भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले नेपालले कोरोनाविरुद्ध खरिद गरेको खोपमध्ये दोस्रो खेप उपलब्ध गराउन आनाकानी गरेको छ। सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद गरेको थियो। त्यसमध्ये १० लाख खोप समयमा दिएको सेरमले बाँकी दिन आनाकानी गरेको हो। भारत सरकारको सहयोगकै कारण नेपालमा कोरोना खोप लगाउने वातावरण बनेको थियो।
सेरमले मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ। सेरमले नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोप ढुवानीलाई पछि सार्न चाहेको छ। ‘कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्कता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न अथवा ढुवानी पछि सार्न चाहेको’ पत्रमा उल्लेख छ। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले योजनाअनुसार खोप आपूर्ति नभए खोप लगाउन अभियान नै रोक्नुपर्ने स्थिति आउने बताए।
‘सेरमले दिने भनेको थप १० लाख डोज खोप आएन भने खोप अभियानलाई निरन्तरता दिन कठिन हुन्छ र दोस्रो डोज उपलब्ध गराउन पनि ढिला हुन सक्छ,’ मन्त्रालयका ती अधिकारीले भने। सरकारले बुधबारसम्म सेरमबाट उत्पादित १२ लाख ६६ हजार खोप प्रयोग गरिसकेको छ। पहिलो डोज खोप लगाएकालाई ८ देखि १२ सातामा दोस्रो डोज उपलबध गराउने सरकारी तयारी छ। सेरमबाट उत्पादित खोप लगाएका मानिसले अन्य कम्पनीको खोप लगाउन मिल्दैन।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सेरमले खोप उपलब्ध गराउन कठिनाइ रहेको भने पनि नेपाललाई दिने भनिएको खोप केही दिनभित्र आउने बताए। उनले सेरमको पत्रमा ‘सम्झौता रद्द तथा ढुवानी पछि सार्ने’ भन्ने कुरा उल्लेख नभएको दाबी गरे। ‘इमेलहरूमा भनिएको हुनसक्छ, चिठीमा त्यस्तो छैन,’ उनले बिहीबार नागरिकसँग भने।
सेरमले नेपाललाई बेच्न तयार भएको खोपमध्ये पहिलो खेप दिएर दोस्रो तत्काल नदिन किन नचाहेको हो प्रस्ट भएको छैन। सरकारी अधिकारीहरू यसमा नेपालको पछिल्लो राजनीतिक विकासक्रम, चिनियाँ खोप नेपाल ल्याउने सरकारी तयारी र कमिसनको चक्करमध्ये एउटा विषय जोडिएको मान्छन्। नेपालले चिनियाँ खोपलाई प्रयोग अनुमति दिएकाले पनि भारतीय पक्ष खुसी नभएको बुझाइ उनीहरूको छ।
कोराना भाइरसको उपचारका लागि निश्चित औषधि नभएका कारण यसको रोकथाम गर्न निर्माण भएको खोप चीन, भारतलगायत अन्य शक्ति राष्ट्रका लागि आआफ्नो सामरिक शक्ति विस्तारको माध्यम बनेको छ। स्वास्थ्य मन्त्रालयका ती अधिकारीले खोप खरिदमा भारतीय कम्पनी सेरमले कमिसन एजेन्ट घुसाउन खोजेको जानकारी दिँदै नेपालले नमानेका कारण खोप उपलब्ध गराउन आनाकानी गरेको दाबी गरे। मन्त्रालयका अन्य अधिकारीले भने एजेन्ट घुसाउन खोजेको विषय आफूहरूलाई थाहा नभएको बताए। पछिल्ला वर्षमा सरकार–सरकारबीच हुने खरिदमा समेत बीचमा एजेन्ट घुसाउने प्रचलन बढेको छ। यस्तोमा निजी क्षेत्रको कम्पनीसँगको खरिद सम्झौतामा एजेन्ट घुसाइएको छैन भनेर यकिन भन्न सकिने अवस्था छैन।
नेपालले अक्सफोर्ड विश्वविद्यालय एवं औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरेर सेरम इन्स्टिच्युटद्वारा उत्पादित खोप र चीनको सिनोफर्म कम्पनीले बनाएको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएको छ।
भारतले सेरमद्वारा उत्पादित १० लाख डोज खोप अनुदानमा माघ पहिलो साता उपलब्ध गराएपछि नेपालले खोप अभियान सुरु गरेको थियो। नेपाल सरकारले थप २० लाख डोज खोेप सोही कम्पनीसँग खरिद गर्ने सम्झौता गरेपछि पहिलो लटमा २ साताअघि १० लाख खोप प्राप्त भएको थियो। खरिद गरिएको दोस्रो लट बुधबारसम्म ढुवानी भइसक्नुपर्ने थियो।
विभागका महानिर्देशक सिंहले सेरमको खोप उत्पादन कम्पनीमा समस्या आएकाले केही ढिला भएको र कम्पनीले मार्च १५ सम्म खोप उपलब्ध गराउने दाबी गरे।
विश्व स्वास्थ्य संगठनको अगुवाइमा स्थापना भएको कोभ्याक्स सुविधाको खोप नेपाल आउन ढिला हुने देखिएकाले सेरमले प्रतिबद्धता गरेको खोप नेपालको खोप अभियानको निरन्तरतासँग जोडिएको छ। सेरमको चिठीले नेपालभन्दा अन्य देश प्राथमिकतामा रहेको संकेत गरेको छ। नेपालले कुल जनसंख्याको झन्डै ५ प्रतिशतलाई पहिलो डोज खोप उपलब्ध गराइसकेकाले खोपको समतामूलक वितरणका लागि अन्य देश प्राथमिकतामा रहेको विश्व स्वास्थ्य संगठनको तर्क छ। कोभ्याक्सअन्तर्गत पहिलो चरणमा नेपालले २२ लाख ५६ हजार खोप प्राप्त गर्ने भनिएकोमा उक्त सुविधाअन्तर्गत गत साता ३ लाख ४८ हजार डोज खोप भित्रिएको छ। यो सुविधाअन्तर्गत नेपालको कुल जनसंख्याको २० प्रतिशतलाई खोप दिने भनिएको छ। मे महिनाभित्र ३ प्रतिशत जनसंख्या र सन् २०२२ को अन्त्यसम्म बाँकी १७ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने कोभ्याक्सको योजना छ।
सरकारी अधिकारी कोभ्याक्सले नेपाललाई प्राथमिकता दिनुपर्ने बताउँछन्। ‘नेपालले अन्य स्रोतबाट जोहो गरेको भनेर कोभ्याक्सले खोप उपलब्ध गराउन ढिला गर्न खोजेको देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका अर्का अधिकारीले भने, ‘कुल जनसंख्याको २० प्रतिशतको हिसाबले १ करोड २० लाख डोज खोप कोभ्याक्समार्फत प्राप्त हुने भएकाले यसमा ढिला हुनु हुँदैन। नेपाललाई भारत र कोभ्याक्स दुवैले प्राथमिकतामा राखेमात्र खोप अभिायान सहज हुन्छ।’
प्रकाशित: २८ फाल्गुन २०७७ ००:३८ शुक्रबार