९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खोपबाट चेपाङ समूदायका बालबालिका लाभान्वित

धादिङको गजुरी गाउँपालिका वडा नं २ चम्पाराङमा दादुराविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी ।

धादिङ- गत चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महामारीबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको मृत्यु भयो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा फैलिएको दादुराबाट गाउँका अन्य एक सय ५० भन्दा बढी बिरामी भए । कोरोना भाइरस (कोभिड–१९) का कारण सिंगो विश्व त्रसित भैरहेका बेला दादुराको महामारीले चेपाङबस्तीमा पीडा थपेको थियो । स्वास्थ्य कार्यालय र गाउँपालिकाको पहलमा बिस्तारै नियन्त्रणमा आयो ।

गत फागुन ६ गते नै चेपाङ बस्तीका चारजना बालबालिकालाई दादुरको लक्षण देखिएपछि उपचारका लागि चरौंदी आधारभूत स्वास्थ्य चौकीमा जाँच गरिएको थियो । जाँच गर्दा गम्भीर बिरामीलाई गाउँपालिकाकै एम्बुलेन्सबाट उपचारका लागि कान्ति बाल अस्पताल, काठमाडौँमा पुर्‍याइएको थियो । उपचारमा ढिलाई हुँदा दुई बालबालिकाले अकालमै ज्यान गुमाउनु पर्‍यो । फागुन १८ गते नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र स्वास्थ्य कार्यालय धादिङको टोलीले दादुराको महामारी भएको निश्चित गरेको थियो ।

महामारी नियन्त्रण गर्न तयारी गरिरहेकै बेला कोरोना भाइरसका कारण प्रभावित भएको अभियान अहिले सुरु भएको छ । सरकारले दुरी कायम गरेर दादुरा–रुबेलाको खोप अभियान सुरु गरेपछि धादिङको बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा बुधबारबाट खोप लगाउन सुरु गरिएको छ । अभियानको पहिलो दिन गजुरी गाउँपालिकाको मलेखु भद्रकाली, चम्पराङ, किरान्चोक माध्यमिक विद्यालय, सेती देवी आधारभुत विद्यालय, रिठ्ठाबोटे आधारभूत विद्यालय लगाएतका ठाउँहरुमा खोप अभियान संचालन गरिएको छ । पहिलो दिन गजुरी गाउँपालिकाभरि १ हजार ४ सय ३० जनालाई खोप लगाइएको छ ।

त्यस्तै बेनिघाट गाउँपालिकाको कुन्चुरुङ, बाँसखर्क, सिमटार, जरुङ, ब्रोम्दी, ग्यावाटोल, लवाङ, चिम्बाङ, नाम्जीराङ, माथिल्लो ओर्बाङ, तल्लो ओर्बाङ, तिनकन्या आधारभुत विद्यालय, तिनकन्या वागेश्वरी आधारभुत विद्यालय, सलाङघाट स्वास्थ्य केन्द्र, बागेश्वरी माध्यामिक विद्यालय, राजमार्ग अस्पताल, व्राइटफ्यूचर बोर्डिङ, पाङ्ग्राजिपमा खोप अभियान संचालन गरिएको छ ।

अभियानभर ६ महिनादेखि १५ वर्षसम्मका बाल बालिकाहरुलाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने तथा ‍भिटामिन ए र जुगाको औषधि खुवाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए । ‘खोप अभियान संचालन भएकै बेलामा चेपाङबस्तीमा दादुराको महामारी फैलिएको थियो, जसोतसो नियन्त्रण गर्न सफल भयौँ,’ पौडेलले भने, ‘अहिले धमाधम खोप अभियान संचालन भइरहेको छ, दुरी कायम गरेर सहज रुपमा खोप लगाउन आग्रह गरेका छौँ ।’

दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेला वडा नं. ६ मा पर्ने बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङ लगायतका.चेपाङ बस्तीमा दादुराको महामारी फैलिएको थियो । अभिया सुरु भएका बेला दुई सय बालबालिकालाई खोप लगाइएपनि कोरोनाका कारण स्थगित भएको थियो । स्थगित खोप कार्यक्रम संचालन गर्न सरकारले आग्रह गरेपछि अभियान पुनः सुरु गरिएको गाउँपालिकाले जनाएको छ । खोप अभियान बैशाख २३ गतेसम्म संचालन हुनेछ ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला । चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने गर्छ । दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ । विपन्न समुदायका चेपाङहरु अशिक्षाका कारण बालबालिकालाई खोप लगाउनु पर्छ भन्ने ज्ञान नहुँदा बर्षेनी दादुराको महामारी फैलिने गर्दछ ।
 

प्रकाशित: १८ वैशाख २०७७ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App