३१ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

जहाँ सर्पले डस्दा चुसेर उपचार गरिन्छ !

दाङको घोराही उपमहानगरपालिका–१४, झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा चुसेर विष निकाल्ने विधिबाट उनको उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो ।  

सबै विधि पु¥याएर दुई जनाले लगातार ५ घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो । समाजमा अहिले पनि सर्पले डसेका बिरामीलाई अस्पताल या स्वास्थ्यकेन्द्रको आधुनिक स्वास्थ्य उपचारभन्दा वैद्यले नै चुसेर विष झार्ने उपचार पद्धतिले निको हुन्छ भन्ने विश्वास छ ।  

समाजमा सर्पले डसेका यस्तै प्रकृतिका कैयौँ घटनाको अध्ययन गर्दा निको भएको पनि पाइन्छ । वैद्यहरूसँग उपचार गराउनेको सङ्ख्या यकिन नभए पनि उपचार गर्नेहरूका अनुसार एकजना वैद्यले वर्षमा १५ देखि २० जनासम्मको यसैगरी चुसेर विष झारेर उपचार गर्ने गरेका छन् ।  

घोराही उपमहानगरपालिका–१०, नारायणपुरका कमल पौडेल पेसाले शिक्षक हुन् । उनले २०४३ सालदेखि सर्पले टोकेका बिरामीको उपचार यस्तै पद्धतिबाट गरिरहेका छन् । पौडेलसँग वर्षभरिमा कम्तीमा सयको हाराहारीमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गर्छन् ।  

विसं २०४३ मा बडादसैंको नवदुर्गामा सर्पले डसेका बिरामीको भालुवाङका शाहवीर खानसँग यसैगरी चुसेर विष निकाल्ने उपचार पद्धति सिकेका पौडेलले अहिलेसम्म निरन्तर उपचार गरिरहेको बताउँछन् ।  

उमेर ढल्कदै जाँदा उनले उपचार गर्ने विधि गाउँका अन्य १६ युवालाई समेत सिकाएको बताए । खाली मुखले चुसेर विष निकाल्दा सुरुसुरुमा हल्का विष लागेको जस्तो भए पनि पटकपटकको चुसाइपछि भने विष पनि नलाग्ने उनको अनुभव छ ।  

पौडेलले विगतमा यही पद्धतिबाट उपचार गर्दाको अनुभव सुनाए, करिब चार वर्षअघिको । 

उनले भने, ‘करिब ४ वर्षपहिले तुलसीपुर अञ्चल अस्पतालले मृत‘ घोषणा गरेको व्यक्तिलाई बचाउन सकिने आशामा ती व्यक्तिको परिवारले नारायणपुरस्थित मेरो घरमा लिएर आए । नाडी छाम्दा ढुकढुकी कत्ति थिएन । एउटा आशा लिएर आएको बिरामीका परिवारलाई निराश बनाउनुभन्दा प्रयास गर्नु उचित सम्झेर चेलाहरूका साथमा चुस्न सुरु गर्यौँ । हामीले लगातार १० घण्टा चुस्दा ती बिरामीका अङ्गप्रत्यङ्ग सल्बलाउन थाले । मरेको मान्छे जाग्यो भन्दै हल्ला भयो । त्यसपछि प्रहरी आएर पौडेल र उहाँका चेलालाई उपचार गर्न नदिएर बिरामीलाई लिएर जानु भन्यो ।’

पुलिसले त्यहाँबाट निकालेपछि बिरामीका आफन्तले नेपालगन्ज मेडिकल कलेज पुर्याएर एक महिनासम्म अस्पतालमा उपचार गराएर, उनलाई निको भयो । ती बिरामी घर फर्केपछि बिरामीको छोरा पौडेलको घरमै आएर खुट्टा ढोगेर सम्मान प्रकट गरेको पौडेल बताउँछन् ।  

विष चुस्ने प्रक्रियाबारे पौडेलले विस्तारमा बताउन नचाहे पनि बिरामीलाई पश्चिम फर्काएर बसाउने, धुप बालेर चुस्ने समूहका व्यक्तिहरूले मन्त्र जप गरेर सुरु गर्ने गरेका हुन्छन् । उनले चुस्ने व्यक्ति र बिरामीको बीचमा अरू प्रवेश नगरुन् भनेर गोल घेरा बनाई उक्त क्षेत्रलाई सुरक्षित बनाएर बाँधेर विष चुस्ने कार्य सुरु हुने बताउँछन् । 

सर्पले टोकेको बिरामी कति समयपछि आएको छ त्यति नै समय लाग्ने पौडेलको भनाइ छ । विष चुस्दा शरीरमा विष रहँदासम्म मात्र चुस्न सकिन्छ ।  

विष सकियो भने चुस्ने व्यक्तिलाई बिरामीको शरीरले नै हुत्याउने गरेको पौडेलले बताए । यसरी विष चुस्दा सर्पले टोकेको घाउमा कतिपयको त दाँतसमेत झरेको चुस्ने क्रममा भेटिने गरेको उनको अनुभव छ ।  

दाङमा प्रायःगराईच (करेत) र डुमिनी (कोब्रा) सर्पले डसेका बिरामी नै आउने गरेको पौडेल बताउँछन् । डुमिनी  (कोब्रा) सर्पको विष मानिसको शरीरमा तुरुन्तै र गराईच  (करेत) को विष बिस्तारै अर्थात् डसेको करिब एक घण्टापछि मात्र शरीरमा चढ्ने पौडेलले बताए ।  

चुसेर उपचार गर्ने पद्धति प्रत्येक वर्षको नवदुर्गामा सिकाइने गरेको पौडेलले जानकारी दिए । अहिले चुसेर विष निकाल्ने वैद्य पनि समाजमा धेरै नै छन् । ‘केहीले उपचारपछि तोकेरै पैसा लिने गरेका पनि छन् तर मैले सिकाएका गाउँका चेलाहरूलाई तोकेर पैसा लिन दिएको छैन,’ पौडेलले भने ।  

घोराही उप महानगरपालीका–६, बचाहाका भीमप्रसाद खनालले पनि सर्पले डसेका बिरामीको उपचार गर्न थालेको १० वर्ष भयो । खनालले चुसेर सर्पको विष झार्ने पद्धति बङ्गाली विद्या भएको दाबी गरे । उनका अनुसार देवी भगवतीको आराधना गरेर कन्याले बनाएको सुनपानीले शुद्ध भएर मन्त्रोच्चारण गर्दै बिरामीको शरीरमा बनेको घाउमा चुसेर विष निकाल्ने गरिन्छ ।  

दाङका अस्पतालले नेपालगन्ज सिफारिस (रेफर) गरेका बिरामी पनि आफूकहाँ आएर उपचारपछि निको भएको उनको अनुभव छ । ‘हाम्रो उपचार पद्धतिमा टोकेको ठाँउबाट चुस्ने भएकाले सबै विष निकालिन्छ,’ खनालले भने ।  

यता घोराही उपमहानगरपालिका–६ का केही वैद्यको उपचार विधि भने फरक छ । सर्पले डसेको बिरामीलाई स्थानीयस्तरमै पाइने जडीबुटीको लेप लगाई उपचार गर्ने गरेको स्थानीय बताउँछन् । 

घोराही उपमहानगरपालिका–६ का पदमप्रसाद अधिकारीले पनि सर्पले टोकेका बिरामीलाई उपचार गर्न थालेको ३३ वर्ष पुग्यो । सर्पले टोकेको बिरामीलाई उनले गाँउघरमै पाइने जडीबुटी घाउमा लगाइदिने र त्यही जडीबुटीको रस पिउन दिएर उपचार गर्ने गरेको बताउँछन् ।  

अहिलेसम्म लगभग २ हजार जतिलाई उपचार गरेको र सबै सफल भएको उनी दाबी गर्छन् ।  

‘धारापानी मन्दिर छेउछाउको जङ्गलमा पाइने जडीबुटी ‘एन्टीस्नेक भेनम’ जस्तै जडीबुटी हो, त्यसले नै उपचार गर्दै आएको छु,’ अधिकारीले भने।

बुढेसकाल लागेकोले जङ्गल पुग्न कठिनाइ हुने भएकाले उनले त्यो जडीबुटी घरको करेसाबारीमा पनि रोपेका छन् ।  

‘अहिलेसम्म मैले उपचार गरेकाहरू सबै सञ्चो भएकाले जडीबुटीले काम गर्छ भन्नेमा म विश्वस्त छु,’ अधिकारीले भने । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.मिनचन्द्र अधिकारीका अनुसार चुसेर विष निकाल्छु भन्नेले समाजमा भ्रम पैदा गरिदिएको बताउँछन् ।  

अधिकारीका अनुसार सर्पले टोकेका बिरामी दुई कारणले मर्छन् । पहिलो मानसिकताले मर्ने बताउँदै डा। अधिकारी, बिरामीलाई समाज तथा घर परिवारले नै पहिला ‘काउन्सिलिङ’ गर्नुपर्ने बताउँछन् ।  

उनका अनुसार अर्काे कारण अस्पताल पुर्याउन ढिलाइ हुँदा विष शरीरमा फैलिएर मृत्यु हुन्छ । ‘एन्टीस्नेक भेनम नै विष मार्ने अचुक उपाय हो भने बढी सिकिस्त बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा मात्र सफल भएका छन्,’ उनले भने।  

अहिले पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एन्टिस्नेक भेनम प्रशस्त मात्रामा रहेको अधिकारीले जानकारी दिए । वर्षाका बेला सर्प जमिनबाट बाहिर निस्कने भएकाले सर्पले डस्ने घटना बढी हुने गर्छन् ।  

विषालु सर्पले टोकेकालाई चुसेर विष निकाल्न नसकिने राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ सर्जन डा.जनार्दन पन्थी बताउँछन् । सर्पले डसेका बिरामीको शरीरमा रगतमा मिसिएको विष कुनै पनि हालतमा चुसेर ननिस्किने उनको भनाइ छ ।  

‘सर्पले टोकेपछि विष रगतका माध्यमबाट मस्तिष्कसम्म पुग्ने भएकाले चुसेर विष निकाल्छु भन्नेहरूले समाजमा भ्रम छर्ने काम मात्र गरेका छन्,’ डा. पन्थीले भने।  

तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गत आर्थिक वर्ष २०७६/७७ मा सर्पले डसेर उपचार गराउन आउनेको सङ्ख्या ३६ थियो । अस्पतालका सूचना अधिकारी डिल्ली केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ७ जनालाई नेपालगन्ज रेफर गरिएको थियो भने बाँकी २९ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।  

पहिला झारफुक तथा चुसेर उपचार गर्ने वैद्यलाई विश्वास गरे पनि अहिले उपचारका लागि अस्पतालमै आउने चलन बढेको केसीले बताए ।  

प्रकाशित: १४ भाद्र २०७७ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App