२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना जितेर घर फर्किएकाहरू भन्छन्– ‘आत्मबल दह्रो गर्‍यौं’, विरामी भएको महशुस भएन’

उदयपुर – कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि कोसी विशेष कोरोना अस्पताल विराटनगरमा उपचारपछि डिस्चार्ज भएका त्रियुगा नगरपालिका– ३ भुल्केका ४ युवा घर फर्केका छन्। वैशाख पहिलो साता संक्रमित पुष्टि भएपछि आईसोलेसनमा उपचाररत उनीहरुलाई शुक्रबारै डिस्चार्ज गरिए पनि घर आउन नदिएर मोरङको रानी क्वारेन्टाईनमा राखिका थिए।

कोरोनालाई परास्त गरी जिल्ला फर्कन पाएकोमा खुसी देखिएका उनीहरुलाई नगरपालिकाको त्रियुगा जनता बहुमुखी क्याम्पसस्थित क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको छ। सुरुदेखि कुनै लक्षण देखा नपरे पनि संक्रमण पुष्टि भएपछि आईसोलेसनमा बसेर डिस्चार्ज भए पनि गृहजिल्ला फर्कन नदिएकोमा भने उनीहरुले चित्त दुखाएका छन्। १८ दिनसम्मको अस्पताल बसाईले कोरोनालाई जितेर डिस्चार्ज भए पनि घर आउँन नदिएपछि जिद्धि गरेर ३ दिनपछि बल्ल घर फर्कन पाएको ४१ वर्षीय मुख्तार मियाले बताए। 

विगत ५ वर्षदेखि सुगर (मधुमेह) का रोगी रहेका मुख्तारले अस्पताल बसिन्जेल रोग लागेको महसुसै नगरेको बताए। अस्प्ताल बस्दा पहिलेजस्तै सुगरको औषधि नियमित सेवन गरेको र लक्षण केही नदेखिएकाले केहि हुन्न भन्ने आत्मबल दह्रो गरेर बसेको उनले बताए। उनले डर चिन्ता केही नलिएकै कारण पनि कोरोना कुनै रोगजस्तै नलागेको प्रतिक्रिया दिए। ‘मलाई त सुरुदेखि अहिलेसम्म सामान्य टाउकोसम्म दुखेन’ उनले भने ‘लक्षणै नदेखिएको रोगले के गर्छ र भन्ने लाग्यो। बरु घर परिवारको चिन्ता पो लाग्यो ।’ 

वैदेशिक रोजागरीको क्रममा १६ महिनाअघि दुवई गएका मुख्तार विश्वमा कोरोना संक्रमण फैलिदै गएपछि सुरक्षित हुन फागुन ११ गते नेपाल फर्केका थिए। दुवईबाट आएकाले धेरैले आफुबाट संक्रमण फैलिएको आरोप लगाए पनि उनलाई त्यसप्रति विश्वास लागेन। जोबाट संक्रमण फैलिए पनि आफुलाई विरामी भएको महसुसै नभएको र अरुले पनि यसमा कुनै डर मान्नु नपर्ने उनी सुझाउँछन्। उनीबाहेक परिवारमा आमा, श्रीमती र ३ छोराछोरी कसैलाई पनि संक्रमण नभएकाले आफुबाट रोग फैलिएको आरोप गलत पुष्टि भएको उनको भनाई छ।

उनीसँगै भुल्केकै ३० वर्षीय अजाद आलम, १८ वर्षीय इमरान अहमद र १८ वर्षकै परबेज आलम पनि कोरोनालाई जितेर घर फर्केका छन्। अजादले कोरोना लाग्यो भनेर डा.को कुरा  आफुलाई चित्तै नबुझेको बताए। कोरोना संक्रमण हुँदा ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, खोकी लाग्नेजस्ता लक्षण देखिन्छ भन्ने सुनेका उनले त्यस्तो कुनै लक्षण नदेखिएकापछि आफु विरामी हूँ भन्ने महसुस डर लाग्ने कुरै नभएको बताए। बरु भुल्के एकै गाउँका १०÷१२ जना भएकाले थप आत्मबल दरिलो भएको उनले बतए। 

एउटै गाउँका १०÷१२ जना हुनु र आप्mनै गाउँको मस्जिदका जमातिसहित २८ जना सँगै बस्न पाउँदा अस्पतालको बसाई रमाईलो भएको प्रतिक्रिया अर्का कोरोना विजयी इमरान आलमले दिए। ‘मलाई त कोरोना कुनै रोग हो भन्ने लागेन’ इमरानले भने ‘भाईरसले केही गर्लाजस्तै लागेन, बरु हामीलाई एकै गाउँका धेरै साथी भएकाले रमाईलो पो लाग्यो ’

मुख्तार र आजादको परिवारमा उनीहरुबाहेक कसैमा संक्रमण नदेखिए पनि इमरान र परवेजको परिवारमा भने एकजना संक्रमित फेला परेको बताइएको छ। उनीहरु दुवै नाताका भएको र परिवारमा एक ४५ वर्षीया महिलामा संक्रमण देखिएको छ। उनको पनि कोसी अस्पतालकै आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपुरले जाएको छ। 

भुल्केबासी ५० लाई क्वारेन्टाईनमा राखिने

पछिल्लो पटक ४ महिलामा कोविड–१९ को संक्रमण पुष्टि भएपछि भुल्केका सबैलाई क्वारेन्टाईनमा राख्ने तयारी भएको छ। शनिबार विहान ३ र साँझ अर्की एक गरी ४ महिलामा कोरोना पुष्टि भएपछि अन्यमा संक्रमण फैलिन नदिन भुल्केका संभावित संक्रमितलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको हो। 

जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले दोस्रो चरणको स्वाव संकलनमा थप संक्रमित देखिएपछि अझै खतराबाहिर नरहेको भन्दै संभावितलाई क्वारेन्टाईनमा राख्न सुझाएको बताए। आईतबार बसेको कोरोना रोकथाम तथा प्रतिकार समितिमा उनले संभावित संक्रमितको स्कृनिङ गरेर सबैलाई क्वारेन्टाईनमा राख्न सुझाएसँगै नगरपालिका र सरोकारवालाहरुले पनि त्यसै गर्न सहमति जनाएका छन्।

त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमख अवधनारायण चौधरीले भुल्केका जोखिमयुक्त ५० जनालाई क्वारेन्टाईनमा राख्ने तयारी भएको बताए। उनीहरुलाई आईतबारदेखि नै राख्ने भनिए पनि ठूलो संख्यामा बस्नेहरुलाई चाहिने शौचालय र खानेपानीको राम्रो व्यवस्था नभएकाले सोमबारदेखि मात्र क्वारेन्टाईनमा राख्ने निर्णय भएको चौधरीले बताए। उनले मोतिगडास्थित क्याम्पसको क्वारेन्टाईनमा राख्नेगरी सोमबारभित्र ५ वटा अस्थायी शौचालय र दुईवटा खानेपानी धाराको व्यवस्था गरिसकेर उनीहरुलाई राखिने बताए।

प्रकाशित: २८ वैशाख २०७७ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App