coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

होटलमा क्वारेन्टिन बस्दा टोलबासीको अवरोध

होटलका संचालकलाई दवाव

पोखरा लेकसाइडका होटल। फाइल तस्बिरः सन्तोष/नागरिक

जेठ १५ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पहिलोपटक एकजना कोरोना संक्रमित महिलालाई भर्ना गरियो। स्याङजाबाट ल्याइएकी ती महिलालाई आइसोलेसनमा राखेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई भने होटलमा  पठाउन थालियो। किनकी आइसोलेनसमा खटिएका स्वास्थ्यकर्मीलाई होटलमा बसोबासको व्यवस्था सरकारले गरेको छ।  

पहिलो चरणमा १२ जना स्वास्थ्यकर्मी आईसोलेसनमा खटिएका थिए। पहिलो बिरामी भर्ना भएपछि ती स्वास्थ्यकर्मीलाई होटलमै बसेर अस्पताल आउजाउ गर्ने गरी व्यवस्था मिलाइएको थियो। ड्युटी समय अनुसार अस्पतालको सवारीले स्वास्थ्यकर्मीलाई पालैपालो अस्पताल ल्याउने र लैजाने गरेको थियो। अस्पतालले त स्वास्थ्यकर्मीलाई बसोबास व्यवस्था गरिदियो, तर, होटल आसपासका छिमेकीले भने ती स्वास्थ्यकर्मीलाई बस्न नदिन होटलका संचालकलाई दवाव दिन थाले।  

कोरोनाका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई टोलमा बस्न नदिने भन्दै स्थानीयले विरोध गरे। स्वास्थ्यकर्मीको आउजाउले टोलमा संक्रमण फैलने भन्दै स्थानीयले बिरोध गरेपछि दुईदिन बसेर ती स्वास्थ्यकर्मी अर्कै होटलमा बसाई सरे। दोश्रोपटक बसाई सरेको होटल आसपासका छिमेकीले पनि विरोध त गर्न थालेका थिए। तर संचालकले सचेतना अपनाएर स्वास्थ्यकर्मीलाई राख्ने बाचा गरेपछि अवरोध भएन।  

कोरोनाका संक्रमितको उपचारमा खटिएको भन्दै स्वास्थ्यकर्मीलाई होटलमा समेत बास बस्न नदिँदा यहाँको क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तनावमा छन्। कोरोनाका बिरामीको उपचारमा खटिँदैमा समाजले आफुहरुलाइ पनि संक्रमितलाई जस्तै नकारात्मक दृष्टिकोेणले हेर्न थालिएको स्वास्थ्यकर्मीको गुनासो छ। कोरोनाका संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा त्यसको चेपुवाँमा आफुहरु पनि परेको उनीहरुले बताए। घरपरिवारबाट मात्र नभई टोल, छिमेकमा समेत आफुहरुमाथि नकारात्मक दृष्टि लगाउन थालेको उनीहरुको भनाई छ।

स्वास्थ्य कर्मचारीलाई राख्दैमा आफुमाथि टोल छिमेकको दवाव आएको होटल संचालकको गुनासो छ। ‘हामीलाई नसोधी किन अस्पतालका कर्मचारी राखेको भनेर टोलबासिले विरोध गरे,’ स्वास्थ्यकर्मीको पहिलो टिमलाई राखेको होटलका संचालकले भने, ‘उनीहरु कोरोनाका संक्रमित भएमा टोलभरी संक्रमण फैलिन्छ। त्यसैले राख्न पाइदैन भनेर विरोध जनाए।’ टोल छिमेकीलाई सोध्दै नसोधी कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई राखेको भनेर हटाउनका लागि आफुलाई दवाव दिएको उनले बताए। ‘पालो गरेर बस्नेगरि कर्मचारी आएका थिए। ती स्वास्थ्यकर्मीलाई राख्दा हामीलाई पनि आर्थिक रुपमा राहत मिल्ने थियो,’ होटल संचालकले भने, ‘तर छिमेकीको विरोध खेप्न नसकेपछि कर्मचारी नै होटल छाडेर हिडे।’  

कोरोनाका उपचारमा खटिएका कर्मचारी भएपनि उनीहरु संक्रमित थिएनन। तर, बस्न र आउजाउमै अवरोध आउने डरले कर्मचारी नै बस्न नमानेको उनले बताए। ‘होटलभित्रै बस्ने कर्मचारीले के नै कोरोना सार्थे र बेकारमा दवाव दिइयो,’ उनले भने, ‘समाजको डरले पनि कोरोनाका बिरामीको मनोवल घट्न सक्छ। स्वास्थ्यकर्मीलाई पनि मनोवल घटाउने गरि समाजले व्यवहार गर्नु राम्रो होईन।’  

पहिलो होटल छाडेर दोश्रो होटलमा सरेपछि पनि स्थानीयले विरोध गरेका थिए। तर, संचालकले होटल बाहिर निस्कन नदिने बाचा बाँधेपछि स्थानीयले विरोध गर्न छाडेका थिए। ‘होटलमै बस्न पाइदैन भनेर विरोध गर्नु राम्रो होईन। कोरोना लागेका व्यक्ति होटलमा बस्ने होईनन, उपचारमा  त खटिनै प¥यो,’ हाल स्वास्थ्यकर्मी बसिरहेका होटलका संचालकले भने, ‘हाम्रा बुबा आमा वृद्धवृद्धा  हुनुहुन्छ। स्वास्थ्यकर्मी टोलमा आउजाउ गर्दा संक्रमण फैलिन्छ भनेर विरोध जनाएका थिए। तर, मैले छिमेकीलाई आस्वस्त पारेपछि भने अवरोध भएन।’

कोरोना लाग्दैमा जो कोही र संक्रमितको उपचारमा खटिँदैमा स्वास्थ्यकर्मीलाई नकारात्मक दृष्टिले हेर्ने समाजबाट नै त्रास रहेको उनले बताए। ‘जबसम्म समाजको नकारात्मक दृष्टिकोण परिवर्तन हुन्न तवसम्म त्रास हुन्छ,’ उनले भने। अहिले होटलमा प्रयोगशालाका ६ सहित आइसोलेसनमा खटिएका गरि करिब ३० जना स्वास्थ्यकर्मी बसिरहका छन्। अब अरु पनि स्वास्थ्यकर्मी थपिएमा उनीहरुलाई व्यवस्थित गर्न चुनौती रहेको ती संचालकले बताए। ‘जहाँ पायो त्यहाँ बस्न नदिने त्रास छ। रोगको भन्दा पनि समाजको डर छ,’ उनले भने, ‘कोरोनाप्रतिको नकारात्मक दृष्टिकोणले समाजमा झनै अप्ठेरो पारेको छ।’  

होटलमा बस्न नदिएको र आफुहरुलाई समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको भन्दै आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीको गुनासो छ। ‘दुईदिनसम्म बसेको होटल छाडेर अन्यत्र सर्नुपर्ने बाध्यता टोल छिमेकीले ल्याइदिएपछि स्वास्थ्यकर्मीको मनोवल उच्च हुनै सक्दैन,’ एकजना स्वास्थ्यकर्मीले भनिन, ‘छरछिमेकीले राख्नै पाइदैन भनेर होटल संचालकलाई दवाव दिएपछि स्वास्थ्यकर्मी नै अन्यत्र सर्न बाध्य भए।’ पोखरामा कोरोनाका पहिलो बिरामी भर्ना भएपछि आइसोलेसनमा खटिएको १२ जना स्वास्थ्यकर्मीको टिम होटलबाटै बिस्थापित भएर अन्यत्र सर्नुपरेको ती स्थास्थ्यकर्मीले बताइन्।  

‘आइसोलेसनमा खटिएको भन्नसाथ परिवारबाट पनि अपशब्द सुन्नुपरेको छ। ज्वरो क्लिनिकमा बसेका कर्मचारीलाई समेत घर फर्केर नआउ समेत भनियो। होटलमा बस्न जाँदा छाड्न लगाइयो,’ ती स्वास्थ्यकर्मीले भनिन, ‘बिरामीको सम्पर्कमा आउँदैमा सबैलाई कोरोना लाग्ने पनि होईन। तर, समाजको डरत्रास भयो।’ ती स्वास्थ्यकर्मीका अनुसार एउटा टिमले १४ दिनसम्म आइसोलेसनमा पालो अनुसार ड्यूटि गर्छन। त्यो अवधिमा होटलबाट अस्पतालसम्म आउजाउ गर्छन्। १४ दिनपछि दोश्रो टिम उपचारमा खटिन्छ भने पहिलो टिम थप १४ दिन क्वारेन्टिन बस्छ। ड्यूटी आवरको पहिलो १४ र क्वारेन्टिनको थप १४ गरि २८ दिन बिताएपछि मात्र ती स्वास्थ्यकर्मीले एकसाताका लागि घर फर्किन पाउँछन्। एकसाताको त्यो अवधिमा पनि आवश्यक पर्दा बोलाउन सकिन्छ भनेर सर्त हुने गरेको छ।  

‘होटलमा बस्दा पनि सुख छैन। बाहिर हिड्न समाजको अवरोध, भित्र बस्दा थप तनाव,’ ती स्वास्यकर्मीले भनिन, ‘न त परिपार, न बाहिरको हिडडुल। यस्तो अवस्थाले स्वास्थ्यकर्मीमा पीडा थपिन्छ।’ अहिले पहिलो टिम होटलमा क्वारेन्टिनमा बसेको छ भने दोश्रो टिम उपचारमा संलग्न भएर होटल आउजाउ गरिरहेको छ। त्यसबाहेक प्रयोगशालाका कर्मचारी समेत होटलमा छन्। सबैगरि ३० जना स्वास्थ्यकर्मी होटलमा छन्। ‘होटल संचालकले पनि रिस्क लिएर सेवा गरेका छन्। यहाँ सेवा भन्दा पनि छिमेकीको त्रास छ। पसलमा केही सामान किन्न पनि दिँदैनन,’ उनले भनिन्।  

क्षेत्रीय अस्पतालकी आइसोलेसन इन्चार्ज विजया कोइराला कोरोनाका बिरामीको उपचार गरेको भन्दैमा स्वास्थ्यकर्मीमाथि परिवार, छिमेकी र टोलबासीले गलत नजरले हेर्ने गरेको बताइन्। ‘केही साथीहरुले होटलमा बस्दा समेत सुख पाएनन्। महिला स्वास्थ्यकर्मीका पीडा भनि साध्य छैन,’ उनले भनिन, ‘कोरोनाबाट भन्दा पनि हामीलाई टोलछिमेकबाट त्रास छ।’

क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जनु आचार्यले पनि एउटा होटलमा विरोध आएपछि स्वास्थ्यकर्मीलाई दोश्रोमा सार्नुपरेको बताए। ‘समाजले पनि कोरोनालाई गलत तरिकाले बुझेको छ। यतिसम्मकी होटलमा बसिरहेका स्वास्थ्यकर्मीलाई अन्यत्र सार्नुपरेको छ,’ आचार्यले भने, ‘पहिलो पटक बसेको होटलमा टोल छिमेकको अवरोध आयो। त्यसपछि दोश्रो सा¥यो। दोश्रोमा पनि विरोध भएको हो। तर, संचालकले बुझाएपछि टोलवासीले बस्न दिए।’ कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई गरेको व्यवहारले अप्ठेरो पारेको उनले बताए। ‘महानगरबासिले सहजै नबुझ्ने हो भने अवस्था जटिल हुनसक्छ,’ आचार्यले भने, ‘स्वास्थ्यकर्मीलाई माया गर्नुपर्नेमा नकारात्मक दृष्टिले हेरियो। कोरोना संक्रमितलाई पनि सकारात्मक रुपमा हेर्नुपर्छ।’  

पोखरा महानगर–६ का अध्यक्ष जगत पहारीले प्रयाप्त कम्पाउन्ड र सुरक्षा नभएको होटलमा स्वास्थ्यकर्मी बस्दा टोलबासिले विरोध जनाएको बताए। ‘प्रयाप्त कम्पाउन्ड र सुरक्षामा बस्दा आपत्ति होईन। तर, मापदण्ड नै नभएका होटलमा बस्नु हुँदैन,’ उनले भने, ‘सर्वसाधारणले पनि राम्रोसँग नबुझेका हुन्। चिकित्सक टिम बसेको भनेर होटलले पनि जानकारी दिनुपर्छ। तर, एकाएक गाडिमा मान्छे आउजाउ गर्दा सर्वसाधारण त्रसित हुनु स्वभाविक हो।’ चिकित्सक बसेको भन्ने जानकारी नपाएको तर,  

गाडि चढेर एकाएक मान्छे आउजाउ गरेको थाहा पाएपछि होटल आसपासका टोलबासिले आफुलाई खबर गरेको उनले बताए। ‘चिकित्सक हुन भनेर जानकारी नहुँदा शंका गर्नु स्वभाविक हो। समाजलाई चिर्न गाह्रो छ,’ उनले भने, पब्लिकको विरोध सहन सकिन्न। समाज पनि सुरक्षित हुनुपर्छ।’ 

प्रकाशित: ३२ जेष्ठ २०७७ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App