२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रसुवाभित्र मात्र सञ्चालन हुने सवारी साधनलाई पास आवश्यक नपर्ने

रसुवा – जिल्ला भित्र मात्र सञ्चालन हुने सवारी साधनका लागि पास आवश्यक नपर्ने भएको छ। यसअघि जिल्ला भित्र सञ्चालन हुने सवारी साधनका लागि पास आवश्यक पथ्र्यो। जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रसुवाको शनिबार बसेको बैठकले जिल्लाभित्र एक स्थानबाट अर्को स्थानमा ढुवानी हुने निर्माण सामग्री तथा खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई पास आवश्यक नपर्ने निर्णय गरेको हो।

 जिल्लाको विभिन्न स्थानमा ढुवानी गर्ने सवारी साधनलाई सम्बन्धित वडा कार्यालयले गरेको सिफारिसलाई आधार मानेर नजिकको सुरक्षा पोष्टबाट जारी गरिने (ढुवानी कार्ड) का आधारमा सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। जिल्ला बाहिरबाट निर्माण सम्बन्धी मालसामान ढुवानी हुने सवारी साधनका हकमा सक्रिय संक्रमण भएका र आसपासका जोखिमयुक्त जिल्ला तथा स्थानबाट ढुवानी गर्नैपर्ने भए ढुवानीमा प्रयोग हुने सवारी साधनलाई भन्सार विन्दु तथा सम्बन्धित उद्योग प्रतिष्ठानहरुमा नै सवारी साधनको निसंक्रमण गर्नु पर्ने छ। 

सवारी चालक र परिचालकको स्वास्थ्य जाँच हुने व्यवस्था गरेर मात्र सम्बन्धित ढुवानी गर्ने निकायले ढुवानीको व्यवस्था मिलाउनु पर्ने समितिले जनाएको छ। रसुवा जिल्ला प्रवेश गर्दा बेत्रावतीस्थित चेक पोष्टमा यसको निस्सा चेकजाँच हुने र कार्यान्वयन नभएको पाइएमा प्रवेशमा रोक लगाउने प्रजिअ भण्डारीले बताए। यस्ता सवारी साधनलाई खाल्टेबगरमा अवस्थित पार्किङबाट सामानहरू लोड÷अनलोड गरेर मात्र रसुवाका विभिन्न स्थानहरुमा प्रवेश गराइने छ।  

जिल्लामा प्रवेश गर्ने कुनै पनि मालबाहक सवारी साधनमा यात्रुहरू राख्न नपाइने, बेत्रावती प्रवेश विन्दुमा त्यस्ता सवारी साधनका सवारी चालक र परिचालकको नाम, जन्म मिति, रसुवा प्रवेश गरेको र फर्केको मिति सहितको विवरणका साथै स्वास्थ्य स्क्रिनिङ सहित ट्राभल हिष्ट्री कार्ड  जारी गरिने छ। यसैगरी सवारी साधन फर्केर जाँदा सोही विवरण बमोजिमको व्यक्ति भए÷नभएको जाँच गरिने समितिले जनाएको छ । झुठ्ठा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिइ कारबाही गर्ने निर्णय भएको छ। 

जिल्लाबाहिर अन्य नजिकका जिल्लाहरूबाट ढुवानी हुने मालसामानका हकमा बेत्रावतीमा निसंङ्क्रमण गरेर हेल्थ डेस्कबाट चालक र परिचालकलाई सम्बन्धित स्थानमा जान अनुमति दिइने छ। जिल्ला बाहिरबाट ढुवानी हुने निर्माण सम्बन्धी सामग्रीको हकमा सम्वन्धित निकाय, कम्पनी, फर्म, उद्योग तथा पसलले कार्य सञ्चालनका लागि कागजातहरू पेश गरेको हुनुपर्नेछ। 

यसरी जिल्लास्तरीय अनुगमन समितिबाट सञ्चालन सहमति प्राप्त गरेकालाई मात्र निर्माण सम्बन्धी मालसामान ढुवानीका लागि सवारी अनुमति उपलब्ध गराइनेछ। यसका साथै बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म मात्र जिल्लाभित्र ढुवानी हुने व्यवस्था नै लागू गर्ने निर्णय भएको समितिले जनाएको छ। यो समय भने यसअघि कार्यान्वयन भइरहेको थियो। 

प्रकाशित: २८ वैशाख २०७७ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App