३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितले भरिएपछि अन्य बिरामीलाई सास्ती

टीकापुर नगरपालिका–१ की ललिता जैशी गर्भवती थिइन्। स्वास्थ्यकर्मीले उनलाई सुत्केरी हुने मिति जेठ ७ गते दिएका थिए। तर उनलाई वैशाख २२ गते नै ब्यथा लाग्यो। उनका आफन्तले निजी क्लिनिकमा लगे। स्वास्थ्यकर्मीले भिडियो एक्सरे गरे।  

बच्चाको तौल कम भएको र एनआइसियुमा राख्नुपर्ने सुझाव दिएपछि उनलाई आफन्तले एम्बुलेन्समा नेपालगञ्ज नर्सिङ होम पुर्याए। सुरुमा अस्पतालका स्वास्थ्यकर्मीले हेर्दै हेरेनन्। उनका आफन्तले निकै आग्रह गरेपछि चेकजाँच गरेर नर्सिङ होमले सुत्केरी व्यथा नलागेको भन्दै घर पठायो।  

उनलाई वैशाख २३ गते फेरी बिहानै सुत्केरी व्यथा लाग्यो। आत्तिँदै उनका आफन्तले टीकापुर अस्पताल पुर्‍याए। अस्पतालले व्यथाले च्यापिसकेको भन्दै उनको अप्रेसन गरेर बच्चा जन्मायो। अहिले नवजात शिशु र आमा स्वस्थ्य छन्। उनका श्रीमान् वासुदेव अधिकारीले अस्पतालले कोरोनाबाहेकका बिरामीलाई गर्ने व्यवहार राम्रो नभएको बताए।

टीकापुर नगरपालिका–१ कै ६७ वर्षीया धना धमालाको अचानक दिसापिसाब रोकियो। उनका आफन्तले उपचारका लागि टीकापुर अस्पताल लैजान खोजे। तर अस्पतालमा बिरामीको अत्याधिक चाप थियो। आफन्तले धनगढी र नेपालगञ्जका सबै अस्पतालहरूमा बुझ्दा पनि बेड पाउन सकेनन्। अन्ततः आफन्तले घरमै स्वास्थ्यकर्मीको सहयोगमा औषधि सुरु गरे।

‘आमालाई दिसापिसाब खुलेको छैन, बाहिर लैजाने तयारी गरेको हो, कुनै अस्पतालमा ठाउँ छैन मात्रै भन्छन्,’ छोरा नवीन धमालाले भने ‘अस्पताल कोरोनाका बिरामीले भरिएपछि अन्य बिरामीलाई उपचार नै नहुने कुरा ठिक भएन।’

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालहरूमा संक्रमित तथा कोरोनाको लक्षण भएका बिरामी बढेपछि अन्य स्वास्थ्य समस्या भएका बिरामीहरू उपचारबाट वञ्चित हुन थालेका छन्। टीकापुर अस्पतालले इमरजेन्सी बाहेकका सेवा बन्द गरेको छ। जसका कारण कैलालीको पूर्वी भेगका टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका र जानकी, जोशीपुर, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन।  

टीकापुर अस्पतालमा यसअघि दैनिक ५ सय बढी बिरामीहरू चेकजाँचका लागि आउने गरेका थिए। अस्पतालले अन्य बिरामीको चेकजाँच गर्न छोडेपछि स्थानीय क्लिनिकहरूमा बिरामीको भिड लाग्न थालेको छ।  

टीकापुर अस्पतालका मेसु डा. रेमकुमार राईले कोरोना संक्रमण फैलिएपछि बिरामी आउने क्रम रोकिएको बताए। ‘कोरोना संक्रमितको उपचारका लागि खट्नु पर्ने भएकाले कम जनशक्ति र शय्याका हिसाबले अन्य सेवा बन्द गर्नुपरेको हो,’ उनले भने, ‘हामी सबैको उपचार गरिरहेका छौं, संक्रमणको डरले सकेसम्म नआउनुस् भन्ने हो तर बिरामी आएपछि उपचार त गर्नै पर्‍यो।’  

डाक्टर राईका अनुसार टीकापुर अस्पतालमा इमरजेन्सीसहित खोप सेवा, एचआइभी संक्रमितहरूका लागि एआरटी सेवा, प्रसूति सेवा सञ्चालनमा रहेको छ। उनले अस्पतालमा आउने विरामीहरू कोरोनाको शंकास्पद लक्षण भएका हुनाले उनीहरूलाई ओपिडीमा बेडको व्यवस्था गरेर उपचार गरिरहेको जानकारी दिए।  

उनले विरामीको समस्यालाई ध्यानमा राख्दै अस्पतालका चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरिएको र अत्यावश्यक परे इमरजेन्सीमै भए पनि उपचार गर्दै आइरहेको बताए। 

प्रकाशित: २८ वैशाख २०७८ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App