coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितहरुको यात्रा इतिहास: भारत सीमामा निर्वाध आवतजावत

स्वास्थ्य सुरक्षा मापदण्ड लत्याउँदै सिरहाको गोलबजार हटियामा भीडभाड। तस्विरःमिथिलेश /नागरिक

सोमबार दिउँसो मृत्यु भएका गोलबजार नगरपालिका ६ डोहडियाका ३२ वर्षीय गरुशरण सदाको आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। मृत्युपछि उनको स्वाब संकलन गरेर जिल्ला अस्पताल सिरहाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेब यादवले बताए।

मंगलबार साढे चार बजे आएको परीक्षण रिपोर्टमा सदामा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यतिmहरुको पहिचान कार्य सुरु गरिएको स्वास्थ्य प्रमुख यादवले बताए। सबैभन्दा पहिला उनको परिवारको सदस्यहरुलाई घरमै आइसोलेट गरिएको छ।

त्यसपछि उनको परिवारको सम्पर्कमा आएकाहरुलाई घरमै क्वारेन्टिन बस्न भनिएको छ । उनको उपचारमा संलग्न गोलबजार स्थित भूमिजा अस्पतालका स्वास्थ्यकर्मीहरु, लहान अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि पहिचान गरेर आइसोलेट गर्ने कार्य सुरु गरिएको छ। सम्बन्धित नगरपालिकाको स्वास्थ्य शाखामार्फत कन्ट्याक्ट ट्रेसिङ भैरहेको यादवले बताए।

पाँच दिनदेखि ज्वरो र रुघाखोकीबाट पीडित सदा घरमै औषधि खाएर बसेका थिए। आइतबार उनलाई बान्ता भएर कमजोरी महसुस भएपछि भूमिजा अस्पतालबाट गएको चिकित्सकले घरमै औषधि र स्लाइनपानी गरेका थिए। उनी अस्पताल आउन नमानेपछि स्वास्थ्यकर्मी पठाएर घरमै उपचार गरेको भूमिजा अस्पतालले जनाएको छ । साँझबाट आफू सन्चो महसुस गरेको बताएका सदा सोमबार बिहान अचानक बेहोस भएका थिए।

उच्च ज्वरोसँग बान्ता भएपछि उनी बेहोस भएपछि सदाकी श्रीमती शान्तिले भूमिजा अस्पतालमा फोन गरेर एम्बुलेन्स पठाइदिन भनेकि थिइन। एम्बुलेन्समा घरबाट अस्पताल ल्याएर जाँच गर्दा शरिरमा अक्सिजन लेबेल निकै तल झरिसकेको थियो। थप उपचारका लागि बिराटनगर लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।

उनको मृत्यु भएपछि पनि धामी लगाएर झारफुक गरिएको थियो। धामीले जिउँदैछ भनेपछि पुनः सदालाई धनगढीमाई नगरपालिका स्थित आरके मेडिसिटि अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले सदालाई मृत घोषणा गरेको थियो। सदाको शव घर फर्काएर ल्याएपछि पनि गाउँसमाजका धेरै मानिस उनलाई हेर्न सदा निवास पुगेका थिए।  

ज्वरो र बान्तााट बेहोस भएका सिरहा गोलबजार ६ का गुरुशरण सदालाई उपचारकालागि एम्बुलेन्समा राख्ने क्रममा जम्मा भएको भीड।

वीरगन्जको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत्त ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–१४ का मृतक पुरुष दश दिनदेखि उपचाररत्त थिए। चैत २९ गते ज्वरोलगायतका स्वास्थ्य समस्या भएपछि उनी नारायणी बयोधा अस्पतालमा भर्ना भएका थिए। मुटुको दीर्घरोगी उनी भारतको नयाँ दिल्लीबाट दश दिनअघि मात्र घर फर्केका थिए। उनी घर फर्केलगत्तै बिरामी परेका थिए।  

कोरोनाको दोस्रो लहर सुरु भएयता वीरगन्जमा मात्र ६ जना संक्रमितको मृत्यु भइसकेको छ। यस अवधिमा ५५८ जना संक्रमित थपिएका छन। मंगलबारसम्म यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५६९ पुगेको छ। संक्रमणाट मृतकको संख्या २१६ पुगेको छ। उनीहरुमध्ये प्रायः सबैको यात्रा इतिहास भारत रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।  

बैशाख ५ गते जिल्ला अस्पताल सिरहाको आकस्मिक कक्षमा सिरहा नगरपालिका –४ रमौलकी २८ वर्षीया महिला उपचारका पुगिन। ज्वारोले सिकिस्त उनलाई जाँचपछि स्वास्थ्यकर्मीले अस्पतालमा भर्ना हुन सल्ला दियो । उनलाई कोरोनाको शंकित विरामीको रुपमा अलग्गै कक्षमा भर्ना गरिदियो। र, आरटी पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशाला पठायो। सोमबार दिउँसो उनको परीक्षण रिपोर्ट पोेजेटिभ आयो। उनी एक साताअघि भारतबाट  घर फर्केकी थिइन। घर आउने बितिकै उनलाई ज्वरो आउन थाल्यो। सिरहाको निजी क्लिनिकमा जाँच गराएर औषधि सेवन गरेपनि ज्वरो झनझन बढ्दै गएपछि उनी थप उपचारका लागि जिल्ला अस्पताल आएको अस्पताल प्रमुख डा.नागेन्द्र यादवले बताए।

कोरोनाको पहिलो लहर सुरु भएपछि सरकारले नेपालको सीमा नाका सिल गरेर आउजाउमा रोक लगाएको थियो। पछि प्रदेश २ का वीरगन्ज, सिरहालगायतका नाकाहरुबाट अतिआवश्यक आउजाउ र मालबस्तु ढुवानी खुकुलो पारिएको थियो । त्यसपछि वीरगन्जबाहेकका नाकाबाट आउजाउ पुनः बन्द गरियो। पछिल्लो समय वीरगन्ज र सिरहाको माड्र नाकाबाट आउजाउ खुकुलो पारिएको छ।  

प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ।  चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ९ वटा नाका छन्। जसमध्ये ३९ वटा नाकामा सुरक्षा पोष्ट छ। सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट (परदेश) घर फर्किनेहरूले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन्।  

चोरबाटो यहाँका स्थानीयवासीमा मात्र नभई सरकारको पनि टाउँको दुखाई बनेको छ। आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले सीमाबाट लुकिछिपि हुने प्रवेश कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिरहेको बताए। उनी भन्छन्,‘ खुल्ला सीमानाका कारण हुने आउजाउले जोखिम बढाउँदै छ। हामी सीमा सिल गर्न संघीय सरकारलाई गुहारेका छौं, उनले भने।’

सिरहाको माड्र नाकाबाट दैनिक ५० जना भारतको विभिन्न स्थानबाट फर्किरहेका छन। माडर स्थित हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी सुनीतादेवी यादवका अनुसार भारतको मुम्बई, दिल्ली, हरियाना, पन्जावलगायतका स्थानबाट अहिलेसम्म करिब तीन हजार जना फर्किसकेका छन। उनीहरु सबै घर फर्केका छन्। हामीसँग होल्डिङ स्टेसन, क्वारेन्टिन, आइसोलेसन व्यवस्था छैन । थर्मल गन छ उनले भनिन्,‘ज्वरो जाँचेर घर पठाइरहेका छौं।’  

सिरहाको ठाढी नाकामा संचालित मदिरा पसलमा दैनिक ५० जनाजति पारिका मानिस जम्मा हुन्छन्। उनीहरु अबेर रातीसम्म मदिरा सेवन गरेर पारि फर्किन्छन्। त्यस्तै बरियारपट्टी नाकाबाट पनि मानिसहरु बेरोक आउजाउ गर्छन। जसको न कुनै अभिलेख छ न रोकटोक। पारिबाट घर पर्किनेहरु सीधै घर पुगिरहेका छन । कोरोना संक्रमण बढी भएको दिल्ली, पंजाब, अहमदाबाट लगायतका स्थानमा मजदुरी गरिरहेका स्थानीय घर फर्किने क्रम सुरु भएको छ। उनीहरु सीधैं गाउँ प्रवेश गर्ने क्रम बढ्दै गएपछि गाउँलेहरुमा त्रास बढेको छ।

सीमाबाट हुने प्रवेश नरोकिँदा जोखिम बढ्दो छ। प्रदेश २ मा भेटिएका कोरोना संक्रमित र संक्रमणाट मृत्युवरण गरेका प्रायः सबैको यात्रा विवरण भारत छ। हामीलाई वारीका भन्दा पारिकाबाट डर छ सिरहाको झाझपट्टीका अजय यादव भन्छन्, ‘राती वारिपारीका मदिरा तस्करले सीमावर्ती गाउँमा जोखिम बढाउँदै छ।’ मजदुरीबाट फर्किनेहरुलाई त पहिचान गरेर हामी अलग्याउँन सक्छौ तर तस्करहरुलाई कसरी अलग्याउनु? राती सीमानाकामा मदिरालगायतका तस्करहरुको रजाइँ छ उनी भन्छन्, ‘दुबैतर्फका तस्करको मिसमास, सघन सम्पर्कले जोखिम बढाएको छ।’  

सिरहा मात्र नभई प्रदेश २ का सीमा क्षेत्रका बासिन्दा भारतीय र नेपाली दुबैतिरका तस्करको सघन जमघटका कारण कोरोना संक्रमणको उच्च जोखिममा छन। वारि सीमामा होल्डिङ स्टेसन संचालन नहुँदासम्म सीमा सिल गर्नु उत्तम उपाय हुने सीमावर्ती ठाढीका बासिन्दा बताउँछन । भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई सीमामा आवतजावतमा पनि नियन्त्रण गर्नु उपयुतर्फ हुने यहाँका बासिन्दाको भनाई छ। सीमामा बस्ने हामी नेपालीमाथि लठि बजार्छन उता पारिबाट आउजाउ गर्नेका अगाडि आँखा चिम्लिने काम बन्द हुनुपर्ने उनीहरु बताउँछन्।  

बेपरबाह भीडभाड

कोरोना संक्रमणको बढ्दो जोखिमका बीच पनि सिरहा लगायत प्रदेश २ का जिल्लामा भीडभाड पातलिएको छैन। सरकारले २५ जनाभन्दा बढी एक स्थानमा जम्मा नहुन निर्देशन गरेको छ। तर, निर्देशको अटेरी गर्दै हटिया, बजार, कार्यक्रम मा भीडभाड रोकिएको छैन । स्थानीय प्रशासनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक गरी भीडभाड नगर्न सूचना जारी गरेको थियो।  

ठूलो जमघट नगर्न, भोजभतेर तथा सभा समारोह नगर्न, गर्नै परे सामाजिक दूरी कायम गरी थोरै सहभागी हुन गरिएको प्रसाशनको आग्रह पालना भएको पाइदैन। यसैगरी घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न पनि सूचनामा आग्रह गरिएको थियो। स्वास्थ्य सुरक्षा पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। तर प्रशासनको सूचना उल्लंघन गर्दै जमघट र भीडभाड भइ नै रहेको छ।

यहाँ स्वास्थ्य मापदण्डलाई पूर्ण रूपले बेवास्ता गरिँदै आइएको छ। भीडभाड भएको स्थानमा न मास्कको प्रयोग भएको छ न त सामाजिक दूरी नै कायम भएको पाइन्छ । सार्वजनिक यातायात, बजार, विद्यालयमा पनि भीडभाड त्यत्तिकै छ।  

भारतको विभिन्न स्थानसहित यस प्रदेश र मुलुककै संक्रमण बढिरहेको स्थानबाट आउनेहरू निर्बाध रूपमा हिँडडुल र सघन सम्पर्कमा जुटिरहेका छन । स्थानीय प्रशासन पनि कोरोना नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सूचनामा मात्र सीमित भएका छन । यसलाई कडाइका साथ लागू नगर्दा समस्या देखिएको बुद्धिजीबी अजय यादवको भनाई छ । ‘कोरोनाको दोस्रो लहर चलिरहेका बेला यसलाई न्यूनीकरणका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बेला जम्मा भएको भीडलाई प्रशासन रमिता हेरेर बसेको छ,’ उनले भने।

नाकामा प्रशासनले कडाइ गरेको बताए पनि भारतीय बजारमा घरायसी प्रयोजनका लागि सामान किन्न जानेको संख्या बढी छ । भारतमा रोजगारीमा गएकाहरू पनि धमाधम घर फिरिरहेका छन। नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा पनि ज्वरो मापन गर्ने र तथ्यांक राख्ने काम मात्र गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले भारतमा बढ्दै गएको कोरोनाको कहरबाट बच्न नाकाहरू पूर्ण रूपमा बन्द हुनुपर्नेमा जोड दिए । ‘सीमामा निर्बाध रूपमा आउजाउले भयावह स्थिति ल्याउन सक्छ,’ उनले भने, ‘भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्नु नै हाम्रा लागि उत्तम विकल्प हो।’

प्रकाशित: ८ वैशाख २०७८ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App