coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रहरी कार्यालयमा थप सावधानी अपनाइँदै

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रहरी कार्यालयमा थप सावधानी अपनाउन थालिएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले मेस र ड्युटी तालिका परिवर्तन गरेको छ। कार्यालयभन्दा बाहिरी क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई एकहप्ता लगातार काममा खटाउने योजना बनाएर काम गर्न मातहतका प्रहरी कार्यालयलाई प्रधान कार्यालयले निर्देशन दिएको छ। योजना अनुसार हरेक प्रहरी कार्यालयले प्रहरी कर्मचारीलाई समूहमा छुट्याउन लागेका छन्। ट्राफिक प्रहरी महाशाखासहित केही कार्यालयले यसो गरिसकेका पनि छन्। हरेक हप्ता एउटा समूहले ‘फिल्ड’को काम गर्ने र उनीहरूलाई केही दिन छुट्टै राखेर परिक्षण गरेपछि मात्रै अरुसँग भेटघाट हुन दिइनेछ। सर्वसाधारणसँग र कोरोना फैलिएको जोखिमपूर्ण क्षेत्रको सुरक्षाका खटिएका प्रहरीलाई अलग्गै राखिएको प्रहरी कार्यालयले जनाएका छन्।

प्रहरी कार्यालयहरूमा सामूहिक रूपमा सञचालन हुँदै आएको मेस पनि अवस्था हेरेर अलग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले समूह छुट्याएर ड्युटीमा खटाइएको बताए। उनका अनुसार विभिन्न समूह बनाएर हरेक हप्ता एउटा समूहलाई ड्युटीमा खटाइएको छ। सर्वसाधारणनजिक रहेर काम गरेका प्रहरीको खानपीन र बस्ने ठाउँ अलग गरिएको छ। केही कार्यालयलाई सावधानीको लागि यो तरिका अपनाउन आग्रह गरिएको छ। कोरोना फैलिएको क्षेत्रका प्रहरी कार्यालयले आवश्यक सुरक्षा अपनाइसकेका छन्। ‘समुदायस्तरमा कोरोना बढेपछि त्यस क्षेत्रमा सुरक्षार्थ खटिने प्रहरी संक्रमित हुने क्रम बढेको छ,’ उनले भने, ‘त्यसका लागि हामीले प्रहरीलाई आवश्यक सुरक्षा सामग्री पुग्नेगरी वितरण गरेका छौं।’ उनका अनुसार ‘फिल्ड’ मा खटिने प्रहरीलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ। कोरोना संक्रमित क्षेत्रको सुरक्षामा खटिएकालाई पिपिइ दिइएको छ। लगाउन झन्झट हुने भएकाले जोखिमपूर्ण क्षेत्रमा मात्रै यसकाो प्रयोग गर्न आग्रह गरिएको प्रवक्ता कडायतले जानकारी दिए। उनले पछिल्लोसमय प्रहरीको सुरक्षा समुदायस्तरबाट पनि कोरोना सुरक्षा सामग्री उपलब्ध भएकाले पनि सहज भइरहेको बताए।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म १ सय ९० जना प्रहरी संक्रमित भएका छन्। जसमध्ये १ सय ९ जना निको भएर काममा फर्किएका छन्। संक्रमित हुनेमध्ये ७५ जना प्रहरी प्रधान कार्यालयकासहित ९३ जना उपत्यकाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेका छन्। उपत्यकाबाहिर गण्डकी र कर्णाली प्रदेशका प्रहरी कार्यालयमा संक्रमण देखिएको छैन भने अन्य प्रदेशमा संक्रमित प्रहरीको संख्या बढेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले कोरोना संक्रमण बढिरहे पनि ट्राफिक व्यवस्थापन पक्ष झन् चुनौतीपूर्ण बनेको बताए। उनले ट्राफिक प्रहरी बढी प्रभावित हुनसक्ने भन्दै ड्युटीमा खटाइएकालाई अलग्गै खाने बस्ने व्यवस्था गरिएको बताए। उनले भने, ‘अहिले ट्राफिक महाशाखाका सबै शाखालाई अलग्गै गरिएको छ, तर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा कुनै कमी आउन दिन्नौं।’ ट्राफिक कारबाही गर्दा कोरोना सर्ने डर देखिएकाले पञ्जा, मास्क, स्यानिटाइजर र पिपिइ प्रयोग भएको उनको भनाइ छ।

सिंहदबार प्रवेशमा कडाइ गरिएको छ। कर्मचारीबाहेकका व्यक्तिलाई सिंहदरबार सहजै प्रवेश नदिन प्रहरीलाई निर्देशन दिइएको छ। गृह मन्त्रालयले गेट प्रवेश गर्दा कोरोना सुरक्षा र शंकास्पद व्यक्तिलाई रोक्न प्रहरीलाई निर्देशन दिइएको हो। सिंहदरबारभित्रका सबै कार्यालयलाई अत्यावश्यक कामबाहेक पास वितरण नगर्न गृहले पत्राचार गरेको छ। सञ्चारकर्मीले पनि भेट्ने कार्यालय र व्यक्ति खुलाएपछि मात्रै प्रवेश पाउने गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७७ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App