेसन जोखिमपूर्ण हो त ? घले भन्छिन, ‘चिकित्सकीय निगरानीमा बस्न सक्ने अवस्थामा होम आइसोलेसन सुरक्षित मानिन्छ । तर, हामीकहाँ होम आइसोलेसनमा चिकित्सकीय निगरानी निकै नै कम छ । गाउँगाउँमा बिरामी रहेको र उनीहरुको चिकित्सकसम्म पहुँच पुग्नै सकस रहेको उनले बताईन ।

‘होम आइसोलेसनमा बस्दा कतिपय संक्रमितले आफ्नो स्वास्थ्य बिग्रेको समेत पत्तो पाउँदैनन,  त्यसो हुँदा उनीहरुले चिकित्सकीय निगरानी पनि जरुरी ठान्दैनन,’ घलेले भनिन, ‘तर, जब निकै नै कमजोर बनाउँछ, त्यसपछि अस्पताल दौड्दा ज्यान जोगाउन कठिन भएको छ ।’ होम आइसोलेसन बस्ने बिरामीलाई निरन्तर रुपमा चिकित्सकीय निगरानी आवश्यक पर्ने उनले बताईन ।  

वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा पनि होम आइसोलेसन सुरक्षित नभएको बताउँछन । ‘अहिलेको संकटको अवस्थामा मै हुँ भन्नेलाई त पहुँच छैन भने सर्वसाधारण नागरिकको स्वास्थ्यकर्मीसम्म पहुँच नै पुग्दैन,’ थापा भन्छन, ‘होम आइसोलेसनमा बसेका संक्रमितलाई चिकित्सकीय निगरानी आवश्यक पर्छ । तर, यहाँ चिकित्सकसम्म उनीहरुको पहुँच नै पुग्दैन ।’ होम आइसोलेसनमा बस्नेले चिकित्सकको सम्पर्कमा रहँदा कुनै अप्ठेरो भए समाधान हुने भएपनि सबैको स्वास्थ्यकर्मीसम्म पहुँच नै नपुग्दा अहिले बढी मानवीय क्षति भएको उनले बताए ।

‘होम आइसोलेसनमा बसेका बिरामीले अक्सिजनको तह घटेको पत्तै पाएनन् । होम आइसोलेसनमा कसरी बसेका छन भनेर सोधिखोजी पनि कतै हुँदैन,’ उनले भने, ‘सबै संक्रमितले अक्सिजन तह नाप्न पनि जानेका छैनन् र अक्सिजन मापन गर्ने साधन पनि राख्न सकेका छैनन् ।’ होम आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानी जरुरी भएपनि नेपालमा सम्भव नभएको उनले बताए । स्वास्थ्यकर्मीले संक्रमितको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिदिन सक्ने हो भने मानवीय क्षति कम गर्न सकिने उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोना फोकल पर्सन डा. शरदचन्द्र बरालका अनुसार सिरियस केस मात्र अस्पतालमा आउने गरेका छन् । सबैलाई क्रिटिकल अवस्था आउँछ भन्ने पनि छैन । सबै संक्रमित अस्पताल आउँदा थेग्न सक्ने अवस्था पनि रहन्न । त्यसैले पनि सरकारले होम आइसोलेसनलाई प्राथमिकता दिएको उनले बताए ।  

‘होम आइसोलेनस नराम्रो होइन । तर, होम आइसोलेसनमा बसेका बिरामीका लागि चिकित्सकीय परामर्श बढाउनुपर्ने हो । त्यसमा भने सजग हुनपर्छ,’ उनले भने, ‘होम आइसोलेसनमा बसेर सबैले चिकित्सकीय परामर्श पाउने हो भने समस्या हुँदैन । यहाँ त चिकित्सकीय परामर्शबिना होम आइसोलेसनमा बस्ने र जटिल अवस्था आएपछि मात्र अस्पताल आउँदा ज्यान जाने गरेको उनले बताए । ‘यो रोगको प्रकृति यही नै हुन्छ भन्ने पनि छैन । त्यसैले घरमा बस्दा बढी सचेत हुनुपर्छ,’ उनले भने ।

उनका अनुसार होम आइसोलेसनमा बस्ने सबैले अक्सिजनको तह मापन गर्ने तरिका जान्दैनन भने त्यही उपकरण किन्न पनि क्षमता राख्दैनन । त्यसैले पनि बेलाबेला चिकित्सकीय परामर्श आवश्यक परेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले होम आइसोलेसनमा बसेका बिरामीका लागि हेलो डाक्टर भनेर परामर्श दिन थालिएको उनले बताए । ‘बिरामीको लक्षण पहिलो हप्ता खासै देखिन्न । दोश्रो र तेश्रो हप्तामा बढी जोखिमपूर्ण हुने भएकोले त्यो बेलामा चिकित्सकीय परामर्श बढी आवश्यक पर्छ,’ बरालले भने ।

प्रकाशित: २ जेष्ठ २०७८ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App