७ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा भयावह बन्दै कारोना, हरेक २ घण्टामा मृत्यु

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण मात्र होइन, मृत्यु हुने दर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिलेसम्मकै धेरै हो ।  

शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक २ घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ सुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् ।  

कोरोना सङ्क्रमणबाट बिहीबार ९ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौयता शुक्रबारसम्ममा कोरोनाबाट दैनिक औसतमा ७ जनाको ज्यान गएको छ ।  

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा शून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि बढेर मृत्यु दर शून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ ।  

त्यसमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना छन् ।  

नेपालमा कोरोना संक्रमणबाट सबैभन्दा पहिलो मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउँछन् । 

उनीहरू लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताए ।  

काठमाडौँ उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्तायता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौँ महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् ।  

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमित बढेको बताउँछन् ।  

बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौँमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरूको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ ।  

काठमाडौँ उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन् ।  

प्रकाशित: १३ भाद्र २०७७ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App