७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भीममा कोरोना उपचार सुरु, चार संक्रमित भर्ना (अपडेट)

भैरहवा - रुपन्देहीमा संक्रमितको संख्या बढ्दै गएपछि भैरहवा स्थित भिम अस्पतालमा पनि कोरोनाको उपचार सुरुवात भएको छ।  मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका लुम्विनीका ९ जना मध्ये ४ जनालाई भिम कोभिड–१९ आइशोलेशन अस्पतालमा ल्याएर उपचारको सूरुवात भएको हो। प्रदेश सरकारले बुटवल धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पताल भरिएपछि नपुग लुम्बिनीका ४ जना संक्रमितलाई मंगलबार राती नै भीम अस्पतालमा भर्ना गरी उपचार अघि बढाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। भारतबाट नेपाल लुकिछिपी आएका उपचारत सबै विरामीको अवस्था सामान्य छ।

अस्पतालमा कोरोना उपचार सुरु भए सँगै अन्य सबै स्वास्थय सेवा स्थगन गरिएको छ। अस्पतालमा रहेका अन्य सामान्य विरामीहरुलाई मंगलबार दिउसै डिस्चार्ज गरिएको छ। २ जना जनरल वार्ड र ७ जना प्रसुती वार्डमा रहेका विरामीलाई छुट्टै राखेर उपचार भइरहे पनि बुधबार ती विरामीलाई पनि रानी गाँउ स्थित युनिभर्सल मेडिकल कलेज स्थानान्तरण गरिने अस्पतालका सूचना अधिकारी उपाध्यायले नागरिक न्यूजलाई बताए। अस्पतालले प्रदान गर्दै आएको सबै सेवा बन्द भए पनि अबको २–३ दिनमै प्रसुती सेवालाइ नयाँ भवनमा व्यवस्थापन गरी सेवा निरन्तर दिने अस्पताल प्रशासनले जनाएको छ। भेन्टिलेटर सहित ३५ बेडको कोरोना अस्पतालमा ३ वटा भेन्टिलेटर सहित ५ वटा आइसियू कक्ष रहेको  छ।

 अस्पताल सञ्चालनका लागि जसो तसो जनशक्ति व्यवस्थापन गरेपनि युनिभर्सल मेडिकल कलेजसँग मन्त्रालयले गरेको सम्झौता अनुरुपका जनशक्ति हाल सम्म सबै उपलब्ध छैनन। एनेश्थेसियाका जनशक्ति हाल सम्म मेडिकलले उपलब्ध नगराउदा आइसियु भेन्टिलेटर चलाउन नसकिएको अस्पतालले जनाएको छ। अस्पतालले पटक पटक पत्र लेखेपनि केही रेस्पोन्स आएको छैन।  प्रदेश सरकारको मन्त्रीपरिषदको चैत्र ७ गतेको निर्णय अनुसार अस्पताललाई कोभिड–१९ समर्पित अस्पतालको रुपमा विकसित गर्न भीम सहित रुपन्देहीमा ३, बाँकेमा २  र दाङमा एक अस्पताल बनाउने निर्णय भएको थियो।

प्रकाशित: ३१ वैशाख २०७७ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App