पछिल्लो समय नेपालमाथि लाग्ने गरेको आरोप हो– चीनसँगको निकटता । अर्को छिमेकी भारतको मात्र नभएर शक्ति राष्ट्र अमेरिका र युरोपेली देशको मूल्यांकन पनि यही हो । नेपालको आन्तरिक राजनीतिमा पनि यो बहसको विषय बन्ने गरेको छ ।
चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्धतासँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विचारलाई पछ्याइरहँदा नेपालमाथि लाग्ने गरेको आरोप सत्यको निकट पनि देखिन्छ । सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीले दिने प्रशिक्षण ग्रहण गर्नेदेखि सरकार स्वयंले पनि चीनसँगको सम्बन्धलाई प्राथमिकता दिइरहेको अवस्था छ ।
पछिल्लो समय नेपालको आन्तरिक र सत्ता राजनीतिमा चिनियाँ राजदूतको सक्रियताले पनि यो कुरामा अझ बल पुगिरहेको छ । चीन–नेपाल सम्बन्धको निकटतालाई पुष्टि गर्ने अर्काे एउटा विषय परराष्ट्र मन्त्रालयले हङकङका विषयमा चीनलाई समर्थन गर्दै जारी गरेको विज्ञप्ति पनि हो । अरूको आन्तरिक विषयमा खासै टिप्पणी नगर्ने नेपालले हङकङ मामिलामा चीनलाई खुलेरै समर्थन ग¥यो । यस विषयमा अमेरिका र युरोपेली मुलुकहरूको मतभिन्नता रहँदै आएको छ ।
भारतसँग सीमा विवादलगायत कतिपय कारण तथा अमेरिकासँग गत वर्ष सत्तारुढ नेकपा नेतृत्वले भेनेजुयला, क्युवाका विषयमा दिएका अभिव्यक्ति र हाल एमसिसि कार्यान्वयनमा भइरहेको ढिलाइका कारण सम्बन्धमा चिसोपन देखिँदै आएको छ । संक्रमणकालीन न्याय निरूपणमा देखिएको ढिलासुस्तीका कारण युरोपेली मुलुक पनि नेपालसँग सन्तुष्ट देखिँदैनन् ।
कोरोनाबाट सुरुमै प्रभावित बनेको चीन अहिले सामान्य अवस्थातर्फ उन्मुख छ । यसो हुनुको मुख्य कारण चीनले अपनाएको पर्याप्त सावधानी र संक्रमितको सही व्यवस्थापन हो ।
नेपाल र चीनबीच छिमेकी सम्बन्धबाहेक सत्तारुढ दलबीचको वैचारिक निकटता र सरकारी तहमा पनि सहकार्य भइरहँदा कोरोना नियन्त्रणमा भने नेपालले चिनियाँ मोडेल पछ्याउन सकिरहेको छैन । चीनले कोरोनासँग लड्न नेपालसँग सहकार्य र सहयोग गर्न तयार रहेको बताइरहँदा नेपालमा भने संक्रमण दिनदिनै बढ्दै गइरहेको छ ।
यसरी सम्भव भयो चीनमा कोरोना नियन्त्रण
गत डिसेम्बर ३१ मा चीनको बुहानबाट सुरु भएको कोरोनाबाट अहिले पूरै विश्व आक्रान्त भइरहेको छ ।
तर कोरोनाबाट सुरुमै प्रभावित बनेको चीन भने अहिले सामान्य अवस्थातर्फ उन्मुख छ । यसो हुनुको मुख्य कारण चीनले अपनाएको पर्याप्त सावधानी र संक्रमितको सही व्यवस्थापन हो । चीनको शीर्ष नेतृत्वले तत्काल प्रतिक्रिया जनाउनु, सरकारका सबै संयन्त्रले कोरोना नियन्त्रण तथा रोकथामका उपायसहित निकटतम सहकार्य गर्नु र संक्रमितलाई प्रभावकारी ढंगले वर्गीकरण गर्दै आइसोलेसनमा राख्नेलगायत काम गरेका कारण नियन्त्रणमा निकै ठूलो सहयोग पुगेको बताइएको छ ।
चीनले भाइरस संक्रमणको प्रभाव देखिन थालेपछि दुई साताको अवधिमा एक÷एक हजार क्षमताका दुई अस्पताल निर्माण गरेको थियो । चिनियाँ संयन्त्रले सामान्य किसिमका लक्षण देखिएका बिरामीलाई अस्थायी अस्पतालमा राख्ने, शंकास्पदलाई आवासीय क्षेत्रभन्दा टाढा सुविधासहितका क्वारेन्टिनमा पठाउने, संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ गर्ने जस्ता कार्य प्रभावकारी ढंगले ग¥यो । त्यस्तै देशभरका स्वास्थ्यकर्मीलाई मुख्य प्रभावित क्षेत्र बुहानमा केन्द्रित गरियो । संक्रमण नियन्त्रणका लागि चीन सरकारले ४२ हजार स्वास्थ्यकर्मीलाई बुहानमा परिचालन गरेको थियो । जसमध्ये १९ हजार श्वासप्रश्वास र आइसियुसँग सम्बन्धित चिकित्सक थिए । त्यस्तै स्वास्थ्य सामग्रीको अभाव हुन नदिन चीनले मास्क गगल्स, पिपिई, सेनेटाइजरलगायत उपकरणको उत्पादन विस्तार ग-यो ।
कोरोना संक्रमण नियन्त्रणका लागि चीनमा सबै निकायले अथक प्रयास गरेका थिए । जसले गर्दा कोरोना नियन्त्रणमा उनीहरूले अभूतपूर्व सफलता पाए । नेपालमा भने कोरोना रोकथाम र नियन्त्रणको जिम्मेवारी पाएका निकाय तथा व्यक्तिहरू सुरुमै स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमिततामा मुछिए ।
चीनले कोरोना प्रकोपपछि स्वास्थ्य सेवा प्रणालीकै पुनर्संरचना ग-यो । बुहानका मुख्य अस्पतालहरूलाई पुनर्संरचना गर्दै कोरोना बिरामी विशेष उपचार अस्पतालका रूपमा रूपान्तरण गरियो । सबै संक्रमितलाई उपचारको सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरस उपचार योजनालाई निरन्तर परिमार्जन गरिरहे । चीनको हुवाई प्रान्तमा कोरोना संक्रमितलाई चिनियाँ परम्परागत र आधुनिक चिकित्सा दुवै पद्धतिबाट उपचार गरिएको थियो । चीनले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई भाइरस पत्ता लगाउन र अनुगमनमा टेक्नोलोजीको पनि पर्याप्त प्रयोग ग-यो । विशेषगरी कृतिम बौद्धिकतालाई प्रयोग गरी स्वास्थ्यकर्मीको काममा सघाउने काम भयो । त्यस्तै कतिपय अवस्थामा टेलिमेडिसिन सेवा पनि प्रभावकारी भएको चिनियाँ अधिकारी बताउँछन् । पछिल्लो तथ्यांक अनुसार हाल चीनमा कोरोनाका १७३ सक्रिय बिरामी छन् । त्यसमध्ये १२ जना मात्र नयाँ हुन् । डिसेम्बरयता ८५ हजार दुई सय २१ संक्रमित भएको चीनमा चार हजार ६ सय ३४ जनाले ज्यान गुमाएका छन् भने ८० हजार चार सय ८४ निको भइसकेका छन् ।
नेपालमा संक्रमण नियन्त्रण किन प्रभावकारी हुन सकेन ?
विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनले प्रभावकारी ढंगले कोरोना संक्रमण नियन्त्रण गरिरहेका बेला ऊसँग निकट सम्बन्ध रहेको नेपालमा भने कोरोना संक्रमण बढ्दैछ । चीनले कोभिड १९ (कोरोना) विरुद्धको लडाइँमा नेपाललाई साथ दिने बताउँदै आएको छ । मेडिकल सहयोग पनि गर्दै आइरहेको छ । नेपालले खरिद गरेका स्वास्थ्य सामग्री पनि अधिकांश चीनमै उत्पादित छन् । तर कोरोना संक्रमण दिनदिनै बढ्दैछ ।
कोरोना संक्रमण नियन्त्रणका लागि चीनमा सबै निकायले अथक प्रयास गरेका थिए । जसले गर्दा कोरोना नियन्त्रणमा उनीहरूले अभूतपूर्व सफलता पाए । नेपालमा भने कोरोना रोकथाम र नियन्त्रणको जिम्मेवारी पाएका निकाय तथा व्यक्तिहरू सुरुमै स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमिततामा मुछिए । सुरुमा औषधी व्यवस्था विभागमार्फत खरिद गरिएका स्वास्वस्थ्य सामग्रीको मूल्य र गुणस्तरमा प्रश्न उठेपछि खरिद प्रक्रिया नै रद्द भयो । सरकारले पछि सेनालाई यसको जिम्मा दिए पनि त्यो विवादरहित बन्न सकेन । सेनाले खरिद गरेका औषधिलगायत स्वास्थ्य सामग्री पनि अत्यधिक महंगो भएको भन्दै आलोचना भयो । अन्ततः सेना यो प्रक्रियाबाटै बाहिरियो । सरकारले कोरोना रोकथाम र नियन्त्रणमा खर्च गरेको रकमको पारदर्शीतामाथि पनि प्रश्न उठ्यो । महामारीविरुद्ध सशक्त ढंगले लड्नुपर्ने सरकारी निकाय आफैं अनियमितता र भ्रष्टाचारमा मुछिएको भन्दै आलोचना र देशभर विरोध प्रदर्शनसमेत भयो । यस बीचमा सत्तारुढ नेकपाभित्र देखिएको गुटगत विवाद पनि अप्रत्यक्ष रूपमा कोरोना संक्रमण विस्तार कारक बन्न पुग्यो । महामारी नियन्त्रण र रोकथाममा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री र मन्त्रीहरू कसरी हुन्छ कुर्सी जोगाउने खेलमा लागे । पार्टीभित्रको विवादले सरकारी कामकारबाही प्रभावित बन्यो ।
अर्काेतर्फ नेपालमा स्वयं नागरिक पनि जिम्मेवार नबन्नु संक्रमणको कारण बन्दै गइरहेको छ । न सरकारले कोरोना संक्रमितको सही व्यवस्थापन गर्न सकेको छ न नागरिक स्वयंले सचेतना अपनाएका छन् । यसले कोरोनाको प्रभाव थप बढ्दै गइरहेको जनस्वास्थ्यविद् बताउँछन् । ‘चीनले बुहान, जहाँबाट संक्रमण सुरु भयो, त्यहाँका सबैलाई घरभित्रै राखेर सबै कुराको व्यवस्थापन गरेको थियो । हामीले बढी संक्रमण भएको ठाउँमा मानिसलाई भित्रै राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमलाई कडाइका साथ लागु गर्न सकेनौं । यसले कोरोना रोकथाम र नियन्त्रणमा समस्या भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने । चीनमा कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिएको तर नेपालमा कोही पनि अनुशासनमा बस्न नचाहने र बढी स्वतन्त्रता खोज्ने प्रवृत्तिले समस्या थपिएको अधिकारी बताउँछन् । उनले नेपालले पनि चीनको अनुभवबाट सिक्न खोजिरहेको बताए । ‘हामीले बेलाबेलामा चिनियाँ अधिकारीसँग भर्चुअल बैठक गरी अनुभव आदानप्रदान गरिरहेका छौं । उनीहरू पूर्वसावधानी तथा नियन्त्रणका लागि निकै कडा नियममा बाँधिन्छन्, जुन हामीले सक्दैनौं,’ उनले भने । कन्ट्याक ट्रेसिङलगायत कुरामा नेपालले पनि राम्रो गरिरहेको उनको दाबी छ । भारतसँगको खुला सिमाना पनि कोरोना नियन्त्रणका लागि चुनौती बनिरहेको उनी बताउँछन् ।
स्थिति अझै खराब हुनसक्छ
जनस्वास्थ्यविद् नेपाल कोरोना संक्रमणका हिसाबले अहिले पनि उच्च जोखिममा रहेको र परिस्थिति अझै खराब हुनसक्ने अनुमान गर्छन् । जनजीवनलाई लयमा ल्याउन लकडाउन केही खुकुलो बनाइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । ‘मानिस लामो समयसम्म कुँजिएर बसेकाले जनजीवनलाई लयमा ल्याउन केही खुकुलो बनाइएको हो । जनस्वास्थ्यका हिसाबले पहिलेभन्दा अहिले जोखिम बढिरहेको छ,’ मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले भने ।
जनस्वास्थ्यविद्हरू विदेशबाट नेपाल आउने तथा लामो दूरीको यात्रा तय गरेर हिँडडुल गर्ने व्यक्ति अनिवार्य रूपमा १४ दिनको क्वारेन्टिनमा बस्ने र पर्याप्त पूर्वसावधानी अपनाउनु नै संक्रमण रोकथाम र नियन्त्रणको एक मात्र उपाए भएको बताउँछन् ।
विज्ञहरू कोरोना संक्रमितको निरन्तर वृद्धि, अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको संख्या बढ्नु, आइसियु र भेन्टिलेटरमा भर्ना हुनेको संख्यामा भइरहेको वृद्धि तथा मृत्युदरमा भइरहेको वृद्धिले अवस्था खराब बन्दै गइरहेको संकेत मिलेको बताउँछन् ।
पछिल्लो समय मानिसको चहलपहल र पूर्वसावधानीमा हेलचक्र्याँइले जोखिम थप बढ्नसक्ने चेतावनी विज्ञहरूले दिएका छन् । जनघनत्व भएका ठाउँमा समुदाय तहमा संक्रमण फैलनु खतराको संकेत भएको विज्ञ बताउँछन् । हाल केही निश्चित स्थानमा मात्र कोरोना संक्रमण देखिए पनि पर्याप्त सावधानी नअपनाएमा सबैतर्फ संक्रमण फैलिने र त्यसले पार्ने प्रभाव पनि बढ्ने विज्ञ बताउँछन् ।
पूर्वसावधानी नै रोकथामको प्रभावकारी उपाय
जनस्वास्थ्यविद्हरू विदेशबाट नेपाल आउने तथा लामो दूरीको यात्रा तय गरेर हिँडडुल गर्ने व्यक्ति अनिवार्य रूपमा १४ दिनको क्वारेन्टिनमा बस्ने र पर्याप्त पूर्वसावधानी अपनाउनु नै संक्रमण रोकथाम र नियन्त्रणको एक मात्र उपाए भएको बताउँछन् । चीनले पनि त्यसै गरेर कोरोना संक्रमण कम गर्न सफल भएको उनीहरूको तर्क छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारी पनि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेे व्यवस्थालाई कडाइ नगरेसम्म र पूर्वसावधानी नअपनाएसम्म भाइरस नियन्त्रणमा कठिन हुने बताउँछन् । ‘लक्षण देखिए पनि नदेखिए पनि यात्रा गरेका र पोजेटिभको सम्पर्कमा आएका व्यक्ति अनिवार्य क्वारेन्टिानमा बस्नुपर्छ । शारीरिक दूरी कायम गर्दै मास्क, स्यानेटाइजर र साबुनपानीको प्रयोग जस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ । यसलाई व्यवस्थित गर्न सके मात्र जोखिम न्यूनीकरण गर्न सकिन्छ,’ अधिकारीले भने ।
प्रकाशित: ७ आश्विन २०७७ ०१:४८ बुधबार