१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा संक्रमित थपिँदै गत वर्षको इपिसेन्टरमा भने शून्य

उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिका–३ को भुल्के गत वर्ष यतिबेला मुलुकभरकै चर्चाको शिखरमा थियो। २०७७ वैशाख ५ गते स्थानीय नुरी मस्जिदका ११ भारतीय जमातीसहित १६ जनामा कोभिड संक्रमण देखिएपछि वैशाखभर मुलुककै ‘कोरोना इपिसेन्टर’ सावित भएको भुल्के यस पटक भने शान्त छ।  

दिनहुँ धार्मिक गतिविधिका लागि देशीविदेशी जमातीको भेला जमघट हुने मस्जिद र आसपासको बाक्लो मुस्लिम बस्तीमा जेठ पहिलो साताभित्र ३२ संक्रमित फेला परेपछि कहालीलाग्दो अवस्था सिर्जना भएको भुल्केमा यो वर्ष अहिलेसम्म एकैजना संक्रमित देखिएको छैन। हुन त गत वर्ष देखिएका ३२ संक्रमित ढिलोमा २४ दिनभित्र सबै निको भएर डिस्चार्ज भएका थिए।  

अत्यधिक त्रसित र आतंकित बनाए पनि भुल्केले मानवीय क्षति बेहोर्नुपरेको थिएन, बरु भुल्के संक्रमणकै कारण उदयपुरलाई कोभिड अस्पताल बनाउनेसम्मको अवसर मिल्यो। भुल्केसँगै जिल्लाभर ३ महिनाभित्र झन्डै सवा सय संक्रमित पाइएपछि आत्तिएका प्रशासन र स्थानीय जनप्रतिनिधिले जिल्लामै कोभिड उपचार केन्द्र बनाउने अठोट लिए। त्यसकै उपज चौदण्डीगढी नगरपालिका–६ बेलटार सातधारेमा कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइयो, जहाँ १ सय ४५ जना उदयपुर र बाह्य जिल्लावासी संक्रमितले सफल उपचार पाए।  

कोभिड संक्रमण देखिएको ६ महिना नबित्दै त्यहाँ ‘उदयपुर कोभिड अस्पताल’ निर्माण सम्पन्न भएर हाल देखिएका संक्रमितले उपचार पाइरहेका छन्। हालसम्म २२ शय्या रहेको अस्पताललाई अब छिट्टै ६० शय्यामा स्तरोन्नति गर्ने तयारी भइरहेको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए। उनका अनुसार ठुल्ठुला १२ कोठा, पर्याप्त खाली जमिन र परिसर रहेको अस्पतालमा पहिले प्रतिकोठा २ शय्या राखिएकोमा अब ५ शय्याका दरले राख्ने गरी आवश्यक स्रोतको खोजी भइरहेको छ। जिल्लामा रातदिन दर्जनौंको संख्यामा संक्रमित वृद्धि हुँदै गएपछि बेड संख्या बढाउने तयारी सुरु गरिएको मेयर राईले बताए।  

सो अस्पतालमा हाल ५ महिलासहित २५ जनाको उपचार भइरहेको छ भने ९ जना डिस्चार्ज भइसकेका छन्। अस्पताल रेखदेखको जिम्मा लिएका नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख तेजबहादुर पोखरेलले बिरामी कोही गम्भीर अवस्थामा नरहेको र सबैको स्वास्थ्य सुधारोन्मुख रहेको बताएका छन्। हाल १२ थान सिलिन्डर अक्सिजनको व्यवस्था गरिएको अस्पताललाई स्तरोन्नति गर्न सके उदयपुरका संक्रमित अन्यत्र रिफर गर्न नपर्ने पोखरेलले बताए।  

यता सदरमुकामस्थित उदयपुर जिल्ला अस्पतालमा ५ संक्रमितको उपचार भइरहेको छ। उनीहरूमध्ये ३ जनालाई अक्सिजन दिएर राखिएको छ भने २ को अवस्था सुधारोन्मुख छ। जिल्ला अस्पताललाई अनिवार्य आइसोलेसन सेन्टर सञ्चालन गर्न प्रदेश सरकारले दिएको निर्देशनअनुसार संक्रमितको उपचार सुचारु भएको उनले बताए। अस्पतालले थप श­य्याको व्यवस्था गर्न नजिकै रहेको त्रियुगा आँखा अस्पतालको नवनिर्मित भवनमा ४० बेडको आइसोलेन सेन्टर बनाएर सञ्चालनको तयारीमा राखेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले हाल उपचाररत ५ जना बिरामीलाई पनि त्यही स्थानान्तरण गरेर उपचार गरिने भएको छ। उदयपुरमा शनिबारसम्म ३ सय ६१ संक्रमित पहिचान भएका छन्। सहरदेखि गाउँबस्तीसम्म संक्रमित पाइएकाले अझै यो संख्या केही दिन बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App