वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो। सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन्।
वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ। वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ। कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ। उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो। पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ। वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। एक हजार ३३४ सङ्क्रमितको आइसियुमा तथा ३७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आइसियुमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन्। काठमाडौँ उपत्यकामा मात्रै १८५ सङ्क्रमितको आइसियुमा तथा १०५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।
काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो। सो सङ्ख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ३१ वैशाख २०७८ १४:५७ शुक्रबार