२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा अहिलेसम्मकै धेरै संक्रमण पुष्टि

उयदपुरमा शुक्रबार हालसम्मकै बढी एकैदिन ६० जनामा कोभिड संक्रमण देखिएको छ। जिल्ला अस्पताल, उदयपुर कोभिड अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा एन्टिजेन परीक्षण गर्दा २१ महिलासहित ५० जना नयाँ संक्रमित भेटिएका हुन्।  

संक्रमित भेटिएकोमा त्रियुगा नगरपालिका वडा नं. १६ मा मात्र १५ जना छन्। वडाको बेलदोभानस्थित एउटै टोलमा ९ महिलासहित १५ जना संक्रमित भेटिएको वडाध्यक्ष मानबहादुर राईले बताए।

उनका अनुसार गाउँमा धेरैजनामा एकैचोटी ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि अघिल्लो दिन ५ जनाको स्वाव परीक्षण गरिएकोमा सबैमा संक्रमण पुष्टि भएको थियो।

उनीहरुमा संक्रमण देखिएपछि घुलमिल भएकाहरुलाई शुक्रबार नगरपालिकाको प्राविधिक टोली स्थलगत खटेर स्वाव परीक्षण गराउँदा अन्य १० मा संक्रमण देखिएको हो।  

एउटै टोलका ५ जना सबै संक्रमित पाइएपछि नगरपालिकाको स्वास्थ्य टोलीले वडाको जाँते आधारभूत स्वास्थ्य केन्द्रमा गरेको २३ जनाको स्वाव परीक्षणमा ७ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको वडाध्यक्ष राईले बताए। राईका अनुुसार अघिल्लो दिन ५ मध्ये २ जना महिला छन्।  

त्यसैगरी जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित उदयपुर कोभिड अस्पताल बेलटारमा गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

२७ जनाको स्वाव परीक्षण गर्दा ३ महिलासहित १३ जनामा संक्रमण पाइएको नगरपालिका स्वास्थ्य शाखा संयोजक तेजबहादुर पोखरेलले बताए। योसहित चौदण्डीगढीमा संक्रमितको संख्या ५० पुगेको पोखरेलले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीका अनुसार शुक्रबार परीक्षण गरेको रिपोर्ट मंगलबार मात्र आउने भएकाले यो संख्या बिहीबारसम्मको मात्र हो। उनका अनुसार बिहीबारसम्मको सक्रिय संक्रमितको संख्या ३ सय ६१ हो।

त्यस्तै चौदण्डीगढी नगरपालिकामा ३ महिलासहित ११, लिमचुङबुङ गाउँपालिका १ मा ४ महिलासहित ७ जना, बेलका नगरपालिकाकामा २ महिलासहित ५ जना, रौतामाई गाउँपालिका १ मा ३ सहित ४ पुरुष संक्रमित भेटिएको स्वास्थ्यका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए। जिल्लाभरको बिहीबारसम्मको संक्रमित संख्या बिहीबारसम्म ३ सय ६१ जना पुगेको उनले बताए।

उदयपुरमा संक्रमितमध्ये हालसम्म १३ जना निको भएर घर फर्केका छन्। उदयपुर कोभिड अस्पतालबाट ९ जना निको भएर शुक्रबार डिस्चार्ज भएका छन् भने यसअघि ४ जना निको भएका थिए।

संक्रमितमध्ये हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उदयपुरमा कोभिड संक्रमितहरुको उपचार चौदण्डीगढी नगरपालिका ७ बेलटारस्थित उदयपुर कोभिड अस्पताल, जिल्ला अस्पताल, कटारी, रामपुर र लिमचुङबुङ अस्पतालमा भइरहेको छ।

जिल्ला अस्पतालमा २० थान अक्सिजन सिलिण्डरसहितको सेवा सुचारु छ। त्यहाँ झण्डै एकवर्षअघि नै ५ शय्या आईसियुसहित २ शय्या भेन्टिलेटरको व्यवस्था भए पनि जनशक्ति अभावले सञ्चालनमा ल्याउन सकिएको छैन।  

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जीवनारायण मण्डलले पटकपटक माग गर्दा पनि एनेस्थेसियन पाउन नसकेका कारण भेन्टिलेटर र आईसियु सञ्चालन गर्न नसकेको बताए।

१२ थान अक्सिजन सिलिण्डरको व्यवस्था रहेको उदयपुर कोभिड अस्पतालमा हाल २५ जना संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित: ३१ वैशाख २०७८ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App