८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाइनका लागि उपयुक्त बने विद्यालय

भजनी - बन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ। हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय तहले अन्य संरचना निर्माण गर्नुपर्ने भएको भए ठूलो  खर्च हुने स्थानीय तहका प्रमुख बताउँछन्। 

कैलालीका सबैजसो स्थानीय तहले विद्यालयलाई क्वारेन्टाइन बनाएका छन्। टीकापुर नगरपालिकाले पाँच विद्यालयलाई क्वारेन्टाइन बनाएको छ। विद्यालयको विकल्पका रुपमा सिटी हललाई प्राथमिकतामा राखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले हाल क्वारेन्टाइनमा दार्चुलाबाट आएका १० जनालाई  राखिएको जानकारी दिए। उनले विद्यालयलाई क्वारेन्टाइन नबनाई अन्य विकल्प खोज्न लागिएको भए आर्थिक रुपमा ठूलो भार पर्ने जनाउँदै बन्दाबन्दी खुलेर भारतबाट मानिसको आवागमन भए थप १० देखि १२ क्वारेन्टाइन चाहिने बताए।

भजनी नगरपालिकाले दुई क्वारेन्टाइन निर्माण गरेको छ। हाल क्वारेन्टाइनमा १४ जना रहेका छन्। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कीर्ति विकले क्वारेन्टाइनका लागि विद्यालयभन्दा अर्को कुनै उपयुक्त ठाउँ हुन नसक्ने बताउँदै धेरै मानिस आउने अवस्था रहे अन्य विद्यालयलाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिए।जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले गाउँपालिकाले तीन ठाउँमा क्वारेन्टाइन निर्माण गरेको बताउँदै पालिकाभित्र रहेका पठनपाठन नहुने केही विद्यालय संरचनामा विकल्पका रुपमा सोचिएको बताए। गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रमा विद्यालय समायोजन गर्दा दुई विद्यालय भवन प्रयोगविहीन बनेका छन्।

जोशीपुर गाउँपालिकाले पनि तीन विद्यालयलाई क्वारेन्टाइन बनाएको छ। हाल एउटा क्वारेन्टाइनमा तीन जना मात्र रहेको जानकारी दिँदै गाउँपालिकामा कार्यरत कर्मचारी सिद्धराज जोशीले आगामी दिनमा आइपर्ने समस्याका लागि गाउँपालिका  तयारीमै रहेको बताए। टीकापुर बहुमुखी क्याम्पसका प्रा डा जगतबहादुरसिंह रावलले क्वारेन्टाइनका लागि विद्यालयभन्दा उपयुक्त विकल्प कुनै नभएको बताए। ‘विद्यालय संचालनमा नरहेको बेला क्वारेन्टाइनका लागि उपयुक्त हो। यसले राज्यको ठूलो रकम बचाएको छ, डा रावलले भने, ‘स्थानीय सरकारले विद्यालयको विकल्प पनि तयार गर्नुपर्छ। विद्यालय सञ्चालन हुने अवस्था आए एकै पटक समस्या पर्न सक्छ। उनले हाल क्वारेन्टाइन बनाइएका विद्यालयमा एसईई तथा ११ र १२ को परीक्षा केन्द्र पनि भएको हुँदा स्थानीय तहले  विकल्पको तयारी गर्नुपर्ने बताए। रासस

प्रकाशित: २३ वैशाख २०७७ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App