८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

१६ गतेदेखि यी क्षेत्रमात्रै खुल्छन्

कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न उपत्यकाभित्र वैशाख १६ गते बिहानदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। सोमबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका गतिविधि र ओहोरदोहोर रोक्ने निर्णयसहित एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। यस्तै मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल भारत सीमानाका पनि बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमण नियन्त्रणबाहिर जानसक्ने संकेत देखिएपछि सोमबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच कोरोना नियन्त्रणबारे छलफल गर्न बैठक बसेको थियो। गृहसचिवसमेतको उपस्थिति रहेको बैठकमा जिल्ला प्रशासन कार्यालयहरूले तत्काललाई निषेधाज्ञा जारी गर्ने र अवस्था हेरेर निषेधाज्ञालाई थपघट गर्दै लैजाने निर्णय गरेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अवस्था गम्भीर बन्न थालेपछि निषेधाज्ञा जारी गरिएको जानकारी दिए। उनले १६ गतेदेखि उपत्यकामा अत्यावश्यक बाहेकका सबै गतिविधि र कार्यालय बन्द रहने बताए। ‘संक्रमण बढ्न थालेपछि सबैतिरबाट निषेधाज्ञा गर्ने सुझाव आयो, त्यसैले हामीले निर्णय गरेका हौं,’ उनले भने, ‘हाल जारी गरिएको निषेधाज्ञा संक्रमणको अवस्था हेरेर आगामी दिनमा खुकुलो वा कडा गर्ने भन्नेबारे निर्णय हुनेछ।’

प्रमुख जिल्ला अधिकारीहरूबीच निर्णय भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनवटै जिल्लामा लागु हुनेगरी विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिअनुसार सभासम्मेलन र मनोरञ्जन क्षेत्रहरू सञ्चालन गर्न पाइनेछैन। विवाह, व्रतबन्ध वा धार्मिक कार्यक्रमको हकमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गरेर सहभागी हुन पाउने र अनुमति लिएर मात्रै गर्न दिने निर्णय भएको छ। त्यस्तै, अत्यावश्यक बाहेकका सार्वजनिक र निजी सवारीसाधन २२ गतेसम्म सञ्चालन गर्न पाइनेछैन।

एम्बुलेन्स, खाद्यान्न, तरकारी, खानेपानी, दूध, औषधि, फलफूलजस्ता अत्यावश्यक सामग्री बोकेका सवारीसाधनमा भने रोक लगाइएको छैन। फोहरमैला, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, वित्तीय संस्था, दूरसञ्चारलगायत अत्यावश्यक सेवा प्रदायकका सवारीसाधन गुड्न पाउनेछन्। स्वास्थ्यकर्मी, प्रहरी र फ्रन्टलाइनमा खटिनेहरूको हकमा परिचयपत्र देखाएर ओहोरदोहोर गर्न पाउनेछन्। सरकारी तथा निजी अत्यवाश्यक कम्पनी र क्षेत्रमा काम गर्ने कर्मचारी र कामदारले सवारीसाधन प्रयोग गर्दा सम्बन्धित निकाय वा प्रमुखले सिफारिस गरेको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास लिएर सवारीसाधन चलाउनुपर्नेछ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानको हकमा भने टिकट र पासपोर्ट हेरेर विमानस्थलसम्म ओहोरदोहोर गर्न दिइनेछ। औषधि, स्वास्थ्य उपकरणहरूका पसलहरू चौबीसै घण्टा खुला हुनेछन्। यसबाहेक खाद्यान्न पसल निषेधाज्ञा जारी भएको दिनदेखि बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। डिपार्टमेन्ट स्टोरहरूको ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्नेलगायतका नियम जारी गरिएको छ। त्यस्तै सरकारी कर्मचारी र अन्य निजी क्षेत्रमा काम गर्ने कर्मचारीले कार्यालयको परिचयपत्र बोक्नुपर्ने छ। सञ्चारकर्मीले सूचना विभागबाट जारी भएको प्रेस पास बोक्नुपर्नेछ। उपत्यका प्रवेश गर्ने यात्रुले स्थानीय तह वा प्रशासनले तोकेअनुसार क्वारेन्टिनमा बस्नुपर्नेछ।

यसबाहेक घरभित्र वा समूहमा बस्दा संक्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिइएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जिल्ला प्रशासन कार्यालयलाई थप कडाइ गर्न निर्देशन दिइएको बताए। उनका अनुसार ७७ वटै जिल्लाका प्रजिअलाई गृहले स्वास्थ्य मापदण्ड अवस्था हेरेर निषेधाज्ञा लागु गराउन निर्देशन दिएको छ। यसबाहेक कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रहरी कार्यालयमा थप सावधानी अपनाउन थालिएको छ। 

यसका लागि प्रहरी प्रधान कार्यालयले मेस र ड्युटी तालिका परिवर्तन गरेको छ। कार्यालयभन्दा बाहिरी क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई एक हप्ता लगातार काममा खटाउने योजना बनाएर काम गर्न मातहतका प्रहरी कार्यालयलाई प्रधान कार्यालयले निर्देशन पनि दिएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले प्रहरी कार्यालयलाई सावधानी अपनाउन निर्देशन दिइएको बताए। उनका अनुसार कोरोना थप फैलिए आवश्यक सुरक्षा अपनाइनेछ। ‘फिल्डमा खटिने प्रहरीलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ, भीडभाड रोक्न पनि निर्देशन दिइसकेका छौं। अटेर गर्नेलाई प्रहरीले होल्डसमेत गर्नेछ,’ उनले भने।

प्रकाशित: १४ वैशाख २०७८ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App