१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रसुवामा १४ दिन क्वारेन्टाइनमा राख्ने कार्य असफल, क्वारेन्टाइनमा बसिरहेका सबैलाई छाडियो

रसुवा, - रसुवामा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको छ । काठमाडौं तथा अन्य जिल्लाबाट ल्याएर क्वारेन्टाइनमा राखिएका व्यक्ति १४ दिन नपुग्दै छोडिएसँगै क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको हो । 

काठमाडौंबाट ल्याइएकामध्ये केहीलाई क्वारेन्टाइन र केहीलाई होम क्वारेन्टाइनमा राखेपछि उत्पन्न विवाद समाधान गर्न नसक्दा सबै जनालाई छोड्न बाध्य भएको गाउँपालिकाहरूले जनाएका छन् । क्वारेन्टाइनमा बसिरहेका व्यक्तिलाई छाडिएपछि जिल्लाको पाँचवटै गाउँपालिकामा निर्माण भएका क्वारेन्टाइन आइतवारदेखि खाली भएका छन् । 

छाडिएकामध्ये सबैजना सेल्फ क्वारेन्टाइनमा बस्ने अवस्था छैन । नौकुण्ड गाउँपालिकाले काठमाडौंबाट ल्याइएका १ सय ८७ जनालाई क्वारेन्टाइनमा राखेन । गाउँपालिकाभित्र क्वारेन्टाइन व्यवस्था नहुँदै आएका व्यक्तिलाई राख्न नसकिएपछि गाउँपालिकाले सेल्फ क्वारेन्टाइनमा नै पठायो ।

सोही दिन आएका मध्ये उत्तरगया गाउँपालिकाले पनि कार्यान्वयन गरेन । त्यहाँ ४४ जनालाई राखिएको भएपनि विस्तारै छोड्ने क्रम सुरु भयो । दुईवटा गाउँपालिकाले सेल्फ क्वारेन्टाइनमा पठाएपछि बाँकी गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिकाले पनि छोड्ने योजना बनाए । 

आमाछोदिङ्मो गाउँपालिकामा होम क्वारेन्टाइनमा पठाउने तयारी पूरा नहुँदै समन्वय बिनै राजनीतिक दलले घर पठाएको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । ‘हामीले प्रक्रिया पूरा गरेर आइतवार छोड्ने तयारी गरेका थियौं’, उनले भने, हामीसँग समन्वय नगरी राजनीतिक दलले घर पठाइदिए ।’ यो गाउँपालिकामा ६७ जना क्वारेन्टाइनमा बसिरहेका थिए । यसअघि ३ जनाले भने १४ दिन क्वारेन्टाइन बसेर घर गएका थिए । 

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जिल्लाको उत्तरगया र नौकुण्ड गाउँपालिकाले नियमको उल्लंघन गरेका कारण बाध्यताले समय अगावै छोड्न बाध्य भएको बताए । ‘यो गाउँपालिकामा प्रवेश गर्नका लागि खुला सिमाना छ’, उनले भने, ‘दुईवटा गाउँपालिकाले व्यवस्थापन नगर्दा हामीलाई दवाव आयो ।’ 

गाउँपालिकाले शनिवार पत्रकार सम्मेलन गरेर क्वारेन्टाइनमा बसिरहेका ८४ जनालाई सेल्फ क्वारेन्टाइनमा पठाउन लागिएको जानकारी दियो । क्वारेन्टाइनमा १४ दिन राख्नुपर्ने भएपनि गाउँपालिकाले १० दिनमा नै सेल्फ क्वारेन्टाइनमा पठाएको हो । सेल्फ क्वारेन्टाइनमा पठाइएका व्यक्तिको नियमित रूपमा अनुगमन गरिने उनको भनाइ छ । 

गाउँपालिकाका अनुसार धुन्चेमा ६७, टिमुरेमा १६ र स्याफ्रुमा १ जना क्वारेन्टाइनमा बसिरहेका थिए । गाउँपालिकाले यसअघि ८ जनालाई १४ दिन क्वारेन्टाइन राखेर घर पठाएको थियो । क्वारेन्टाइनभन्दा टाढा घर भएकालाई आइतवार सुरक्षित रूपमा घर पु¥याइने छ । 

अहिले क्वारेन्टाइनमा बसिरहेकाहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी सम्झौता गरिएको छ । कालिका गाउँपालिकाले शनिवार नै ४७ जनालाई होम क्वारेन्टाइनमा बस्नेगरी पठाएको छ । एउटै बसमा आएको व्यक्तिलाई अरू गाउँपालिकाले खुला छोडेपछि बाध्य भएर छोडिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । 

प्रकाशित: २२ वैशाख २०७७ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App