४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा १० जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का १० जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार प्रदेशको मोरङ, सुनसरी, झापा, खोटाङ र तेह्रथुममा गरी ३ महिला र ७ पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।  

कोरोना भाइरस समुदायमा फैलिएको प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायत विभिन्न स्वास्थ्यकर्मीहरूले बताउन थालेका छन् । कोरोना भाइरस समुदायमा फैलिन थालेको भन्दै विराटनगर महानगरपालिाका प्रमुखले नगरवासीलाई सजग र सतर्कतापूर्ण तरिकामा रहन आवहान गरेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यसलाई ध्यान दिँदै आइतबार ‘कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर’को बैठक राखेका छन् । 

बैठकले कोभिड संक्रमणकै विषयमा केन्द्रित रहने छ । लकडाउन खुलेसँगै महानगरमा संक्रमितको संख्या बढ्दै गएपछि बैठक राखेको पराजुलीले बताए । पराजुलीले भने, ‘यस विषयमा हाम्रो स्वास्थ्य महाशाखा र अन्य कर्मचारीको पूरै टिमले रातदिन काम गरिरहेको र समुदायमा फैलन नदिन कसरी रोकथाम गर्ने बैठकमा कुरा हुनेछ ।’  

केही दिन अघि विराटनगर–६ मा संक्रमित देखिएका व्यक्तिकै घरका दुई जना महिलामा संक्रमण देखिएको हो । दुवै महिलाको उमेर ९२ र ४५ रहेको र सोही परिवारको संख्या ३ पुगेको महानगरपालिकाले जनाएको छ । करिब ४ दिनअघि धरानबाट आएका एक चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ । उनी सप्तरी निवासी भएको महानगरले जनाएको छ ।  

सुनसरीको इनरुवामा २ जना पुरुष, मोरङको विराटनगरमा २ महिला र १ पुरुष तथा पथरीशनिश्चरे नगरपालिकामा २ जना पुरुष, झापाको मेचीनगर नगरपालिकामा १ महिला, खोटाङको दिक्तेलमा १ पुरुष र तेह्रथुमको म्याङलुङमा १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा ८ सय ९१ जनमा संक्रमित भइसकेका छन् भने ७ सय ३५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।  

प्रदेश १ मा शनिबार ४ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको छ । ३९ हजार १ सय १२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १० श्रावण २०७७ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App