२७ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दन्त नसाको समस्या र समाधान

के तपाईं आफ्नो दाँत दुखेर रातभरि सुत्न सक्नुभएको छैन ? खाना अड्कँदा तथा चिसो र तातो खाँदा दाँत दुख्ने समस्या छ ? कतै यो दाँतको नसाको दुखाइ त होइन ? यस्तो हो भने तपाईंको दाँतको जरादेखि नै उपचार गर्नुपर्ने हुन सक्छ। मेडिकल साइन्समा यसलाई ‘रुट क्नाल ट्रिटमेन्ट (आरसिटी)’ भनिन्छ। रुट क्नाल ट्रिटमेन्ट प्राकृतिक दाँतलाई बचाउन सबैभन्दा बढी गरिने एक प्रकारको दन्त उपचार हो, जसमा मुख्यतः दाँतमा भएका रक्तनलि तथा नसालाई निकाली दाँतको जरादेखि नै उपचार गरिन्छ।  

रुघाखोकीपछि सबैभन्दा बढी दाँतमा कीरा लाग्ने रोग देखिएको अध्ययनले देखाउँछ। यो समस्या नेपालमा पनि उल्लेख्य पाइन्छ। दाँतमा कीरा लाग्दा समयमै दन्तचिकित्सकको सल्लाह मानी तथा विभिन्न किसिमका सिमेन्टभरि यसलाई अझ घातक हुनबाट रोक्न सकिन्छ। आरसिटीको उपचारबाट छुट्कारा पाउन सकिन्छ। त्यस्तो गर्न नसके दाँतको बाहिरी इनामेल तथा डेन्टिन हुँदै इन्फेक्सन दाँतको भित्री भाग अर्थात् पल्पमा पुग्छ। पल्पमा नसा तथा रक्तनली हुन्छन्, यी नसामा इन्फेक्सन पुगी दाँत दुख्न थाल्छ र आरसिटी गर्नुपर्ने हुन्छ।  

आरसिटीको आवश्यकता दाँतको दुखाइमा मात्र नभई दाँतमा चोटपटक लाग्दा, दाँतको जराहरूमा तथा गिँजामा पिप जम्दा, दाँतमा क्याप (क्राउन) लगाउनुपर्दा पनि आवश्यक देखिन्छ। तर दाँतका जराहरूमा हड्डीको पकड मजबुत नभएमा, हड्डीहरू खिइएर दाँत एकदमै हल्लिएमा, गिँजाको समस्या अत्यधिक भएमा, दाँत भाँचिए वा पूर्णरूपमा क्षतिग्रस्त भएमा, शारीरिक अन्य (जस्तैः मुटु, श्वासप्रश्वाससम्बन्धी) समस्या भएमा दन्तचिकित्सकले आरसिटी नगर्ने सल्लाह दिन्छन्। त्यस्तै, बांगाटिंगा दाँतका जराहरू, एकभन्दा बढी दाँतका जराहरू, दाँतका नलीहरूमा भएका ब्लकेज, जसलाई क्यालसिफाइड क्नाल भनिन्छ, आदि अवस्थामा आरसिटी गर्न दन्त चिकित्सकलाई चुनौती हुन्छ।  

दाँतलाई मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ– क्राउन र जरा। क्राउन, जुन मुखमा आँखाले प्रत्यक्ष देख्न सकिन्छ। जरा, जुन हड्डीभित्र गाडिएको हुन्छ। आरसिटी गर्दा दाँतको जरादेखि नै सबै संक्रमित पल्पलाई निकाली त्यस ठाउँमा निष्क्रिय पदार्थ राखी सिल गरिन्छ।

दाँतलाई मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ– क्राउन र जरा। क्राउन, जुन मुखमा आँखाले प्रत्यक्ष देख्न सकिन्छ। जरा, जुन हड्डीभित्र गाडिएको हुन्छ। आरसिटी गर्दा दाँतको जरादेखि नै सबै संक्रमित पल्पलाई निकाली त्यस ठाउँमा निष्क्रिय पदार्थ राखी सिल गरिन्छ। पहिलो दिनमै एनेस्थेसियाको इन्जेक्सन दिई दाँत र वरपर लठ्याइन्छ। त्यसपछि संक्रमित पल्पहरू निकाली औषधि राखेर बिरामीलाई पठाइन्छ। दोस्रोपल्ट आउँदा दाँतको भित्री भागलाई अझ राम्ररी सफा गरिन्छ, जसलाई ‘क्लिनिङ एन्ड सेपिङ’ भन्ने गरिन्छ। यन्त्रको मद्दतले भित्री क्नाल सफा गरिन्छ। त्यसपछि पुनः औषधि राखी बिरामीलाई घर पठाइन्छ। दाँतको दुखाइ निर्मूल भएपछि तेस्रोपल्ट आउँदा निष्क्रिय ‘बायोकम्प्याटिबल’ पदार्थले दाँत जरादेखि नै भरिन्छ र त्यसमाथि डेन्टल सिमेन्ट भरिन्छ। दाँत कीराले खाएको हुँदा तथा आरसिटी गर्दा दाँतका केही भाग इनामेल डेन्टिनमा क्षति पुगेको हुन्छ, त्यसैले दाँत कमजोर भएर जान सक्छ र दाँत भाँचिने सम्भावना प्रबल हुन जान्छ। आरसिटीपछि दाँतमा हालिने क्याप अर्थात् क्राउन दन्तचिकित्सकको सल्लाह अनुसार राख्नुपर्ने हुन सक्छ। कुनै–कुनै समयमा भने दाँत एकदमै नष्ट भएका बेला पिन हालेर क्राउन हाल्नुपर्ने पनि हुन्छ, जसलाई ‘पोस्ट एन्ड कोर’ भन्ने गरिन्छ। तसर्थ, बिरामीलाई तीन–चार पटकसम्म दन्त चिकित्सककहाँ जानुपर्ने हुन्छ। बिरामीलाई समयको अभाव, बेलाबेला अस्पताल आउन नसक्ने अशक्तता लगायत खण्डमा भने दाँतको अवस्था हेरी दन्तचिकित्सको सल्लाह बमोजिम एकपल्टमा पनि यो उपचारलाई सकाउन सकिन्छ।

समय र खर्चिलो हुने भएकाले केही बिरामीले आरसिटी गराउन झन्झटिलो मानेको देखिन्छ। दाँत निकालेर फाल्ने वा औषधि मात्रको सेवनले नै दुखाई कम गर्न अग्रसर हुने गरेको पाइएको छ। औषधि मात्रको सेवन दाँत दुखाई कम गर्ने एउटा विकल्प हुन सक्छ, तर यो अस्थायी समस्याको निराकरण हो, यसलाई स्थायी समाधानको रूपमा लिन सकिन्न।  

दाँत उखेल्दा
दाँत उखेल्नु एउटा सामान्य शल्यक्रिया भए पनि आफैँमा चुनौतीपूर्ण कार्य हो। दाँत उखेलेपछि पनि यसका आफ्नै बेफाइदा छन्। दाँत नभएपछि पहिलो त खान चपाउने समस्या हुन्छ। दाँत नहुँदा त्यहाँका हड्डी कमजोर भई खिइँदै जान्छन्, गिँजा पनि तलतल सर्दै जान्छ, जसले अनुहारको सौन्दर्यतामा पनि यसले केही हदसम्म फरक पार्छ। दाँत नभएको ठाउँमा विपरीत दाँत तथा अगाडि र पछाडिका दाँत त्यस ठाउँमा आउन खोज्छन्, जसले दाँत बांगोटिंगो हुने जस्तो समस्या देखापर्छ। त्यसैगरी अर्को कृत्रिम दाँत हाल्दा समय र खर्च केही हदसम्म आरसिटी उपचारभन्दा बढी नै लाग्ने गर्छ। कृत्रिम दाँत, प्राकृतिक दाँतजस्तो नहुन सक्छ। सकेको खण्डमा, दाँत उखेली कृत्रिम दाँत हाल्नुभन्दा प्राकृतिक दाँत बचाउनु नै उत्तम हुन्छ।

आरसिटीका नकारात्मक पक्षको कुरा गर्दा बिरामीको समय र आर्थिक लागत बढी हुन जान्छ। त्यसैगरी यो उपचार भविष्यमा गएर असफल हुने सम्भावना रहन्छ, त्यस्तो परिस्थितिमा रि–ट्रिटमेन्ट गर्न सकिन्छ। तर दाँतको अवस्था, चिकित्सको दक्षता, सही सामग्रीको छनोटले भने सफलता ९५ प्रतिशत हुने गरेको अध्ययनले देखाउँछ।

रोग लागेर भौँतारिनुभन्दा रोग नै लाग्न नदिनु उत्तम हुन्छ। तसर्थ दाँतमा कीरा लाग्न नदिन फ्लोराइडयुक्त दन्तमञ्जनले दिनहुँ दुईपटक बिहान र बेलुका ब्रस गर्ने, गुलियो कम खाने तथा नियमित रूपमा नेपाल डेन्टल काउन्सिलमा रजिस्टर्ड दन्तचिकित्सकको सल्लाह लिन सकिन्छ। दाँतमा कीरा लागी नसाको इन्फेक्सन हँुदा दाँत निकाली हाल्नुपर्ने मानसिकतालाई आरसिटीले केही हदसम्म परिवर्तन ल्याएको छ। दाँत कीराले खाँदैमा र इन्फेक्सन नसामा पुग्दैमा दाँत निकालिहाल्नुपर्ने हुँदैन, यसलाई आरसिटी गरेर लामो समयसम्म बचाएर राख्न सकिन्छ। तसर्थ आरसिटीलाई दाँतको नसाको एउटा सफल र सुरक्षित उपचारका रूपमा लिन सकिन्छ।

प्रकाशित: ६ भाद्र २०७७ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App