८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘निको भएका संक्रमितको प्रतिरक्षा प्रणाली केही महिनामै हराउन सक्छ’

क्याप्शन

प्याट्रिक ग्याले (एएफपी)

कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिले केही महिनामै रोगविरुद्धको प्रतिरक्षा प्रणाली गुमाउनसक्ने सोमबार सार्वजनिक गरिएको एक अध्ययनले देखाएकोछ। अध्ययनको निचोडलेविभिन्न सरकारले महामारीको व्यवस्थापन गर्ने तौरतरिकामा महत्वपूर्ण प्रभाव पार्ने विज्ञहरूले बताएकाछन्।

लन्डनको किङ्स कलेजका अनुसन्धानकर्ताको नेतृत्वमा भएको उक्त अध्ययनअन्तर्गत ९० जना भाइरस संक्रमितमा प्रतिरोध क्षमताको मात्रा र समयसँगै उनीहरूमा आएका परिवर्तनको परीक्षण गरिएको थियो।

अध्ययनका क्रममा गरिएको रक्त परीक्षणले कोभिड–१९का मध्यम तहका लक्षण भएका बिरामीले पनि केही मात्रामा प्रतिरक्षात्मक प्रतिक्रिया देखाएकाछन्। अध्ययनले समेटेका बिरामीमध्ये ६० प्रतिशतले संक्रमण सुरु भएको केही सातामै भाइरसप्रति ‘सुदृढ प्रतिक्रिया’ देखाएका थिए। तर तीन महिनापछि यो घटेर १६ दशमलव ७ प्रतिशतमा झरेको थियो।  

यसैगरी, ९० दिनपछि कतिपय बिरामीको रगतमा प्रतिरोध क्षमताको उपस्थितिसमेत देखिएको थिएन। मानिसको शरीरले भाइरस जस्ता बाह्य खतराको सामना गर्न आफ्ना कोसिकाको परिचालन गर्छ र त्यस्ता खतरा समाप्त पार्छ। यसो गर्दा शरीरले प्रोटिनको उत्पादन गर्छ र यस्लाई प्रतिरोध क्षमताभनिन्छ। ताला खोल्न चाबीको विशेष बनाबटभएझंै यी एन्टिबडी (प्रतिरोध क्षमता) खास शत्रु अर्थात् ‘एन्टिजेन’ विरुद्ध लड्न बनेकाहुन्छन्।जबसम्म मानिसमा यथेष्ट एन्टिबोडी हुन्छ, त्यतिबेलासम्म नयाँ संक्रमणको सम्भावना निस्तेज हुन्छ र प्रतिरक्षा प्रणाली सुदृढ रहन्छ।

तर सोमबार सार्वजनिक भएको अध्ययन प्रतिवेदनले प्रतिरक्षा प्रणालीलाई ‘यत्तिकै’ सजिलो हिसाबले बुझ्न नहुने र यो केही महिनामा आफंै हराउनसक्ने देखाएकोछ। भाइरसका कारण हुने इन्फ्लुयन्जामा पनि यस्तै प्रभाव हुन्छ।  

विज्ञहरूको नयाँ अध्ययनले महामारीको अर्काे चरणको सामना गर्न कसरी  योजना बनाउने भन्ने विषयमा सम्बन्धित सरकारलाई सहयोग गर्ने बताएकाछन्।

‘यो अध्ययनले प्रतिरोध क्षमताको दीर्घकालीन प्रभावलाई परिभाषित गरेकोछ र यसले भाइरस नियन्त्रणका लागि प्रभावकारी भ्याक्सिन बनाउँदा कस्तो खाले प्रतिरक्षा प्रणाली बनाउने भन्नेमा थप सहयोग पु¥याउनेछ,’बेलायतको वारविक विश्वविद्यालयका प्राध्यापक लरेन्स योङले बताए।  

यसैगरी, वारविक मेडिकल स्कुलका क्लिनिकल लेक्चरर जेम्स गिल यो अध्ययनले भाइरस संक्रमण रोकथाममा सबैले ध्यान दिनुपर्ने देखाएको तथा युरोपमा बिदाको मौसमसुरु हुन लागेकाले यो विषय झन् महत्वपूर्ण रहेको बताए।  

‘जसरी यी बिरामीले कोभिड–१९ विरुद्ध प्रतिरोध क्षमताको विकास हुँदा दंग थिए, हामी के कुरामा अचम्मित हुनुहुन्न भने यो सुरक्षात्मक लाभ मध्यमस्तरको अथवा क्षणिक हुनसक्छ,’ जेम्स गिल भन्छन्।  

‘तपाईं चिट्ठा खेल्दा १० पाउन्ड जित्नुभयो भने भाग्य छ भनेर आफ्नो जीवनभरको बचत खर्च गरेर थप टिकट किन्न लालायित हुनुहुन्न,’ उनी थप्छन्, ‘यसैगरी एन्टिबडी परीक्षण पोजेटिभ देखिएकाले पनि सामाजिक दूरी, मास्कको प्रयोग र सावधानीका अन्य उपाय अवलम्बन गर्न जरुरी हुन्छ।’

प्रकाशित: ३० असार २०७७ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App