२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कैलालीका स्थानीय तहले बनाए ‘आइसोलेसन कक्ष’

कैलालीका स्थानीय तहहरुले कोरोना सङ्क्रमितको स्थानीय तहमा नै उपचार गर्न  आइसोलेसन निर्माण गरेका छन्। घोडाघोडी, टीकापुर, गौरीगङ्गा र लम्किचुहा नगरपालिकाले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशन अनुसार आइसोलेसन निर्माण गरिसकेका छन्।

घोडाघोडी नगरपालिकाले स्थानीय घोडाघोडी क्याम्पसमा २० श्ययाको आइसोलेसन वार्ड बनाएको छ।  एकजनामा कोरोना पुष्टि भइसकेको र ७० जनामा आरडिटी पोजेटिभ देखिएपछि सम्भावित जोखिमलाई ध्यानमा दिँदै  आइसोलेशन निर्माण गरिएको नगरप्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए।  

टीकापुर अस्पतालमा १२ श्यया छन्। अस्पतालमा रहेका श्यया अपुग हुने स्थिति देखिएपछि टीकापुर नगरपालिकाले नजीकैका केही  स्थानीय तहको समन्वयमा  पुरानो सिटी हललार्ई ५० श्ययाको आइसोलेशन कक्ष बनाएको छ। स्थितिको आँकलन गरेर आइसोलेसन थपिएको र ५० श्ययाले पनि नपुगे थप व्यवस्थापन गरिने नगरप्रमुख तपेन्द्र रावलले बताए।  

 गौरीगङ्गा नगरपालिकाले  ५० श्ययाको आइसोलेशन वार्ड निर्माण गरेको छ। चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना चिकित्सकसहितको सेवा रहेकाले नगरपालिकाले अक्सिजन र नेबुलाइजर सेवासहितको आइसोलेशन वार्ड बनाएको उपप्रमुख अन्चला चौधरीले जानकारी दिए। उनका अनुसार केही समयअघि नगरपालिकामा देखिएका सङ्क्रमितलाई सेती प्रादेशिक अस्पतालले ठाउँ नभएको भन्दै फर्काएकाले  आइसोलेशन निर्माण गरिएको हो।  

 स्थानीयस्तरमा सञ्चालित होटेल मुनवुन भिल्लालाई लम्की चुहा नगरपालिकाले  २५ श्ययाको आइसोलेशन बनाएको छ। आफ्नो नगरपालिकामा कोरोनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै तथा थप जोखिम बढ्न नदिनका लागि नगरपालिकाले आइसोलेशन  स्थापना गरिएको नगरप्रमुख महादेव बजगाईं जानकारी दिए। नगरपालिकामा भित्रनेहरूको क्रम अझै जारी भएकाले पनि जोखिम कायमै रहेको उनले बताए।  

सुदूरपश्चिममा कोरोना परीक्षण र व्यवस्थापनको नयाँ मापदण्ड स्वास्थ्य निर्देशनालयले तोकेपछि स्थानीय तहहरू आइसोलेशन निर्माणमा जुटेका हुन्। कोरोनाको सङ्क्रमण देखिएकाहरूलाई अहिले स्थानीय तहले बनाएका आइसोलेशनमा राखेर उपचार गरिँदै आएको छ।  

प्रकाशित: ३ असार २०७७ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App