१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बेलकाको स्वास्थ्य शिविरमा ५ सय स्थानीय लाभान्वित

शिविरमा सहभागी स्वास्थ्य टोली । तस्बिरः महेश्वर

बेलका नगरपालिकाका २ वडामा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सय स्थानीय लाभान्वित भएका छन्। नगर स्वास्थ्य शाखा, ओरेक नेपाल र वडा कार्यालयको साझेदारीमा वडा नं. ६ को बबला र ७ को मैनामैनीमा सञ्चालित शिविरमा ४ सय ७६ जना लाभान्वित भएका हुन्।

तिहारको अवसरमा कात्तिक २५ देखि २८ गतेसम्म शिविर सञ्चालन गरिएको हो। २५ गते ७ नं. वडा मैनामैनीको मुलगाउँ र २६ गते सोही वडाको बिलिम्तास्थित शारदा आधारभुत विद्यालयमा सञ्चालित शिविरबाट २ सय ६६ जना लाभान्वित भएको वडाध्यक्ष सुरेन्द्र राईले बताए। त्यस्तै २७ र २८ गते वडा नं. ६ को बबला र घारेमाझी बस्तीमा आयोजित शिविरमा २ सय १० जनाले स्वास्थ्य सेवा पाएको ६ नं. वडाध्यक्ष बसन्त मगरले बताए।  

शिविरमा बेलका अस्पतालका जनरल फिजिसियन डा. विशाल राई तथा विराटनगरस्थित नोबेल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. रकिना भान्साकार्यको नेतृत्वको संयुक्त स्वास्थ्यकर्मी टोलीले विरामीको जाँच तथा उपचार गरेको थियो। शिविरमा जानुका दंगाल कार्कीसहित नगरपालिकाका ४ जना महिला स्वास्थ्य मनोपरामर्सदाता परिचालन गरी महिला प्रजनन स्वास्थ्य सम्बन्धी उपचार गराइएको थियो।  

खासगरी खुलेर भन्न नसक्ने महिलासम्बन्धी रोगहरु बच्चादानी (पाठेघर), महिनावारी गडबडीलगायत यौन समस्याबारे उपचार गराउन आवश्यक परामर्श चाहिने भएकाले परामर्शदाता परिचालन गरिएको हो। शिविरमा महिला प्रजननलगायत यौन समस्याबारे थुपै्र सेवाग्राही आएको र आवश्यक परामर्शपछि उपचार गर्न राजी भएको दंगालले बताईन्। बिभिन्न ९ जना महिलाको स्क्रिनिङ उपचारसमेत शिविरमा गरिएको उनले बताईन्। सेवाग्राहीलाई आवश्यक स्वास्थ्य उपकरणहरु निःशुल्क उपलब्धसमेत गराइएको थियो।

शिविरमा सेवाग्राहीलाई यौन प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै सरकारबाट निःशुल्क प्राप्त हुने सबैखाले औषधिसमेत वितरण गरिएको डा. विशाल राईले बताए। उनका अनुसार यौन स्वास्थ्य समस्याबारे खुलेर भन्न नसक्ने महिलाका लागि आवश्यक सहजीकरण गर्न नगरपालिकाले खटाएको मनोविमर्सकर्ताले उनीहरुलाई सहज बनाएको डा. राईले बताए।  

मनोपरामर्शदाताको टोलीले महिलालाई स्वास्थ्य जाँच गराउँदै उपचारमा पठाउन आवश्यक परामर्श दिएको थियो। अधिकतर महिला यौन समस्याबारे खुल्नै नचाहने भएकाले आफूहरुले सहजीकरण गरेको दंगालले बताईन्। शिविरमा जँचाउन आएका कतिपय सेवाग्राही मानसिक रोगी भेटिएकाले उनीहरुलाई निःशुल्क औषधि वितरण गरिएको डा. राईले बताए।  

दुवै वडाको शिविरको अनुगमन नगरप्रमुख दुर्गाकुमार थापा, उपप्रमुख राजकुमारी चौधरी र जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुबेदीको टोलीले गर्दै आवश्यक निर्देशन दिएको नगरका प्रेस सल्लाहकार ललित राईले बताए। उनका अनुसार वडा नंं. ६ र ७ का वडाध्यक्षहरु बसन्त मगर र सुरेन्द्र राईले आ-आफ्नो वडाको शिविर उद्घाटन गरेका थिए। वडाबासीको स्वास्थ्यप्रति सचेत भएर शिविर राखेको भन्दै उनीहरुले शिरिरबाट भरपुर फाईदा लिन उनीहरुले आग्रह गरे।  

बेलकाले नगरबासीको स्वास्थ्य संवेदनसिलतालाई ध्यानमा राख्दै वर्षेनी घुम्ती शिविर सञ्चालन गर्दै आएको जनाएको छ। नगरपालिका भए पनि अधिकांश भू-भाग ग्रामिण भेग रहेको तथा गरिवी र अशिक्षाले जनतामा स्वास्थ्य चेतना कमि भएकाले दुुई वर्षयता नियमित शिविर सञ्चालन गर्दै आएको मेयर थापाले बताए। बाँकी वडामा पनि छिट्टै यस्तै शिविर सञ्चालन गर्ने योजना रहेको थापाले बताए।

प्रकाशित: २ मंसिर २०७७ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App