७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सन्तुलित जीवनको मनोविज्ञान

आजको संसारमा मानिसलाई भौतिक सफलतालाई बढावा दिने या मानवताको गुणवत्तालाई कायम राख्न चिन्तनशील बन्ने भन्ने बारेमा छनोट गर्नुपर्ने अवस्थालाई कसरी सामना गर्ने चुनौतीको समय बनेको छ। आर्थिक र राजनीतिक नेतृत्वको विशेषाधिकार प्राप्त स्थिति प्रयोग गरेर केही विकसित देशले आफ्ना जनता र बाँकी विश्वका वास्तविक मानवीय आवश्यकतालाई बेवास्ता गर्दै आफ्नो भौतिक सफलता बढाउन प्रयास जारी राखेका छन्। 

यस्तो मार्गले बढ्दो स्वार्थ, बढी र कम भाग्यशाली व्यक्तिहरूबीचको भिन्नता र अन्ततः अराजकता र निराशामा पुर्‍याउन सक्ने सम्भावनाको उजागर गर्छ। यस अवधिमा विज्ञान र प्रविधिले अकल्पनीय कदम चालेको छ। यद्यपि हामीसँग जीवनलाई बाँच्नका लागि मूल्यवान बनाउने ज्ञानको अभाव छ। मानिसका मनोविज्ञान बुझ्दै जाँदा मानिसहरू कसरी यो परिस्थितिलाई सामना गर्न सक्लान् र तिनीहरूले भोग्नुपर्ने कठिनाइ र सामनाको बुझाइ कस्तो होला भन्ने जिज्ञासा सँगसँगै बढ्दो पाइन्छ। सन्तुलित जीवनका लागि आवश्यक आयाम अवश्य छन्।

भौतिक र आध्यात्मिक विकासको सन्तुलन  

धेरै जानकारी र ज्ञान भएको ठान्ने मानिसलाई पनि वास्तवमा इमानदार भएर भन्नुपर्दा लाग्छ, हामी सामान्य कुरा मात्रै जान्दछौँ। त्यो कुरा हो, सामान्य मानिस पनि कसरी अधिक आर्थिक र विकासका अवस्थामा फस्टाउँदै गएका छन्। मानिसमा भौतिक र आध्यात्मिक विकासको सन्तुलन नदेखिएकाले दोस्रो विश्वयुद्धपछि मनोविज्ञानको क्षेत्र ठूलो, एक विज्ञान र उपचारको रूपमा काम आउन सक्ने अभ्यास बनेको छ। वर्तमान कोरोना कहरलाई मध्यनजर गर्ने हो भने पनि प्राकृतिक विपत्तिबाट अत्तालिँदा मानिसले जताततै प्रतिकूलता मात्र देख्न थालेको छ। प्रतिकूलतामा संयमता र सजगता कसरी कायम राख्ने त्यसको कलासँग नजिक हुन सकेको पाइँदैन। यो अवस्थामा मनोविज्ञान र मनोपरामर्श नै विकल्पको रूपमा मान्नुपर्ने हुन्छ।

सकारात्मक मनोविज्ञान

अन्वेषकहरू, मनोवैज्ञानिकहरू र समाजशास्त्रीहरू अब मनोविज्ञानको महत्वपूर्ण अवधारणामा काम गर्दैछन्, जसलाई सकारात्मक मनोविज्ञान भनेर चिनिन्छ। यस नयाँ क्षेत्रले मनोविज्ञानको केन्द्रीयतालाई व्याकुलताबाट बदलेको छ। जीवनमा सबैभन्दा खराब परिस्थति आइपर्दा पनि कसरी सकारात्मक गुणहरूको विकास र अभ्यास गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्दै छन्। सकारात्मक मनोविज्ञान मानवले गर्ने कार्यमध्येको महत्वपूर्ण कार्य र वैज्ञानिक खोज हो। यसको उद्देश्य नै मानव शक्ति सद्गुणहरूमा केन्द्रित हुन सकेमा एक शान्त र स्वस्थ समाजको निर्माण हुन सक्छ भन्ने अनुमान हो। सकारात्मक मनोविज्ञानले मानवमा विद्यमान अन्धकार पक्षलाई हटाएर अन्तर्निहित सामथ्र्यको उजागर गर्नमा मद्दत गर्दछ। 

खुसी रहने, स्वीकारमा बाँच्ने, प्रेमपूर्ण हुने, चिन्ता र डरबाट मुक्त हुने एक स्वच्छ र प्रफुल्ल मानव भएर बाँच्ने प्रेरणा दिन्छ। मार्टिन सेलिगम्यान जस्ता मनोवैज्ञानिकले जीवनको सबैभन्दा खराब परिस्थितिलाई अध्ययन गर्ने हो भने पनि त्यसमा जीवनका केही राम्रा चीज लुकेका हुन्छन् भन्ने सकारात्मक परिणामलाई बुझाउने प्रयास गरेका छन्। आजका मानिसलाई आपधापीको जीवन र सफलता मात्र होइन शान्ति, आनन्द र विश्रामको पनि आवश्यक छ, त्यो नै मानिसको जीवनमा उज्ज्वल पक्ष हो भन्ने मनोवैज्ञानिकको ठम्याइ छ।

मानसिक स्वास्थ्यको सन्तुलन

मनोविज्ञानले पत्ता लगाएको र अनुभूति गरेको पक्ष मानसिक स्वास्थ्य सन्तुलनमा रहनका लागि संसारका परिस्थिति, व्यक्ति र स्वभावको बीचमा पनि आफूलाई स्वस्थ र संयम राख्न सक्नु मानसिक स्वास्थ्य सन्तुलन रहनु हो। बाहिरको परिस्थिति अनुकूल या प्रतिकूल जस्तो भए पनि आफू भित्रबाट अकम्प, निर्भय, शान्त र खुसी रहन सक्नु सकारात्मक मानसिकताको परिणाम हो। सकारात्मक मानसिकताले बाहिरको परिस्थितिलाई रोक्न नसके पनि आफूलाई संयम राख्नमा मद्दत गर्छ। सकारात्मकता मानसिक रोग विरुद्धको उपचार नै हो, जसले केवल साहस, आशावादी, पारस्परिक अन्तर्सम्बन्ध, नैतिकता, इमानदारिता र लगनशीलतालाई प्रवद्र्धन गर्दै जीवित राख्छ।

सकारात्मक क्षमता

जीवनमा सफलताका लागि मानिसको दक्षता र कार्यक्षमतालाई प्रमुख आधार मानिन्छ। तर, यसको वास्तविक मापन भनेको प्रतिकूलतालाई सम्हाल्न सक्ने सकारात्मक क्षमता महत्वपूर्ण हुन्छ। आत्म–विश्वास, स्थिरता, आत्म–प्रभावकारिता र परिवर्तनलाई रूपान्तरणमा बदल्ने गहन क्षमता केवल सकारात्मक सोचले निर्माण गर्छ। जुडिथ ओर्लोफ र एमडी जस्ता मनोवैज्ञानिकको अनुसन्धानले पनि बताएको छ कि आत्मविश्वास र सकारात्मक सोच नै मानसिको वास्तविक दक्षता र क्षमताको परिचय हो। परिस्थिति व्यक्तिको हातमा हुँदैन, तर स्वयंलाई सम्हाल्ने मनस्थिति उसले विकसित गर्न सक्छ। के सही र के गलत भन्ने अनुमानबाट साक्षीको जीवन बुझ्ने र अनुभूति गर्ने कला सकारात्मक सोचको परिणाम हो। मानिसमा भएको ऊर्जा जति सबै सकारात्मक सोच र विश्वासमा लगाउने हो भने भय, चिन्ता र उदासीपनलाई विवेक, प्रज्ञा र आत्म सन्तोषमा रूपान्तरण गर्न सकिन्छ भन्ने निष्कर्ष मनोविद्ले आफ्ना अनुसन्धानबाट निकालिसकेका छन्। केवल सकारात्मक हुन सकेमा जीवनका सबै तनाव र भय निर्मूल हुन्छन् भने त्यो क्षमतालाई किन नबढाउने ?

विश्वास र आशावादी

निराशा र असन्तोष नै रोगको, चिन्ताको र अपूर्णताको प्रमुख कारण हो। जे भए पनि, जे पाए पनि सन्तोष नहुनु निराशावादीको लक्षण हो। कसैप्रति अनुग्रहित हुन नसक्नु, समाजमा अरूले गरेका कार्यको सकारात्मक मूल्यांकन गर्न नसक्नु र अरू कसैले दिएका योगदानको कदर गर्न नसक्नु द्वेष भाव मात्र होइन, आफैँमा निराशावादी र अविश्वासको भाव बढाउनु हो। हार्वर्ड मेडिकल स्कुलका प्रोफेसर जेरोम ग्रुपम्यानले गरेको अनुसन्धानले पुष्टि गरेको पाइन्छ कि आशावादी हुन र स्व–विश्वासमा स्थिर रहन केही ठूलो काम गर्नुपर्दैन, केवल सोचलाई नयाँ आयामले प्रस्तुत गर्न सके पुग्छ। विश्वास र आशा यस्तो औषधि हो, जसले जस्तोसुकै समस्यालाई सफलतामा परिणत गरिदिन्छ। 

शरीर, मन, भाव र मानसिकतालाई स्वस्थ या अस्वस्थ के बनाउने मानिसको सोचमा निर्भर गर्छ भन्ने कुरालाई उनले राम्ररी अनुसन्धान गरेको बताउँछन्। मानिस के बन्नु अगाडि उसको सोचाइको स्तर कहाँ छ, त्यसले निर्धारण गर्ने उनको निक्र्योल छ। विभिन्न सन्त, धर्म ग्रन्थले दिएका देशनामा यिनै सकारात्मक सोच, सत्यता, प्रामाणिकता, प्रेम, इमानदारिता र विश्वासको वर्णन गरिएको कुरा उनले आफ्ना लेखमा उल्लेख गरेका छन्। अनुभव नै आफ्नो महत्वपूर्ण सिकाइ र विश्वास महत्वपूर्ण शक्ति रहेको कुरा उनी उल्लेख गर्छन्।

विश्वासिलो मित्रको साथ

जीवनमा एउटा करुणादायी विश्वासिलो मित्रको साथ मिल्नु भनेको सारा समस्याबाट मुक्ति मिल्नु हो भनिन्छ। प्राचीन युनानी दार्शनिक अरिस्टोटलले तीन प्रकारका मित्र र तिनले जीवनमा दिने सहयोगको बारेमा उल्लेख गरेका छन्। उपयोगिता व्यापारिक सहयोग र बराबर फाइदा मिलोस् भनेर व्यापारमा साथ दिने मित्र, आफ्ना क्रम र सहयोगले मित्रको हरेक दुःख र असहजतामा खुसी दिने मित्र र भावनात्मक रूपमा पवित्र सोच भएको मित्र भनेर वर्णन गर्दै मित्रतालाई उच्च कोटिको सम्बन्धमा राखेका छन्। इजिप्टका रब्बी–चिकित्सक मुसा मैमोनाइड्सले अरिस्टोटलको दृष्टिकोणसँग सहमति हुँदै थपेका छन्, जीवनमा कल्याणकारी मित्र हुनु सबभन्दा ठूलो उपलब्धि हो। एउटा असल मित्र पाउनेले आफ्नो जीवनमा पाँच वर्ष आयु बढाउन सक्छ भनेर समेत उल्लेख गर्दछन्। दुव्र्यसनी, चिन्ता र निराशाबाट मुक्ति पाउनका लागि एउटा कल्याणकारी मित्रको ठूलो योगदान रहने बताउँछन्।

प्रकाशित: १ जेष्ठ २०७८ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App