७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

विश्व मिर्गौला दिवशः आफ्नै गलत बानीले बिग्रन्छ मिर्गौला

शरीरको वजन बढिरहेको तथा उच्चरक्तचाप र मधुेमह जस्ता रोग छन् र नियन्त्रणमा छैनन् भने त्यसले मिर्गौला बिगार्नसक्ने खतरा देखिएको छ । प्रायः मानिसको आफ्नै गल्तीको कारण मिर्गौला बिग्रने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा उनीहरूले यस्तो बताएका हुन् ।  

चिकित्सकका अनुसार आरमदायी जीवनशैली र अस्वस्थ खानाका कारण तौल बढ्नु, शरीरमा कल्स्ट्रोल बढ्नु, उच्च रक्तचाप र मधुमेहका रोगी बर्सेनि बढिरहेका छन् । मधुमेह तथा उच्च रक्तचापको कारणले पछि गएर मिर्गौला फेल हुन्छ । त्यसैगरी नेपालीहरूले भान्छामा नुन तथा चिल्लो पदार्थको बढी प्रयोग गर्ने कारणले पनि पछिल्लो समय मिर्गौला फेल हुँदै गएको छ । पर्याप्त पानी नपिउनाले पनि मिर्गौला फेल हुन्छ ।

पछिल्लो समय कुनै समस्या भयोे कि नजिकको औषधि पसलबाट आफूखुसी पेनकिलर (नदुख्ने औषधि) किनेर खाने पवृत्तिले पनि मिर्गौला बिग्रिँंदै गएको पाएको छ । ‘मुख्य कुरा नदुख्ने औषधि जथाभावी प्रयोग भएको देखिन्छ,’ शिक्षण अस्पताल महारागन्जका मिर्गौला रोग विशेषज्ञ डा. महेश सिग्देलले भने । सिग्देलका अनुसार अहिलेको समयमा मानिसको अस्वस्थ जीवनशैलीले मिर्गौला बिग्रिने दर बढ्दै गएको हो । विशेष गरी आरामदायी जीवनशैलीले बढाएका उच्चरक्तचाप, मोटोपना, मधुमेह, युरिक एसिड जस्ता रोगले मिर्गौला तीब्र रुपमा बिग्रिँदै गएको छ । उच्च क्यालोरी भएका खाना खाने र व्यायम नगर्ने, दैनिक खानामा नुन र तेलको अत्यधिक प्रयोग गर्ने गर्ला उच्च रक्तचाप, मधुमेह जस्ता रोग बढेको र यी रोगहरूले कालान्तरमा मिर्गौलालाई असर गर्ने चिकित्सकाको भनाइ छ ।  

नेपालीहरूको औसत आयु बढेर ७० पुगेको छ । यो अवधिमा उच्चरक्तचाप तथा मधुमेह जस्ता रोगहरू बढ्दै जाँदा मिर्गौला पनि बिगारेको देखिन्छ । ‘पहिला उच्च रक्तचाप र मधुमेह भएमा अकालमै मृत्यु हुन्थ्यो, उच्च रक्तचाप र मधुमेहका बिरामी बढी उमेरसम्म बाँच्छन् र यो समूहमा मिर्गौला बिग्रिने दर पनि बढी छ,’ उनले भने । पछिल्लो समयमा तरकारीमा अत्यधिक मात्रामा बिषादी प्रयोग हुँदा पनि मिर्गौला बिगार्नमा सहयोग भइरहेको छ । डा. सिग्देलका अनुसार नेपालमा गलत जीवनशैलीकै कारण प्रति वर्ष औसत ३ हजार जनाको मिर्गौला फेल भइरहेको छ । ती सबै मिर्गौला प्रत्यारोपण गनुपर्ने अवस्थाका छन् ।  

चिकित्सकका अनुसार उचाइ अनुसारको तौल कायम राखेमा मधुमेह तथा उच्चरक्तचाप जस्ता रोगहरू लाग्दैनन् र मिर्गौला फेल हुन पाउँदैन । यसको लागि हरेक व्यक्तिले जस्तो कि ५ फिट उचाइ भएको तौल ५० केजी हुनुपर्छ । साढे ५ फिट उचाइ भएमा ५५ केजीभन्दा बढी हुनु हुँदैन । स्वस्थ जीवनको लागि हरेक हप्तामा १ सय ५० मिनेट हिँडडुल गरेकै हुनु पर्ने, दैनिक भोजनमा पर्याप्त मात्रामा सागपात, फलफूल र पानीको पर्याप्त प्रयोग गर्ने, शरीरलाई आवश्यकताभन्दा बढी क्यालोरीयुक्त खाना नखाने जस्ता जीवनशैली अपनाएमा मिर्गौला जोगाउन सकिन्छ ।  

मिर्गौला उपचारमा छुट्टै विशेषज्ञ सेवा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला उपचारको लागि छुट्टै विशेषज्ञ अस्पताल निर्माण गर्ने बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा ओलीले यस्तो बताएका हुन् । दिवसको अवसरमा प्रभातफेरी कार्यक्रममा सरिक हुँदै ओलीले यस्तो जानकारी दिएका हुन् ।  

विशेषज्ञ सेवाका लागि प्रधानमन्त्रीकी निजी चिकित्सक तथा चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन डा. दिव्या सिंह शाहको टोलीले प्रक्रिया अघि बढाइरहेको ओलीले बताए । मिर्गौलाको विशेषज्ञ सेवाअन्तर्गत रोगको पहिचान, प्रयोगाला र विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु गर्ने उनले बताए । प्रधानमन्त्रीले भने, ‘कुनै पनि मिर्गौला रोगको उपचार सहज रुपमा गर्न सकिनेगरी तयारी भइरहेको छ ।’ नेपालमा विशेषज्ञ सेवाको पर्याप्त व्यवस्था नहुँदा आफू पहिलो मिर्गौला प्रत्यारोपणका लागि बाध्यताले विदेश जानुपरेको कुरा पनि उनले स्मरण गरे ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App