८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाविरुद्ध तीन खोप: नेपालमा परिक्षणको तयारी छलफल

सरकारले कोरोना भाइरसविरुद्धका खोपको नेपालमा तेस्रो चरणको परीक्षण गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ।  

सरकार मातहतको नेपाल स्वास्थ अनुसन्धान परिषदले वेलायतको अक्सफोर्ड  विश्वविद्यालय, नेपाल स्थित रुसी राजदुतावास, र चीनको होङसी कम्पनीसँग छलपल शुरु गरेको हो।  

परिषद सदस्य सचिव डा प्रदीप ज्ञवालीले सोमवार नेपालका लागि रुसी राजदुत अलक्साई नोभीकोभलाई भेटेर यससम्वन्धी छलफल गरेकाछन्। रुसी राजदुतले नेपालमै कम्पनी खोलेर खोप उत्पादन वा खरिद गरेर प्रयोग दुबैमा सहयोग गर्न आश्वासन दिएको ज्ञवालीले बताए। ज्ञवालीका अनुसार, शुरुमा १ हजार डोज खोप उपलव्ध गराउन रुसी राजदुत तयार भएका छन्। मस्कोमा रहेको गेमालेया इन्सिच्युट अफ इपिडोमोलोजी एण्ड माइक्रोवायोलाजीद्धारा कोरोना भाइरस विरुद्ध निर्मित खोप रुसले औपचारिक रुपमा दर्ता गरेकोछ। तर यस्को तेस्रो तथा अन्तीम चरणको परिक्षण हुन वाँंकी छ।  

यसैगरी गत साता नेपाल भ्रमणमा आएका अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयू पोलार्ड आफ्नो विश्वविद्यालयले निर्माण गर्न लागेको खोपको नेपालमा परिक्षण गर्न प्रारम्भीक छलफल भएकोछ। परिषद, विश्व स्वास्थ संगठन र विश्व विद्यालयका अधिकारीहरु विचको छलफल सकारात्मक रहेको सदस्य सचीव ज्ञवालीले बताए। अक्सफोर्ड र औषधी निर्माता कम्पनी अस्ट्राजेनेकाले कोरोना विरुद्धको खोप परिक्षणलाई अन्तीम चरणमा पुर्याएकाछन् र विश्वका विभिन्न देशमा यस्को परिक्षण हुदैछ। ज्ञवालीले यो खोपको परिक्षण नेपालमा गरिने प्रारम्भीक सहमती भएपनि कति जनामा यो परिक्षण गर्ने भनेर निक्र्योल भैनसकेको बताए। यसैगरी चीनको होङसी कम्पनीले निर्माण गरेको खोपको नेपालका १ हजार स्वयमसेवकमा परिक्षण गर्न पनि छलफल सकारात्मक रहेको ज्ञवालीले वताए।  

‘चीनको यो कम्पनीले नेपालमा खोप परिक्षण गर्न परराष्ट्र मन्त्रालयललाई पत्राचार गरेको थियो। हामीले यससंम्वन्धी हाम्रा राय दिन गृहकार्य गरीरहेकाछौ,’ ज्ञवालीले भने।  

कोरोना भाइरस विरुद्धको खोप निर्माणमा हाल विश्वव्यापी प्रतिस्पर्धा भइरहेको छ। विश्वका आधा दर्जन औषधी उत्पादक कम्पनी यसको अन्तीम चरणको परिक्षणमा पुगेका छन्।

प्रकाशित: ९ भाद्र २०७७ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App