८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोभिड - १९ :निकासका उपाय

कोभिड–१९ को संकट जितेर अघि बढेको विश्व समाज फरक हुनेछ। युद्ध जितेर फर्केको सिपाहीझैँ आफ्नो जीवनप्रति कृतज्ञ हुँदै समाज र देशप्रति बढी सद्भाव र लगाव दर्शाउनेछ। तर व्यक्ति वा समुदायको सानो प्रयासबाट मात्र महासंग्राम नजितिने र त्यसका असरहरू नहट्ने भएका कारण विश्व राजनीतिले यो संग्रामको निकासकालागि यथाशीघ्र योजनाबद्ध तयारीमा जुट्नुपर्छ।सर्वप्रथम त विश्व बन्धुत्वको भावना सबै देश र समाजमा मुखरित हुनु आवश्यक छ। यो वा त्यो बहानामा मुठ्ठी कस्ने बेला होइन यो। विश्वका अधिकांश देश विगत डेढ महिनादेखि बन्दाबन्दीमा छन्। राष्ट्रिय÷अन्तर्राष्ट्रिय गतिविधि ठप्प छन्।

देशका सीमा बन्द छन्, विश्वभरि फैलिएको वस्तु र सेवा बजार ठप्प छन्। यो नियन्त्रितको अवस्था रोगको व्यवस्थापनका लागि जायज मान्न सकिएला न कि बजार नियन्त्रण गरी नाफा आर्जन गर्न। बिस्तारै बिस्तारै अर्थतन्त्र चलायमान होला, वस्तु र सेवाको बजार पूर्ववत् हुने क्रममा जानेछन्। त्यो अवस्थामा खुला अर्थव्यवस्था भएका समाजमा बजारले नयाँ र कठोर मापदण्डहरू कायम गर्न सक्ने संभावना छ। यसले सानो अर्थव्यवस्था भएका देशहरूमाथि थप दबाब पर्ने निश्चित छ।वर्तमान अवस्थामा सबैले बुझेको कोभिड–१९ को संकटबाट निकासको उपाय भनेको आममानिसलाई यस रोगको संक्रमणबाट बच्ने उपायबारे सचेत पार्ने, संभाव्य संक्रमितलाई ल्याब परीक्षण गराई आवश्यक व्यवस्थापन गर्ने हो।संक्रमण जोसुकैलाई पनि हुन सक्छ, त्यस्ता मानिस र समुदायलाई हेला र भेदभाव भन्दा साथ र सहयोग दिइ उच्च मनोबलका साथ रोगलाई जित्न सहयोग गर्नुपर्छ।

संक्रमण नभएका व्यक्तिलाई जीविकोपार्जनका क्रियाकलापमा सुरक्षित तरिकाले लाग्ने वातावरण बनाइदिनुपर्छ। त्यसका लागि व्यक्तिगत तथा सामूहिक सुरक्षाका पर्याप्त तयारीको चाँजोपाँजो मिलाउन सरोकारवालादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको पनि उत्तिकै भूमिका हुन्छ। जस्तो कोभिडको ल्याब परीक्षण गर्ने पि.सि.आर. रिएजेन्ट कीट र मसिन उत्पादनमा जर्मन र अमेरिकाको ठूलो पकड छ भने भ्यान्टिलेटर उत्पादनमा विश्वबजारको आधा माग अमेरिकाले मात्र पूर्ति गर्छ। अर्को एक चौथाइ बजार युरोपको नियन्त्रणमा छ। यस अवस्थामा ती देशले अत्यावश्यकीय सामग्रमिा निर्यात सम्बन्धमा लिने नीतिले यस रोगको स्थायी निकासमा असर पार्छ। युरोपलगायत अमेरिकाको संघीय सरकार केही प्रान्तका गभर्नरहरूले हालका दिनमा त्यस्ता सामग्रीको निकासीमा कडाइ गरिरहेका छन्।

विश्वले सिक्नुपर्ने पाठ भनेको हरेक देशमा सशक्त पूर्वसूचना प्रणाली विकास गरी यस रोगको निरन्तर निगरानी र रोकथामका प्रयास जारी राख्नुपर्छ। 
 

यस कुराको पुष्टि गर्दै बेलायतका एक वरिष्ठ मन्त्रीले आफूहरूले चाहे जस्तो पर्याप्त पि.सि.आर. परीक्षण गर्न नसक्नुमा त्यसका लागि आवश्यक सामग्री प्राप्त गर्न नसक्नु रहेको बताएका थिए। जबकि जर्मनी कुल जनसंख्याको अनुपातमा धरै जनामा पि.सि.आर. परीक्षण गराइ मृत्युको मार निकै कम गर्न सफल राष्ट्र हो। अहिले उपलब्ध तथ्यहरूका आधारमा अमेरिकाले हालसम्म लाखौँको संख्यामा भेन्टिलेटरकम्फोट अस्पतालमा जगेडा गरिराखेको छ। उक्त सामग्रीले बेलायतलगायतका अन्य मुलुकमा केही मानिसको जीवन रक्षा हुन सक्थ्यो।अमेरिकालगायतका सुविधा सम्पन्न देशमा अन्य देशबाट गएका आप्रवासीले पर्याप्त सेवा नपाएका समाचार आइरहेका छन् जबकि गरिब देशले स्रोतको अभावका बीच पनि उपचार सेवामा कसैलाई भेदभाव गरेका छैनन्। कोभिडको संक्रमणबाट सुरुवाती चरणमा निकै आक्रान्त देश चीनले अहिले आफ्नो बलबुताले भ्याएसम्म विश्वलाई सहयोगको हात बढाएको छ।

उसले सानो अर्थव्यवस्था भएकादेखि ठूला देश, जस्तै–इटाली, स्पेन, फ्रान्सदेखि अमेरिकालाई समेत प्रविधि र अन्य ज्ञान निःशुल्क उपलब्ध गराएको छ। यस प्रकारको उदार मन सबै देशले प्रदर्शन गर्नु आवश्यक छ। कोभिडको निकासका लागि यस रोगको प्रभावकारी सर्भेक्षण र रोकथामका गतिविधि सञ्चालनमा निर्भर हुन्छ। पछिल्लो समयमा अधिकांश देश अनलाइन प्रविधिमा आधारित सूचना संकलनलाई जोड दिइरहेका छन् जुन सहज र स्वाभाविक पनि हो। तर यस पद्धतिको मद्दतबाट संभाव्य संक्रमित र उनीहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने कार्य सहज भएको छ। विश्वस्वास्थ्य संगठनले सन् २०१४ को इबोला महामारीपछि प्रयोगमा ल्याएको गो डेटा प्रणालीलाई यस पटक पनि हरेक देशमा प्रचलनमा ल्याए। त्यसका अलावा हरेक देशमा अन्य सूचना प्रविधिको भरपुर प्रयोग भयो। यस्ता प्रयासले राम्रो योगदान दिए यद्यपि सबै देशमा यसको पहुँच एकैनाशको छैन।

कोभिडका सन्दर्भमा दक्षिण कोरियाको सबल पूर्वसूचना प्रणालीका कारण यो रोगको सुरुवाती चरणमै पहिचान र उपचारबाट धेरै मानिसमा फैलिनबाट रोक्न सफल भयो। यसबाट विश्वले सिक्नुपर्ने पाठ भनेको हरेक देशमा सशक्त पूर्वसूचना प्रणाली विकास गरी यस रोगको निरन्तर निगरानी र रोकथामका प्रयास जारी राख्नुपर्छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले यस सम्बन्धमा प्रकाशन गरेको तथ्यका आधारमा यो प्रविधि विश्वमा करिब साठी प्रतिशत व्यक्तिका बीचमा मात्र भए पनि प्रभावकारी भएको देखाएको छ। बाँकी चालीस प्रतिशत व्यक्तिका लागि उपयुक्त विधिबारे पर्याप्त खोज अनुसन्धान हुन सकेको छैन। यसतर्फ विश्वले यथाशीघ्र प्रयास गर्नुपर्छ। नेपाल जस्तो प्रविधिको विकास विस्तार सर्वव्यापी नभएका देशहरूमा सूचना प्रविधिका अलावा अन्य प्रभावकारी उपायहरू विकास गर्नेतर्फ पर्याप्त प्रयास भएन। जनसांख्यिक सूचना प्रणाली नभएका देशहरूमा स्थानीय परम्परागत विधि, जस्तै– गुठी, उपभोक्ता समूह, स्थानीय क्लब वा अन्य सामुदायिक समूह परिचालन गर्ने परिपाटी विकास गर्नु सान्दर्भिक हुन्छ।

कोभिडको असर निकासको रणनीति सम्बन्धमा अर्को बहुप्रतीक्षित उपाय भनेको भ्याक्सिनको विकास हो। यस सम्बन्धमा विश्व धेरै अगाडि बढिसकेको बताइएको छ। विश्वभरिमा हजारौँको संख्यामा अध्ययनका प्रयास भएका छन् भने कतिपय अध्ययन सफलताको निकै नजिक पुगेको सुखद खबर आएका छन्। अहिलेको विश्वका धनाढ्यहरूले कोभिडको उपचार विधि पत्ता लगाउने प्रक्रियाका लागि धनराशि खर्च गरिरहेका छन्। भ्याक्सिनले संक्रमित भइसकेकालाई उपचार गर्दैन। यसले त संक्रमण हुनुपूर्व जोगाउने हो। यसकालागि धेरै मानिसलाई भ्याक्सिन दिनुपर्ने हुन्छ। सहज भ्याक्सिनको पहुँचमा सबै देश र सम्प्रदायमा पु¥याउन पनि विश्वको सरोकार हुनुपर्छ। विश्व स्वास्थ्य संगठन र विज्ञ इपिडेमोलोजिस्टहरूले यस रोगको संक्रमण पुनः फैलिन सक्ने चेतावनी दिँदै आएका छन्। नभन्दै चीनले आफ्नो देशमा पछिल्लो चरणमा देखिएको संक्रमण रोगको दोस्रो चरणको असर भएको बताएको छ। यसबाट विश्वले यो रोगको व्यवस्थापनका लागि संसारभरिका व्यक्तिलाई सुरक्षित राख्नुपर्छ।

संसारबाट निर्मूल भएको भनिएको विफर (स्मलपक्स) लाई नियन्त्रणमा लिन संसार सन् १९४० को दशकदेखि अनवरत लागेपछि सन् १९७८ मा त्यो सफलता हात लागेको थियो। त्यस क्रममा विश्वस्वास्थ्य संगठनको नेतृत्वमा संसारभरि पूर्वसूचना प्रणाली विकास गरी संभाव्य जोखिममा रहेका व्यक्ति वा समूह पहिचान र उपचारमा सहयोगी भएको थियो। विश्वस्वास्थ्य संगठनले हरेक देशबीच सूचना र प्रविधि आदान–प्रदान गर्ने कार्यमा निकै राम्रो संयोजनकारी भूमिका खेलिरहेको छ। वर्तमान अवस्था र भविष्यमा आइपर्न सक्ने यस्तै घटना सम्बन्धमा त्यस संस्थाको सान्दर्भिकता थप आवश्यक परेको छ। उसो त केही देशले आफना बेथिति लुकाउन त्यस निकायलाई दोष देखाउने प्रयास नगरेका पनि होइनन्। तर विश्व जनमत विश्व स्वास्थ्य संगठन थप बलियो हुनुपर्नेतर्फ रहेको देखिन्छ। कोभिडको सुरुवाती अवस्थामा यो रोगको प्रकृति थाहा नभएको कारण हो वा अरु कुनै कारणले हो, चीनले लामो समयसम्म विश्वलाई धेरै सूचना खुलस्त गरेन।

जतिबेला यसका बारेमा विश्व स्वास्थ्य संगठनले चासो राख्न थाल्यो उसलाई यो रोग मानिसबाट मानिसमा नसर्ने जानकारी गराइयो। त्यसैलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले पनि सबै देशलाई डराउनु नपर्ने बतायो जबकि उसको आश्वासन झुटो ठहरियो। आज त्यसै कुरालाई आधार बनाइ अमेरिकाले विश्वस्वास्थ्य संगठनलाई आफूले विश्वास नगर्ने र वार्षिक अनुदान सहयोग पनि नगर्ने घोषणा गरेको छ। यस घटनाबाट सिक्नुपर्ने पाठ भनेको नयाँ किसिमको रोगबारे एक्लै निर्णय गर्नुहँुदैन। विश्व जगतलाई प्रारम्भिक सूचनाहरूको सहज पहुँच दिनुपर्छ। त्यसकालागि थप सुदृढ विश्वस्वास्थ्य संगठन नै उपयुक्त माध्यम हुन सक्छ। सन २०१४ मा अफ्रिकाबाट महामारीका रूपमा फैलिएको इबोला भाइरसले विश्वलाई अहिलेको तुलनामा निकै कम मात्र प्रभाव पारेको थियो। दुई वर्षपछि त्यो रोग नियन्त्रणमा आउनुअघि त्यसको असर जम्मा चालीस देशमा फैलिएको थियो।

यसको मुख्य कारण भनेको उक्त रोगको उत्पत्ति भएका देश आर्थिकरूपमा सवल र विश्व राजनीतिमा ठूलो भूमिका नभएका देश थिए। त्यसबेला जे÷जस्ता नियन्त्रणात्मक विधि अपनाइए, ती केबल संक्रमण फैलिएका देशमा चालियो र उक्त संक्रमित देशहरूलाई बाँकी विश्वबाट अलग्याइयो। यसपटकको महामारी उपभोग्य समान उत्पादनमा विश्व बजारमा दबदबा भएको मुलुकबाट फैलिएका कारण विगतका सिकाइहरू व्यावहारिक भएनन्। अतः सुदृढ पूर्वसूचना प्रणालीको स्थापना र त्यसको उचित कार्यान्वयनबाट मात्र आगामी दिनमा सुरक्षित रहन सकिन्छ।अन्तमा, कोभिड–१९ ले जनस्वास्थ्य तथा विश्व अर्थव्यवस्थामा अकल्पनीय संकट ल्यायो। यस अवस्थामा आममानिसबीच एकताको सद्भाव, आममानिसको सरोकारलाई सम्बोधन गर्न सक्ने राज्यका नीति योजनाका साथै अन्तर्राष्ट्रिय सहकार्य र सहयोगको विश्वासिलो आधार तयार मात्र यो संकटबाट राज्यले निकास पाउन सक्छ।

जति छिटो जति प्रभावकारी ढंगले रोगको विस्तारलाई रोक्नु अहिलेको सिकाइ हो। त्यसमा पनि नेपाललगायतका विकासोन्मुख देशहरूले यस्ता संक्रामक रोगको चिकित्सा विधि अपनाउने आँट गर्न सक्दैनन्। फेरि आजको विश्वमा हरेक देश एक अर्कासँग अन्योन्याश्रित ढंगले आबद्ध भएका छन्। त्यसका लागि हरेक देशले संक्रामक रोगको अध्ययन/अनुसन्धान केन्द्र स्थापना गरी अध्ययन÷अनुसन्धानमा जोड दिनुपर्छ। यसका साथै विश्वका सम्पन्न देशहरूले संक्रामक रोगको अध्ययन/अनुसन्धानमा हरसंभव सहयोग गर्नुपर्छ। 
(सहप्राध्यापक, जनस्वास्थ्य संकाय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर)

प्रकाशित: २५ वैशाख २०७७ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App