८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

एक हजार १२९ स्थानीयको स्वास्थ्य जाँच

आफ्नो गतिविधिका बारेमा जानकारी दिँदै पत्रकार सम्मेलनमा युवा जागरण कोरोना नियन्त्रण अभियानमा आबद्ध युवा । तस्बिर : दमन/नागरिक

कोभिड–१९ को महामारीकाक्रममा खोटाङमा युवा जागरण कोरोना नियन्त्रण अभियानले एक हजार जनाभन्दा बढि स्थानीयको निःशुल्क स्वास्थ्य जाँच गराएको छ । 

कोरोना महामारी सुरु भएसँगै एक जना स्वास्थ्यकर्मीसहित चार युवाको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोर्पाचिउरीडाँडा, जालपा, निर्मलीडाँडा, पाथेका, बुईपा, बुवालुङ, बाम्राङ, हुर्लुङ मुढे, खार्मी, नुनथला, खाल्ले र महुरेमा सञ्चालन गरेको स्वास्थ्य अभियानकाक्रममा शिबिर सञ्चालन गरेर एक हजार १२९ जना स्थानीयको स्वास्थ्य जाँच गरेको हो । निःशुल्क स्वास्थ्य जाँचकाक्रममा स्थानीयलाई पाँच लाख ५० हजार बराबरको औषधि वितरण गरिएको युवा जागरण कोरोना नियन्त्रण अभियानका व्यवस्थापक राजु आचार्यले जानकारी दिए ।

युवा जागरण कोरोना नियन्त्रण अभियानले व्यक्ति तथा संस्थाबाट सहयोग उठाएर कोरोनाविरुद्धको सचेतनामुलक अभियान चलाएको जनाएको छ । ५२ जना व्यक्ति र पाँच संस्थाबाट प्राप्त भएको ९ लाख ८१ हजार रकमबाट १० हजार थान मास्क, ३० थान एन नाइन्टीफाईभ मास्क, सय एमएलको २८७ वटा ह्याण्ड सेनिटाइजर, पाँच सय एमएलको ५३ वटा ह्याण्ड सेनिटाइजर वितरण गरिएको व्यवस्थापक आचार्यले जानकारी दिए ।  

यस्तै, २ थान थर्मल गन, १ हजार १९३ वटा सावुन, सय थान सर्जिकल पञ्जा, एक हजार २२३ थान टप्स ग्लोव्स, १२ थान हेयर क्याप र २७ काटन प्रशोधिन पानी वितरण गरिएको जनाइएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्‍याउने लक्ष्यका साथ युवा जागरण कोरोना नियन्त्रण अभियानले गत जेठ ११ गतेदेखि नगरपालिकामा सचेतनामुलक गतिविधि सञ्चालन सुरु गरेको जनाएको छ ।  

युवा जागरण कोरोना नियन्त्रण अभियानले सोमबार दिक्तेलको होटल भिलेजमा पत्रकार सम्मेलन गरेर लकडाउनको मारमा परेका स्थानीयलाई एक हजार चार सय केजी चामल, पाँच सय केजी दाल र २४ कार्टुन चाउचाउ प्रदान गरेको जानकारी दिएको छ । अभियानकाक्रममा कुल ११ लाख ९४ हजाहर ९४७ रुपैयाँ खर्च भएकामा अझै ३ लाख ४० हजार रकम अपुग भएको अभियानका संयोजक कविराज रिजालले बताए । उनीहरुले सामान्य स्वास्थ्य जाँचका साथै विदेशबाट आएका स्थानीयलाई क्वारेन्टिनमा पुर्‍याउन समेत सहयोग गरेको जानकारी दिएको छ । आगामी दिनमा पनि अन्य सचेतनामुलक गतिविधि सञ्चालन गर्ने रिजालले जानकारी दिए ।  

युवा जागरण कोरोना नियन्त्रण अभियानमा आबद्ध रिजाल, आचार्य, डा. जनार्दन खकुरेल, पेम्बा तामाङ र सुरेस दाहालले जेठ १२ गतेदेखि सुरु गरेको अभियान साउन ४ गते टुंग्याइएको जानकारी दिइएको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App