२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा कोरोनाविरुद्ध खोप लगाउन सुरु

खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिरः चुमन / नागरिक

प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाउन सुरु भएको छ ।  विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार आयोजित कार्यक्रममा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देललाई खोप लगाएर सुरु भएको हो । प्रदेशको ८ जिल्लाका १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।  

बुधबार कार्यक्रमको पहिलो दिन झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५ सय ६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । निर्देशक बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्य जिल्लामा १–१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिए । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिई सकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमा सुरु गरिउको बस्नेतले बताए । बिहीबार ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम सुुरु हुने बस्नेतले जानकारी दिए ।  

‘भ्याक्सिन सुरक्षित रहेकाले कसैले पनि कस्तो छ वा कस्तो हुन्छ भनेर डराउनु पर्दैन,’ खोप लगाई सकेपछि डाक्टर सिग्देले भने, ‘कोभिड सिल्ड ७० प्रतिशत प्रभावकारी रहेको र पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाएपछि ५ महिनासम्म सुरक्षित रहन सकिन्छ ।’  

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मीसहित ३५ हजार ५ सय ७६ लाई खोप लगाइँदै छ ।

प्रकाशित: १४ माघ २०७७ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App