१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

धरानमा संक्रमितको शव व्यवस्थापनमा लापरबाही, ५० भन्दा बढी गए मलामी

धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राती मृत्यु भएका संक्रमितको शव अन्येष्टीमा प्रोटोकल उल्लंघन गरि ५० भन्दा बढी मलामी सहभागी भएको पाइएको छ। 

बिहीबार दिउँसो परिवार तथा आफन्तले मृतकको शव चतरामा लगेर अन्त्येष्टी गरेका थिए। अन्त्येष्टीमा परिवार, आफन्त र छरछिमेक गरि ५० भन्दा बढी मलामीहरु सहभागी भएको पाइएको छ। प्रतिष्ठानमा बुधबार राती धरान ११ का ४५ वर्षीय एक संक्रमितको मृत्यु भएको थियो। मृतकको शवलाई प्रतिष्ठानले बिहीबार बिहान परिवारको जिम्मा लगाएको थियो। उनको अत्येष्टीमा स्वास्थ्य मापदण्ड एवं प्रोटोकल पूरा गरे नगरेको बारेमा कुनै पनि निकायले अनुगमन गरेको थिएन।

वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले मृतकको परिवारलाई प्रतिष्ठानको डाक्टरले नै फोन गरेर शव लैजान सक्नु हुन्छ भनेर जिम्मा लगाएको बताए। आफूले पछि बुझ्दा ५० जना भन्दा बढी मलामी गएको जानकारी पनि अध्यक्ष लामाले दिए। ‘मलाई त जानकारी नै थिएन, पछि बुझ्दा ५०, ६० जना मलामी गएछन्,’अध्यक्ष लामाले भने,‘जान पाउने हो कि होइन, मलामी कसरी गए, कसरी अन्त्येष्टी गरे भनेर कसले अनुगमन गर्‍यो?’

अध्यक्ष लामाले अस्पताल र प्रहरीले जनस्वास्थ्यमा खेलवाड हुने गरि शव जिम्मा लगाएको भन्दै आक्रोश पनि पोखे। साथै, मलामी गएकाहरुलाई पहिचान गरेर क्वारेन्टिनमा बस्ने व्यवस्था गर्न स्वास्थ्य महशाखा प्रमुखलाई आग्रह गरेको पनि उनले बताए। ‘मलामी गएकाहरु सबैलाई क्वारेन्टिनमा राख्नुस् भनेको छुँ, शवलाई वीपीबाट डाक्टरले नै लैजान सक्नुहुन्छ भनेर पठाएको रहेछ,’उनले भने।  

प्रोटोकल उल्लंघन गरेर मलामीहरु गएकोबारे व्यापक आलोचना भएपछि बिहीबार उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहतासहितको टोली मृतकको परिवारलाई भेट्न घर पुगेका थिए। प्रतिष्ठानका डाक्टरले सुरक्षा मापदण्ड अपनाएर शव लैजान भनेपछि परिवारले लगेको उनले बताए। ‘मलामी ५०, ५५ जना जति गयौं, तर मोटरसाइकलमा दूरी कायम गरेको भने,’ मेहताले भने,‘कोशी नदी छेउमा खाल्डो खनेर, शव नछोई डोरी प्रयोग गरेर गाड्यौ भने।’ मास्क, सेनिटाइजर लगाए पनि पिपिई भने नभएको पाइएको मेहताले बताए। मलामी गएकाहरु सबैलाई कम्तीमा ३ दिन घरमा नै क्वारेन्टिनमा बस्न आग्रह गरिएको उनले बताए। ‘२५ जना मात्र मलामी जाने भन्ने थाहै थिएन भने। सबैलाई क्वारेन्टिनमा बसाएर सोमबार स्वाब लिन्छौं,’मेहताले भने।  

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.प्रमोद वरालले नयाँ प्रोटोकल आएको भनेर प्रहरीबाट नै खबर आएपछि परिवारलाई शव जिम्मा लगाएको बताए। यद्यपी, प्रोटोकल पालना गराउन सबै सचेत हुनुपर्ने उनले प्रतिक्रिया दिए। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्वास्थ्य प्रोटोकल सबै पूरा गर्न चाहदा मात्र शव जिम्मा दिइने बताए। प्रोटोकल पूरा गर्न नसक्दा नेपाली सेनाले नै अन्त्येष्टी गर्ने प्रजिअ ढकालले बताए। ‘परिवारले प्रोटोकल पूरा गर्छ भने मात्र शव जिम्मा दिने हो, नत्र सेनालाई नै दिन्छौं,’प्रजिअ ढकालले भने,‘प्रोटोकल पूरा भए नभएको पालिकाका स्वास्थ्य संयोजक, प्रहरीले हेर्नुपर्छ।’ 

शव अन्येष्टी गर्न पिपिई लगाउनुपर्ने, शव खोलेर हेर्न नपाउने, २५ जना भन्दा बढी मलामी जान हुनेलगायत सबै पालना गर्नुपर्ने उनले बताए।

प्रकाशित: ९ वैशाख २०७८ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App