५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अस्पतालमा जनशक्ति अभाव, संक्रमित र कुरुवा सँगसँगै

अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव छ भने गम्भीर लक्षणका बिरामीको चाप बढ्दै गएको छ।  

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, नर्भिक, ग्रान्डी, मेडिसिटी, ह्याम्स, सिभिललगायत अस्पतालका अधिकांश बेड कोभिडका बिरामीले भरिभराउ छन्। बिरामीको संख्या बढेसँगै उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बिरामीसँगै कुरुवालाई राख्न थालिएको छ। पाटन अस्पताल स्रोतका अनुसार मंगलबारसम्म १ सय ४४ वटा (सबै) बेड बिरामीले खचाखच छन्। उपचारका लागि पखाईमा बसेका १९ जना छन्।  

बेड खाली नभएपछि नाम लेखाएर कतिपय बिरामीलाई पखाईमा समेत राखिएको असपतालका डाक्टर विमल पाण्डले जानकारी दिए। ‘अस्पतालमा निकै अप्ठेरो छ, भएभरका बेड प्याक छन्, नयाँ बिरामीलाई पखाईमा राख्नुपरेको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ।’ दैनिक ४ सय जना बिरामी अस्पतालमा भर्ना हुन आए पनि अक्सिजन दिनुनपर्ने बिरामीलाई सामान्य चेकअपपछि फिर्ता पठाउने गरिएको उनको भनाइ छ। अक्सिजनसमेतको अभाव भएपछि अस्पतालमा त्रास पैदा हुन थालेको उनले बताए।  

चिकित्सकले मात्रै बिरामीको सबैखाले रेखदेख गर्न नसकेकाले कुरुवालाई समेत सँगै बस्न दिन थालिएको चिकित्सकको भनाइ छ। अस्पतालमा भीडभाड बढ्न थालेकाले अब कुरुवालाई बिरामीसँगै राख्न नदिइने एक चिकित्सकले बताए। उनका अनुसार गम्भीर प्रकृतिका र शारीरिक रूपमा कमजोर भएका बिरामीसँगै कुरुवा पनि राख्ने गरिएको छ। ‘हामीले मात्रै बिरामीको स्याहार गर्न सक्ने अवस्था छैन, संक्रमितलाई खाना खुवाउने, दिसापिसाब गराउने र अन्य अवस्था ख्याल गर्न कुरुवा पनि साथैमा राख्न भनेका छौं,’ इमर्जेन्सी कक्षका एक चिकित्सकले भने। उनले पछिल्लो समय संक्रमितको दर मात्रै नबढेर गम्भीर लक्षण देखिन थालेपछि अस्पतालमा चाप बढेको बताए। उनका अनुसार पाटन अस्पतालभित्र दुईवटा कक्षमा कोभिडका बिरामी राखिएको छ। सामान्य, गम्भीर र अति गम्भीर बिरामीलाई छुट्टाछुट्टै राखिएको छ।

भेन्टिलेटरमा रहेका बिरामी डाक्टरको निगरानीमै रहे पनि सामान्य बेडमा उपचार गराइरहेका बिरामीसँग भने कुरुवा पनि बस्ने गरेका छन्। कुरुवाले मास्क लगाएर आफन्तको स्याहार गरेका छन्। तर त्यसरी सँगै बस्दा कोरोना संक्रमण हुने निश्चित देखिन्छ। संक्रमितसँगै बसेका कुरुवाले भने आफ्ना मान्छेको स्याहार गर्न सँगै बसेको बताए। अस्पतालभित्र राम्रोसँग हेरचाह पनि छैन, त्यसैले हामी कुरेर बसेका छौं,’ एक बिरामी कुरुवाले भने, ‘खाना ल्याइदिने, औषधि ल्याउने र उनीहरूको ख्याल गर्न कुरुवा चाहिँदोरहेछ।’

भेन्टिलेटरमा रहेका बिरामी डाक्टरको निगरानीमै रहे पनि सामान्य बेडमा उपचार गराइरहेका बिरामीसँग भने कुरुवा पनि बस्ने गरेका छन्। कुरुवाले मास्क लगाएर आफन्तको स्याहार गरेका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागरराज राजभण्डारीले कोरोना संक्रमण बढेपछि त्यसको चाप अस्पतालमा परेको छ। उनले यसरी संक्रमितको दर बढ्दै गएर अस्पताल नै अस्तव्यस्त हुने र उपचारमा समेत बाधा उत्पन्न हुन सक्ने देखिएकोले सचेत रहन आग्रह गरे। उनका अनुसार अस्पतालका सबै बेड बिरामीले भरिएका छन्। नयाँ बिरामी भर्ना कसरी गर्ने भन्नेबारे अस्पताल अलमलमा छ। अस्पतालमा औषधिको समेत अभाव हुने स्थिति निम्तिन सक्ने डर देखिएकाले आम नागरिक सरकारले तोकेको नियममा बस्नु नै उत्तम हुने डा. राजभण्डारीको भनाइ छ। ‘भएका भेन्टिलेटर र आइसियु बिरामीले भरिएका छन्,’ उनले भने, ‘थप गम्भीर बिरामी देखा परे कसरी उपचार गर्ने भन्ने चिन्ता बढ्न थालेको छ।’ वीर अस्पतालका ९० वटा बेडमा कोभिडका बिरामी राखिएको छ। ठाउँ अभावका कारण कतिपयलाई पर्खाइमा समेत राखिएको अस्पताल स्रोतले जनाएको छ। त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तोष केसीले कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल क्षेत्र अस्तव्यस्त बनेको बताए।

प्रकाशित: १५ वैशाख २०७८ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App