७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

दुई अन्तराष्ट्रिय गैर सरकारी संस्थाद्वारा १६ लाख बढी मूल्यको स्वास्थ्य सामग्री

ताप्लेजुङ- कोरोना संक्रमणविरुद्ध अग्रभागमा खटिने ताप्लेजुङका स्वास्थ्यकर्मीका लागि २ वटा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले करिव १६ लाख मूल्य बराबरको उपकरण तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेका छन् । एक्सन फर नेपाल र वन हर्ट वल्ड वाईडमार्फत उक्त मूल्य बराबरको सामग्री आउन लागेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

एक्सन फर नेपालले यहाँको फक्ताङ्लुङ गाउँपालिकाको ईखावु, लेलेप र तापेथोक तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेवाङ र मामाङ्खेका स्वास्थ्यकर्मीका लागि चाहिने थर्मगनसहितका बिभिन्न स्वास्थ्य सामग्री दिने भएको छ । उसले बिश्व स्वास्थ्य संगठनले प्रयोग गर्न उपयुक्त हुने ठहराएका व्यक्तिगत सुरक्षाका सामग्री तथा स्वास्थ्य संस्थामा प्रयोग हुने उपकरण दिन लागेको लिखित पत्र आफूलाई प्राप्त भएको प्रजिअ निरौलाले बताए ।

यस्तै वन हर्ट वल्ड वाईडमार्फत यहाँका बिभिन्न बर्थिङ सेन्टर र क्वारेन्टाइन केन्द्रहरुका लागि २७ वटा थर्मगनसहितका सामग्री जिल्ला भरका बिभिन्न स्वास्थ्य संस्थालाई प्रदान गरेको संस्थाका यहाँस्थित जिल्ला कार्यक्रम प्रवन्धक गणेश बस्नेतले जानकारी दिए । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिलाई लिखित जानकारी दिएर स्वास्थ्य सामग्रीको प्याकेज बनाएर बितरण गरेको बस्नेतले बताए । उता एक्सन फर नेपाल नेपालले दिएका स्वास्थ्य सामग्री लिन फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाको संयुक्त समन्वयमा सवारी राजधानी काठमाडौ पठाइएको छ ।

दुबै गाउँपालिकाका यहाँका दुर्गम क्षेत्रमा गनिन्छन् । एक्सन फर नेपाल दुर्गम र ग्रामीण बस्तीहरुको स्वास्थ्य र सफाई कार्यको प्रवद्र्धनका लागि भौतिक तथा सैद्धान्तिक दुबै सहयोग गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । वन हर्ट नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वीकृतीमा मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा काम गर्ने अर्को अन्तराष्ट्रिय गैर सरकारी संस्था हो ।

प्रकाशित: १९ वैशाख २०७७ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App