२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण बढेपछि उपचारमा जटिलता

कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज।तस्बिर: नागरिक

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण बढेपछि उपचारमा जटिलता उत्पन्न भएको छ। संक्रमितको उपचारका लागि दिनरात खटिएका स्वास्थ्यकर्मी आफै संक्रमित भएपछि जटिलता देखिएको हो। भेरी अस्पतालका अनुसार अहिलेसम्म त्यहाँ कार्यरत ७ जना चिकित्सकसहित स्टाफ नर्स, पारामेडिक्स, हेल्फर गरेर ६५ जनालाई कोरोना संक्रमण भइसकेको छ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा कार्यरत ८ जना चिकित्सकसहित ४२ जना स्टाफ नर्स लगायतलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यकर्मीमै तीव्ररुपमा कोरोना संक्रमण बढेपछि अन्य संक्रमित बिरामीको गुणस्तरिय उपचार सेवामा जटिलता उत्पन्न भएको अस्पतालले जनाएका छन्।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भेरी अस्पतालको इमेरजेन्सीमा कार्यरत ७ जना चिकित्सकसहित कोभिड वार्ड लगायत अन्य वार्डमा कार्यरत कुल ६५ जना स्वास्थ्यकर्मीलाई अहिलेसम्म कोरोना संक्रमण देखिसकेको नागरिकलाई बताए। उनका अनुसार कोरोना संक्रमित सबै इमेरजेन्सी कक्षका चिकित्सक अहिले होम आईसोलेशनमा बसिरहेका छन्। यस्तै स्टाफ नर्स, पारामेडिक्स, हेल्फरहरु केही अस्पतालमा भर्ना छन्, भने कोही होम आईसोलेशनमा बसिरहेका छन्।  

गम्भिर अवस्थाका स्वास्थ्यकर्मी अस्पतालमा भर्ना भएपनि सामान्य अवस्थाका स्वास्थ्यकर्मी अहिले पनि काममै खटिएका छन्। आफू संक्रमित भएर पनि केही स्टाफ नर्सले कोभिड वार्डका बिरामीको सेवा गरिरहेका छन्। ‘जो कोरोना पोजेटिभ भएर पनि सामान्य अवस्थामा छन्, ति स्टाफ नर्सले अहिले पनि बिरामीको सेवा गरिरहेका छन्,’ मेसु थापाले भने। कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी नै अछुतो रहन नसकेपछि अस्पतालको प्रभावकारी सेवामा स्वभाविक रुपले जटिलता आउन सक्ने उनको आंकलन छ। भेरी अस्पतालमा अहिले २ सय बेड क्षमताको कोभिड वार्ड रहेको छ। तर, कोभिड वार्ड भरिएर पनि संक्रमितहरु अन्य वार्डमा बसिरहेका छन्। बुधबार बिहानसम्म अस्पतालमा २ सय १२ जना बिरामी अस्पतालमा रहेको थापाले सुनाए।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मी केहीलाई होम आईसोलेशन र केहीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको छ। मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेष्ठले कोरोना संक्रमण भएर स्वास्थ्य अवस्था गम्भिर भएका स्वास्थ्यकर्मी अस्पतालमै भर्ना भएर उपचार गरिरहेको र सामान्य अवस्थाका स्वास्थ्यकर्मी होम आईसोलेशनमा बसिरहेको बताए ।

‘हाम्रो अस्पतालमा कोरोना पोजेटिभ भएका कुल ४२ जना स्वास्थ्यकर्मी मध्ये ८ जना डाक्टर हुनुहुन्छ, बाँकी स्टाफ नर्स, हेल्फर लगायत हुनुहुन्छ,’ उनले नागरिकसँग भने ‘पोजेटिभ भइसकेपछि स्वास्थ्यकर्मीले काम गर्नु भएको छैन, यसरी स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि उपचार सेवामा जटिलता आउन सक्छ।’ उनका अनुसार मेडिकल कलेजमा अहिले ६० जना जति संक्रमित उपचाररत छन्। मेडिकल कलेजले कोभिड वार्डको क्षमता बढाएर एक सय बेड पुर्याउन लागेको उपनिर्देशक डा. श्रेष्ठले बताए।

प्रकाशित: १५ वैशाख २०७८ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App