तुल्सीपुर उपमहानगरपालिकाले कोरोना संक्रमतिको उपचारका लागि भन्दै ५० बेडको आइसोलेसनको संरचना तयार पार्यो। केही दिनअघि मात्रै सम्पन्न आइसोलेसनमा बिरामी संख्या भने अहिलेसम्म शून्य छ। आइसोलेसनमा बेडसहित आवश्यक पूर्वाधार तयार पारिए पनि अक्सिजन अभावमा सञ्चालनमा आउन भने सकेको छैन।
उपमहानरका मेयर घनश्याम पाण्डे भन्छन्, ‘आइसोलेसन तयार छ, तर अक्सिजन नहुँदा बिरामी राख्न सकिएको छैन।’ मेयर पाण्डेका अनुसार उपमहानगरले आवश्यक अक्सिजनको जोहो गरिरहेकै छ। तर आइसोलेसनका लागि नभई बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालका लागि जोहो गरिरहनु परेको छ।’ राजपुर गाउँपालिकाले भने २० बेडको आइसोलेसन तयार पार्यो। तर यो गाउँपालिकाको आइसोलेसनमा पनि एकजना बिरामी छैनन्। यो गाउँपालिकामा पनि अक्सिजन अभाव हुँदा बिरामीहरूलाई आइसोलेसनमा राख्न सकिएको छैन। फलतः त्यहाँका बिरामीहरूलाई लमही स्थित आइसोलेसनमा पठाईएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए।
‘आइसोलेसन तयार पार्याे, तर अक्सिजन अभावमा बिरामी राख्न सकिएको छैन,’ अध्यक्ष केसीले भने, ‘हामीहरूले बिरामीहरूलाई लमहीस्थित आइसोलेसनमा पठाइरहेका छौँ।’ देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको लगानीमा लमहीमा आइसोलेसन सञ्चालन भएको छ। गढवा गाउँपालिकाले पनि आइसोसेसन त तयार पार्यो, तर यो आइसोलेसनमा पनि बिरामी राख्न नसकिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए।
देउखुरी क्षेत्रका चार वटा स्थानीय तहका बिरामी राख्नका लागि लमहीमा आइसोेलेसन तयार पारिएको छ। ४२ बेडसहितको उक्त आइसोलेसनमा पनि बिरामीको चाप बढे अक्सिजन पुर्याउन सकिएको छैन। लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भने, ‘अहिले आइसोलेसनमा रहेका बिरामीहरूका लागि त अक्सिजन पुगिरहेकै छ, तर बिरामीको चाप थप बढेमा अक्सिजन पुर्याउन सकिने छैन।
जिल्लामा कोरोना संक्रमण रोकथामका लागि ढिला गरी तातेका स्थानीय तहहरूले बिरामीको उपचारलाई प्राथमिकता दिएका छन्। फलतः बिरामीहरूको उपचारका लागि आइसोलेसन निर्माण भए। तर आइसोलेसन निर्माण गरिए पनि अक्सिजन अभावमा बिरामीको उपचार भने गर्न सकिएको छैन। केही स्थानीय तहले आँफूसँग रहेको सीमित अक्सिजनको उपयोग गरेर मात्रै उपचार गर्ने गरेका छन्। दंगिशरण गाउँपालिकाले २० बेडको आइसोसेसन सञ्चालनमा ल्यायो।
तर यो गाउँपालिकाले अक्सिजन अभावमा पूरै बेडमा बिरामी राखेर उपचार गर्न नसक्ने अवस्था भयो। गाउँपालिकाले केही अक्सिजन सिलिण्डरको जोहो गर्यो। फलतः २० बेडको आइसोेलेसन निर्माण गरेको यो गाउँपालिकाले ७ बेड मात्रै सञ्चालनमा ल्याउन सक्यो। ‘हामीहरूले अक्सिजन अभावमा पूरै बेड सञ्चालनमा ल्याउन सकेनौँ,’ गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले भने, ‘थोरै अक्सिजनको जोहो गरेर अहिले सात बेड मात्रै सञ्चालनमा ल्याएका छौँ।’
जिल्लाकै शान्तिनगर गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसनमा अहिले ५ जना मात्रै बिरामी छन्। यो गाउँपालिकामा रहेको सात वटा अक्सिजन सिलिण्डरले यी बिरामीको उपचारमा सहज भइरहेको छ। २० बेडसहितको आइसोलेसनमा थप बिरामी राख्न नसकिने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए।
बबई गाउँपालिकाले कोरोना संक्रमितहरूको उपचारका लागि भन्दै अस्थायी कोरोना अस्पताल सञ्चालन गर्यो। ३० बेडको यो अस्पतालमा १० वटा अक्सिजन सिलिण्डरको व्यवस्था गाउँपालिकाले गरेको छ। अस्पतालको पूरै बेडमा बिरामी राख्नका लागि भने यो अक्सिजनले पुग्दैन। ‘अक्सिजनका लागि गाउँपालिकाले हारगुहार गरिरहेको छ, तर पनि पाउन सकेको छैन,’ गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले भने ‘खाली सिलिण्डरहरूमा अक्सिजन भर्नका लागि पनि धेरै समस्या छ।’ घोराही उपमहानरपालिकाले भने अहिलेसम्म आइसोलेसन निर्माण गरिसकेको छैन। ५० वटा अक्सिजन सिलिण्डर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको यो उपमहानगरपालिकाले तत्कालै आफ्नो आइसोलेसन निर्माण गर्ने जनाएको छ।
प्रकाशित: २६ वैशाख २०७८ ०२:१२ आइतबार