६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सिँजामा पनि ‘मेडिकल मार्च’

जुम्लाको सिँजा गाउँपालिकाले गाउँपालिका भित्रै मेडिकल मार्च शुरु गरेको छ । कोराना भाइरसको त्रास बढिरहेको बेला सिँजा गाउँपालिकाले विशेषज्ञ चिकित्सक लिएर ‘मेडिकल मार्च’ शुरु गरेको हो । सिँजा–३ नराकोट स्वास्थ्यचौकीबाट शुरु भएको ‘मेडिकल मार्च’ एक महिना सम्म सञ्चालन हुनेछ ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. शम्भु यादव र डा. विशाल पोखरेल खटिएका हुन् ।    नराकोट स्वास्थ्य चौकीमा प्रमुख जगतजङ जिसीका अनुसार चिकित्सकबाट स्वास्थ्य चेकजाँचको काम शुरु भइसकेको छ । कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक सिंजा गाउँपालिकाभित्र विशेषज्ञ सेवा सहितको ‘मेडिकल मार्च’ शुरु भएको उनले जानकारी दिए ।  

कोरोना रोकथाम तथा नियन्त्रण गर्नको प्रदेश सरकारले कर्णाली प्रतिष्ठान संग समन्वय गरेर सिँजामा चिकित्सक टोली पठाएको हो । कोरोना संक्रमण रोक्नका लागि स्थानीय स्तरमा जनचेतना फैलाउन नागरिकहरूलाई स्वास्थ्य सेवा दिनका लागि एक महिने अभियान चलेको हो ।  

यो अवधिमा स्थानीयले चिकित्सकीय सेवा पाउनेछन् । कोरोनाबारे सचेतना उपलब्ध हुनेछ  । स्वास्थ्यकर्मी जगतजङ भन्छन्,‘ग्रामिणस्तरका नागरिकहरूलाई घर आँगनमै विशेषज्ञ स्वास्थ्य सेवा दिनुका साथै कोरोनाबिरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेश सरकारले तोकेको स्थानमा खटिएका चिकित्सकको टोलीले स्थानीय तह र जिल्ला स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गरेर काम गर्ने छ  । यो टिमले शंकास्पद व्यक्तिहरूको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट कोरोना परीक्षण पनि गर्ने नराकोट स्वास्थ्य चौकीमा प्रमुख जिसी बताउँछन् ।

 चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने औषधि र कोरोना परीक्षण किटको व्यवस्थापन सम्बन्धित स्थानीय तह र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय व्यवस्थापन गरेको छ । गाउँपालिका स्थित स्वास्थ्यकर्मी संगको समन्वयमा यो अवधिमा गाउँपालिका भर स्वास्थ्यका क्रियाकलाप हुने सिँजा गाउँपालिकाले जनाएको छ ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षण अस्पताल जुम्लाका डा. मंगल रावल दुइ जना चिकित्सक खटिएको बताउँछन् । उनले टोलीले कोरानाका बारेमा जनचेतना दिने र आरडिटी परिक्षण गर्ने बताए । गाउँमै ‘मेडिकल मार्च’ सञ्चालन गरेर आँगनमै चिकित्सकको टोली पुग्दा स्थानीय उत्साहित छन् ।

कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटै जिल्लामा ‘मेडिकल मार्च’सञ्चालन गरेकोमा सिँजा गाउँपालिकाले पनि आफ्नो अनुकुलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकार संग समन्वय गरेर ‘मेडिकल मार्च’ सञ्चालन गरेको हो ।  

प्रदेश सरकारले हुम्लाका पाँच,कालिकोटका चार,डोल्पा,सल्यान र मुगुका तीन–तीन,सुर्खेत,दैलेख, रुकुम (पश्चिम) र जाजरकोटका दुई दुई र जुम्लाको एक स्थानमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटाएको हो । कर्णालीका पाँच जिल्लाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट र चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली खटाइएको छ । टोलीले कोरोना परीक्षणका साथै सम्बन्धित क्षेत्रका नागरिकहरूलाई अन्य चिकित्सकीय सेवा पनि उपलब्ध गराउनेछ । कर्णालीका ७९ स्थानीय तहलाई पायक पर्ने गरेर तोकिएका २७ स्थानबाट ‘मेडिकल मार्च’सञ्चालन भएको हो  ।  

सिँजा गाउँपालिका अध्यक्ष देवल रावल मेडिकल मार्चका बीच सबै स्वास्थ्य सेवा प्रदान हुने बताउँछन् । गाउँपालिका भित्रका स्वास्थ्यकर्मी गाउँगाँउमा परिचालन हुनेछन्,उनले भने,‘ कर्णाली प्रतिष्ठानबाट गएको चिकित्सकको टोली नराकोट स्वास्थ्यचौकीमा रहेर काम गर्नेछ । ’ कोराना रोकथाम बारेमा सचेतना प्रदान गर्ने र कोराना परिक्षणका लागि स्वाब संकलन गर्नुका साथै आरडीटी परिक्षण समेत गरिनेछ ।  

प्रकाशित: १ जेष्ठ २०७७ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App