६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीरगन्जमा संक्रमण दर उच्च

भारतसँग जोडिएको नेपालको प्रमुख व्यापारिक तथा प्रवेश नाका वीरगन्ज पुनः कोरोना भाइरस संक्रमणको जोखिम क्षेत्र बन्न पुगेको छ। सीमावर्ती वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकाले यहाँ कोरोना संक्रमण रोक्न सीमामा कडाइ आवश्यक रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी बताउँछन्।  

अहिले पर्सामा ६ सय २२ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रसाशन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए। उनका अनुसार यसमध्ये ५ सय ७७ जना आफ्नो बस्ने ठाउँमै ‘होम आइसोलेसन’मा रहेका छन्। त्यस्तै ३२ जना नारायणी अस्पतालमा र १३ जना नारायणी बयोधा अस्पतालमा उपचारार्थ भर्ना रहेका छन्। अस्पताल भर्ना रहेकामध्ये धेरै जनामा गम्भीर प्रकृतिको लक्षणहरू देखिएको चिकित्सकले बताएका छन्।  

वीरगन्जस्थित नारायणी अस्पतालमा अहिले करिब ३० जना संक्रमितलाई अक्सिजनको सहाराले श्वासप्रश्वास गराई उपचार गरिँदै छ। उनीहरूमध्ये केहीलाई भेन्टिलेटर आवश्यक हुनसक्ने नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा.सरोज रोशन दास बताउँछन्। संक्रमितमध्ये धेरैको यात्रा पृष्टभूमि भारतसँग जोडिएको वा भारतबाट आउनको सम्पर्कमा परेर संक्रमित भएको पाइएको डा.दासले बताए। लक्षणसहित संक्रमित भएर भर्ना भएकामा श्वासको समस्या, कठिन किसिमको निमोनिया, झाडापखाला र रगतमा प्लेटलेटको अभाव जस्तो लक्षण पछिल्ला संक्रमितमा पाइएको डा. दासले बताए।  

एक सप्तामा बिहीबार साँझसम्म आएको पछिल्लो ६ पटकको पिसिआर र एन्टिजेन परीक्षण रिपोर्ट हेर्दा ६ सय २६ मध्ये ३ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो भनेको परीक्षण गरिएकामध्ये ५४.७९ प्रतिशतले संक्रमण दर फेला परेको हो। वीरगन्जमा परीक्षण गरिएकामध्ये ८३.६७ प्रतिशत अर्थात् २ सय ८७ जना पर्साका हुन्। पर्सामा अहिले कुल सक्रिय संक्रमित रहेका ६ सय २२ जनामा ४५ जनाबाहेक अरू सबैमा लक्षण नभएका वा हलुका लक्षण भएका संक्रमित छन्।

लक्षण नभएका संक्रमितको संख्या धेरै छ। संक्रमित भएका तर परीक्षण नगराएकाहरूको धेरै संख्या अहिले समुदायमा रहिरहेको हुनसक्ने भन्दै संक्रमण दरको विश्लेषण गरेका चिकित्सकहरूले चिन्ता जनाएका छन्। वीरगन्ज हेल्थकेयर अस्पतालका सञ्चालक डा.अबुल हैसका अनुसार समुदायमा लक्षणबिनाका (एसिम्टोमेटिक) संक्रमितहरू परीक्षण नगरिएको अवस्थामा रहनु ठूलो जोखिमपूर्ण अवस्था हो।  

पर्साका प्रजिअ पीताम्बर घिमिरेले जिल्लामा कोरोना संक्रमणलाई नियन्त्रण गर्न विभिन्न सरोकरावालाबीच सहकार्य भइरहेको र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालनामा गराउन स्थानीय प्रशासन लागिपरेको बताए। बजारमा बिनामास्क घुमफिर गर्न रोक लगाउँदै जरिवानाको व्यवस्थासहित कडाइ गरिएको, यातायातका सवारीसाधनमा बिनामास्क यात्रा गर्नमा रोक लगाइएको र सीमामा लोकल ओहोरदोहोर कडाइका साथ नियन्त्रण गरिएको उनले बताए। ‘बाहिरबाट आएर गन्तव्यतिर जानेहरूलाई चेकजाँच गरेर अनि रेकर्ड राखेर जान दिइएको छ,’ प्रजिअ घिमिरेले भने, ‘त्यसका लागि सीमामै डेस्क राखिएको छ तर लोकल ओहोरदोहोर रोक्न कडाइ अपनाइएको छ।’

त्यस्तै हाल ४२ जना संक्रमितलाई राखेर उपचार गर्नेगरी प्रबन्ध रहेको नारायणी अस्पतालमा एक सय शयया कोरोना संक्रमितका लागि राख्ने दिशामा काम भइरहेको प्रजिअ घिमिरेले बताए। एउटा ब्लकमा सर्वसाधारणका लागि आम उपचार सेवा सुचारु बनाइराख्ने व्यवस्था गरिएको उनले बताए। त्यस्तै निजी अस्पतालहरूसँग पनि स्वास्थ्य उपचार सेवा बनाइराख्न सहयोग लिने काम भइरहेको र अस्पताल पनि सकारात्मक रूपमा आएको उनले दाबी गरे।

गत वर्ष चैत २९ मा पहिलो पटक ३ जना भारतीय मुस्लिम धर्मप्रचारकमा कोरोना संक्रमण देखिएको थियो। त्यसको एक महिनाभित्र सबभन्दा बढी कोरोना संक्रमण भएको सहर वीरगन्ज बन्न पुगेको थियो। केही दिन संक्रमण नियन्त्रित जस्तो देखिएपछि गत साउनमा भने संक्रमितका लागि अस्पताल र आइसोलेसन अपुग हुन पुगेको थियो।

 पछि कोरोना जाँच र संक्रमणको संख्या दुईटै घट्दै गएको थियो। चैतयता कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको हो। यसबीच पर्सामा ७ जना कोरोना संक्रमितको मृत्युसमेत भएको छ। ‘गम्भीर अवस्था हो यो, समुदायमा सबै मानिसले सावधानी अपनाउनुपर्ने र सचेत हुनुपर्ने बेला हो यो,’ नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले भने, ‘समुदायस्तरमै कोरोना फैलिसकेको जस्तो अवस्था संक्रमणको तथ्यांकले देखाएको छ।’ 

प्रकाशित: १२ वैशाख २०७८ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App