१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

पैसा, मोबाइल र स्टिलमा कोरोना २८ दिनसम्म बाँच्ने देखियाे : नयाँ अनुसन्धान

पैसाको नोट, मोबाइलको स्क्रिन एवं स्टेनलेस स्टिलमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने अनुसन्धानकर्ताले बताएका छन्।  

अस्ट्रेलियका वैज्ञानिकले हालै गरेको अनुसन्धानले यसअघिको अनुसन्धानले देखाएभन्दा निकै लामो समयसम्म कोरोना भाइरस जीवित रहन सक्ने तथ्य देखाएको हो।

यसअघि प्रयोगशालाहरूमा गरिएको अनुसन्धानले कोरोना (सार्स कोभ २) पैसाको नोट वा सिसामा २ देखि ३ दिनसम्म र प्लास्टिक एवं स्टिलमा ६ दिनसम्म बाँच्ने देखाएका थिए।  

त्यहाँको नेसनल साइन्स एजेन्सीका वैज्ञानिकले यो अनुसन्धान गरेका हुन्। तर अनुसन्धान कुनै प्रकाश नभएको अँध्यारो ठाउँमा गरिएको हो। परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरस नष्ट हुने कुरा यसअघि अनुसन्धानले पुष्टि गरिसकेको छ।  

अस्ट्रेलियाका वैज्ञानिकले गरेको पछिल्लो अनुसन्धानले मोबाइल फोनको स्क्रिनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा कोरोना २८ दिनसम्म जीवित रहने देखाएको हो। 

तर कतिपय वैज्ञानिक भने पैसाको नोट, मोबाइल एवं स्टिलबाट कोरोना भाइरस सर्छ कि सर्दैन भन्नेमा अझै विश्वस्त हुन सकेका छैनन्। उनीहरूका अनुसार यो भाइरस खासगरी संक्रमितले हाच्छिउँ गर्दा, बोल्दा र खोक्दा उछिट्टिने छिटाबाट अर्काेमा सर्छ। 

कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्वप्रमुख प्राध्यापक रन एकल्सले भने यो अनावश्यक त्रास फैलाउने अनुसन्धान भएको टिप्पणी गरेका छन्।  

उनले भनेका छन्, ‘सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औंलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन।’ 

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन्।

‘महामारीको सुरुमा सतह वा निर्जीव वस्तुमार्फत संक्रमण सर्ने निकै त्रास थियो। तर अहिले हामीले यसको मुख्य कारण कुनै सतह छोएर अनि त्यसपछि आँखा छोएर सर्ने होइन रहेछ भन्ने थाहा पाएका छौं। मुख्य कारण त कसैले आफ्नो नाक वा मुखबाट निकालिरहेको भाइरसको नजिक पर्नु नै हो।’ 

तर पनि सम्भावित सबै जोखिमबाट बच्न हात वा आफ्ना सरसामान सफाइमा भने ध्यान दिनुपर्ने विज्ञ बताउँछन्। बिबिसी

प्रकाशित: २६ आश्विन २०७७ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App