१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुरको मातृ–शिशुको स्वास्थ्यस्तर खुम्चदैं

बजेट र दक्ष जनशक्ति अभाव

सदरमुकाम गाईघाटस्थित उदयपुर अस्पताल । तस्बिरः महेश्वर

कोभिड कहरलगायत बिभिन्न कारणले उदयपुरमा आमा–बच्चाको स्वास्थ्य अवस्था सुधारको साटो बिग्रंदै गएको छ । अघिल्लो वर्षको तुलनामा ०७६/०७७ मा आमा–बच्चाको स्वास्थ्य अवस्था खुम्चिएको यहाँ सार्वजनिक भएको एक तथ्यांकले देखाएको छ ।  

स्वास्थ्य क्षेत्रमा क्रियासिल ‘वानहर्ट वर्ल्डवाईड’नेपाल नामक संस्थाको उदयपुर इकाईले सार्वजनिक गरेको तथ्यांकमा उदयपुरका महिला तथा नवजात शिशुको स्वास्थ्यस्थिति गिर्दो अवस्थामा पुगेको देखाएको छ । सहरदेखि गाउँघरसम्म प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पुर्याउने सरकारी प्रतिबद्धता अनुसार काम नभएकाले यस्तो स्थिति सिर्जना भएको हुनसक्ने अनुमान संस्थाले गरेको छ ।  

वानहर्टकी उदयपुर इकाई संयोजक कल्पना श्रेष्ठका अनुसार आर्थिकवर्ष ०७६/७७ मा जिल्लाको मातृ–शिसु स्वास्थ्य अवस्था अघिल्लो वर्षको दाँजोमा गिरेको छ । आमा–बच्चाको स्वास्थ्य सुधारका लागि भनेर सरकारले वर्षेनी बजेट र स्वास्थ्यकर्मी खटाउँदै आए पनि मृत्युदर घटाउन नसक्नु दुःखद भएको संस्थाको भनाई छ । स्वस्थ्य बच्चा जन्माउनका लागि सुरुमा आमा नै स्वस्थ्य हुनुपर्ने र त्यसका लागि महिलाले गर्भवती भएदेखि सुत्केरी नभएसम्म नियमित स्वास्थ्य संस्थामा गएर गर्भजाँच गर्नुका साथै पोषिलो खानेकुरा खानुपर्नेमा त्यसो नभएर मृत्युदर नघटेको उनी बताउँछन् ।

गर्भवती महिलाले अपनाउनुपर्ने स्वास्थ्य प्रावधान पालना नगर्दा यस्तो भएको श्रेष्ठको बुझाई छ । बच्चा र आमा दुवैलाई स्वस्थ्य राख्न गर्भावस्थादेखि सुत्केरी भएसम्म गर्भवति महिलाले बिभिन्न सचेतना अपनाउनुपर्नेमा त्यस्तो नहुँदा आफ्नो र शिशुको स्वास्थ्यमा पनि सुधार हानी हुने उनी बताउँछिन् । वानहर्टले नेपाल सरकारसँगको साझेदारीमा देशका बिभिन्न जिल्लामा मातृ–शिशुलक्षित कार्यक्रम गर्दै आएको छ ।

श्रेष्ठका अनुसार उदयपुरमा गर्भ रहेको पहिलो महिना गर्भजाँच गर्ने महिलाले दोस्रो जाँच गर्नेबेलासम्म आधा संख्या घटेको अभिलेख छ । ०७६/७७ मा ८ हजार महिलाले पहिलो गर्भजाँच गराएको बताउने उनका अनुसार दोस्रोपटक गर्भजाँच गराउँदा ६ हजार २ सय ९ जनामा खुम्चिएको उनको भनाई छ । पहिलो पटक गर्भजाँच गराउनेमध्ये १ हजार ७ सय ९१ जनाले दोस्रो गर्भजाँच नगराएको तथ्यांकले देखाउँछ । त्यस्तै ३ हजार २ सय ३० महिलाले अस्पताल र स्वास्थ्य केन्द्र गएर सुत्केरी गराएका छन् भने १ हजार ८ सय ६५ ले घरमै बच्चा जन्माएको अभिलेख उनीसँग छ ।

गतवर्ष जिल्ला अस्पतालमा १ हजार ३ सय ६५ महिला सुत्केरी हुँदा २ सय ३६ जना अर्थात १३.१ प्रतिशतको शल्यक्रिया (अप्रेसन)विधिबाट बच्चा निकालिएको छ । बाँकी सुत्केरी सामान्य (नर्मल डेलिभरी) भएको उदयपुर अस्पताल, प्रसुति शाखा प्रमुख छवित्रा राईले बताईन् । उनका अनुसार अशिक्षा, गरिवी र स्वास्थ्य चेतना अभावलगायत बिभिन्न कारण कतिपय गर्भवती अहिले पनि गर्भजाँच नगराउने र सुत्केरी हुन अस्पताल नजाने अवस्थामै छन् । घरमै बच्चा पाउने गरेका कारण उनीहरुको स्वास्थ्य अवस्था बिग्रने र मृत्यसम्मको अप्रिय घट्ना हुने गरेको उनी बताउँछिन् । यही कारण अकालमा मातृ–शिशुको ज्यान जाने गरेको संस्थाको ठहर छ ।  

वानहर्टले हालसालै प्रकाशित गरेको प्रतिबेदन अनुसार नेपालमा सन् १९९६ देखि २०१६ सम्म वर्षेनी सरदर ५ सय ३९ आमा बच्चाको स्वास्थ्य असावधानीले मृत्यु हुने गरेको छ । त्यसलाई घटाएर २००६ सम्ममा २ सय ३९ जनामा झार्ने योजनासहित वानहर्टले नेपाल सरकारसँगको साझेदारीमा गतवर्षदेखि स्वास्थ्यसँग सम्बन्धित बिभिन्न कार्यक्रम उदयपुरमा गर्दै आएको छ । पछिल्लो वर्ष मातृशिशुको मृत्युदर २ सय ८१ मा झार्न सफल भएकोमा २०२० मा १ सय २५ हुँदै २०२२ मा १ सय १६ मा झार्ने लक्ष्य लिएको वानहर्टकी कर्मचारी भगवति श्रेष्ठले बताईन् । उनका अनुसार सन् २०२५ मा ९९ र २०३० सम्ममा आमा बच्चाको मृत्युदर ७० जनामा झार्ने लक्ष्यका साथ अहिले बिभिन्न स्वास्थ्य केन्द्रित गतिबिधि भईरहेको छ ।

श्रेष्ठका अनुसार २००६ देखि २०३० सम्म २५ वर्षे लक्ष्य निर्धारण गरेर सञ्चालित अभियानअन्तर्गत वानहर्ट उदयपुरमा सन् २०२० देखि क्रियासिल छ । तर, सुरुवाती चरणमै गतवर्ष कोभिड महामारी आईलागेपछि लक्ष्य अनुसार गतिबिधि गर्न नसकिएको उनले बताईन् । कोभिडले गर्दा संस्थाले शतप्रतिशत महिलालाई गर्भजाँच गराउने योजना पूरा गर्न नसक्दा गतवर्ष राष्ट्रियस्तरमा ८४ प्रतिशत र उदयपुरमा ७६ प्रतिशतले गर्भजाँच गराएको उनले बताईन् ।  

मातृ–शिशु मृत्युदर घट्न नसक्नुका मुख्य ५ कारण रहेको स्वास्थ्यक्षेत्रका जानकारहरु बताउँछन् । उच्च तथा न्यून रक्तचाप, अत्याधिक रक्तश्राव, गर्भपतन, संक्रमण र सर्ने तथा नसर्ने रोगजस्ता समस्या आमा–बच्चाको मृत्युदर बढाउने मुख्य कारण हुन् । सुत्केरी महिलाको मृत्यु अस्पतालमा ७३ प्रतिशत र समुदायमा २३ प्रतिशतले हुने गरेको छ । अस्पतालमा सुत्केरी गराउन आउने महिलालाई आफन्तले उपचार भईनसक्दै घर लाने तथा दक्ष स्वास्थ्यकर्मी र आवश्यक औषधि नहुँदा उनीहरुको मृत्यु हुने गरेको पाइएको छ ।  

वानहर्टले उदयपुरका ८ वटै स्थानीयतह, स्वास्थ्य शाखा प्रमुखलगायत सरोकारवाला कर्मचारीलाई परिचालन गरेर मृत्युदर घटाउनुपर्ने सुझाएको छ । मातृशिसुको स्वास्थ्यस्थिति सबल बनाउन स्थानीयतह, प्रदेश र संघ तीनैतहका सरकार लाग्नुपर्ने, पर्याप्त बजेट व्यवस्था गर्न पनि वानहर्टको आग्रह छ । अधिकतर मृत्युको कारण दक्ष जनशक्ति तथा यन्त्र उपकरणको अभाव र समयमा उपचार नपाउनु मुख्य कारण देखिएकाले बजेटको व्यवस्था प्रमुख भएको संस्थाले सुझाएको छ ।

उदयपुर जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले दक्ष जनशक्ति र आवश्यक भौतिक यन्त्रउपकरणको व्यवस्थासँगै पर्याप्त जनचेतना जगाउन सके आमा बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताए । उदयपुर अस्पतालमा प्रसुति सेवा सुचारु रहेको तर, दक्ष जनशक्तिको अभावमा एकजना तालिमप्राप्त डा.बाट काम चलाउ सेवा गर्दै आएको उनले बताए । सेवा प्रभावकारी बनाउन गाईनोलोजिस्ट डा. को दरबन्दी अस्पतालमा भए पनि खाली रहेकाले तालिमप्राप्त डा. बाट सेवा दिनु परेको मेसु डा. मण्डलको भनाई छ ।  

जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीले जनस्वास्थ्यजस्तो संवेदनसिल विषयमा संघदेखि प्रदेश र स्थानीय सरकार तीनैतहले महत्व दिनुपर्नेमा जोड दिए । २१ औं शताव्दीमा पनि सुरक्षितरुपमा सुत्केरी हुन नपाउनु, आमा बच्चाले उपचार नपाएर ज्यान गुमाउनुजस्तो बिडम्वना केही नहुने भन्दै सुबेदीले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिक्ता दिएर बजेट र जनशक्ति परिचालन गर्नुपर्ने माग गरे ।  

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले सरकारले अस्पतालमा आवश्यक दक्ष जनशक्तिको प्रभावकारी परिचालन गर्न नसक्दा अझै आमा बच्चाले अकालमा ज्यान फाल्नुपर्ने अवस्था दुःखद भएको बताए । दक्ष जनशक्ति उत्पादन र स्वदेशमै परिचालन गर्दै पर्याप्त बजेट व्यवस्था गर्न सके आमा बच्चाको स्वास्थ्य सवल हुने विश्वास उनको छ । गर्भवती महिला र नवजात शिसु धेरै संवेदनसिल र महत्वपूर्ण विषय भएकाले तीनैतहका जनप्रतिनिधि यसप्रति गम्भीर हुन उनको आग्रह छ ।

प्रकाशित: ३० चैत्र २०७७ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App