४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका पहिलो संक्रमित १३ को पिसिआर नेगेटिभ

उदयपुर- उदयपुरमा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।     

कोसी अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुेबदीले  सोमबार विहानको रिपोर्टमा सुरुका १३ जनामा कोरोना नेगेटिभ देखिएको बताए । मस्जिदका १२ भारतीयसहित १६ जमातिमध्ये पहिलो पटक उनीहरुमा संक्रमण देखिएको थियो । उनीहरुपछि संक्रमण पुष्टि भएका थप १५ जना पनि कोसीकै आईसोलेसमा उपचाररत छन् । १३ पछि भेटिएका ८ संक्रमितको पनि आईसोलेसन बसाई १४ दिन पुगेकाले दोस्रो स्वाब परीक्षण हुँदैछ ।

सुरुका १३ मा कोरोना नेगेटिभ देखिएपछि पुनः पिसिआर परीक्षण गरिने र त्यसमा पनि रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज गरिने अस्पताललाई उद्धृत गर्दै सुबेदीले बताए । ‘मस्जिदका पहिलो १३ संक्रमितलाई आईसोलेसनमा राखेको १४ दिनपछि टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आयो’ सुबेदीले भने ‘अव पुनः टेस्ट गरिन्छ, त्यसमा पनि नेगेटिभ आए डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।’

भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो । मस्जिदमा रहेका भारतीय जमातिमा संक्रमण पाइएपछि उनीहरुबाटै अन्यमा संक्रमण सरेको हुनसक्ने अनुमान गर्दै मस्जिद आसपास र अन्य मस्जिदक्षेत्र ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा पिसिआर परीक्षण गरिएको थियो । मस्जिदभन्दा बाहिर पहिलो चरणमा ६९ को परीक्षण गर्दा ८ जना संक्रमित भेटिएका थिए भने बाँकी ३ जमातिमा पनि संक्रमण पुष्टि भएको थियो । तेस्रो चरणमा संकलित २ सय ५२ मध्ये थप ३ जनामा देखिएसँगै भुल्केमा २८ जना संक्रमित पुष्टि भएका थिए ।

त्यसपछि भुल्केसँग सम्पर्क भएको अनुमानका आधारमा त्रियुगाकै डिएमगेट, जलजले, देउरी मस्जिद र आसपासका १४ महिलासहित ८३ तथा पछिल्लो शुक्रबार भुल्केकै ३३ को परीक्षण रिपोर्ट आईतबार नेगेटिभ आएको थियो । पछिल्लो पटक भुल्केका ३३ को रिपोर्टले नेगेटिभ अन्य मस्जिद सुरक्षित पाइएको छ । त्यससँगै भोजपुरमा फेला परेका संक्रमितसँग सम्बन्ध देखिएको बेलका नगरपालिकाका ७ मैनामैनीका ५ जना तथा ताप्ली गाउँपालिकाका २ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको सुबेदीले बताएका छन् ।

प्रकाशित: २२ वैशाख २०७७ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App