५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सीमा नाका बेलहियामा स्यानिटाइजिङ टनेल

भैरहवा- रुपन्देहीको नेपाल भारत मुख्य सीमा नाका बेलहियामा स्यानिटाइजिङ टनेल जडान गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ र एरिया ४का लायन्स क्लबहरुको सहकार्यमा स्वचालित स्यानिटाइजर टनेल स्थापना गरी सञ्चालनमा आएको हो । भारतमा दैनिक कोरोना संक्रमणको बृद्धिले सीमा हुँदै नेपालमा पनि सहजै प्रवेश हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमामै टनेल स्थापना गरि बुधबार क्लबले सिद्धार्थनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

जोखिम न्यूनीकरणको लागि नेपालमै पहिलो पटक सीमामा टनेल स्थापना गरेका छौ । करिब २ लाखको लागतमा निर्माण गरिएको टनेलले दैनिक ५ हजारलाई स्यानिटाइज गर्न सकिन्छ । शरीरको बाहिरी सतहलाई निसंक्रमण गर्न विदेशको मापदण्डमा टनेल निर्माण गरिएको युवा वैज्ञानिक मार्सल रोक्काले बताए ।

देशमा १५ औँ स्यानिटाइज टनेलको रुपमा सीमामा पहिलो पटक स्थापना गरिएको छ । शरीरलाई हानी नगर्ने गरी सोडियम हाइपो क्लोराइड, एलोबेरा इस्ट्रेक्ट र इस्टाब्लाइजरहरुको निश्चित मात्रासहितको केमिकलबाट प्रतिव्यक्ति ५०–६० एमएल केमिकल स्प्रे गरी ५ देखि ६ मिनेटमा शरीरको बाहिरी सतहमा रहेका भाइरस मार्ने निर्माता तथा यूवा वैज्ञानिक रोक्काले नागरिक न्युजलाई भने । टनेलमा कुनै पनि प्रकारको फलाम प्रयोग भएको छैन, रिसर्च गरेर बनाइएको मेसिन डब्लु एच ओको मापदण्डलाई आधार मानेर पूर्ण रुपमा सुरक्षित छ, स्वास्थ्यमा कुनै पनि प्रकारको साइड इफेक्ट नगर्ने मेटा टेक्नोलोजी दाङले जानकारी दिएको छ ।

निर्माता कम्पनी मेटा टेक्नोलोजीका अनुसार टनेल ८ फिट उचाई, १० फिट लम्बाई  र ५ फिट चौडाइको छ । फोर वे नोचलबाट ८ वटा मसिना प्वाल हुँदै ५ माइक्रोनको केमिकल विधुत्तिय मोटरबाट स्प्रे गर्छ । एक लाख सत्तरी हजारको लागतमा टनेल निर्माण गरिएको छ जसमा एक हजार लिटरको केमिकल टयाङ पनि रहेको छ ।   

देश लकडाउनको अवस्थामा भए पनि अतिआवश्यक बस्तु आयातका लागि बेलहिया नाकामा निर्वाध रुपमा ट्रक र कन्टेनर आइरहेका छन । सवारी साधनसहित आएका चालक र सहचालकबाट पनि संक्रमण भित्रिने जोखिम हुँदा सोलाई मध्यनजर गर्दै सीमामै टनेल स्थापना गरीएको क्लबका एरिया चिफ बिनोद खरेलले बताए ।

यसअघि हात साबुन पानीले धोएर स्यानिटाइजर गरी मात्र नेपाल प्रवेश भइरहेको थियो । अब भने शरीरको पुरै बाहिरी सतह स्यानिटाइज हुन्छ । जसले शरीरको बाहिरी सतहमा भएको कोभिड–१९ सहित अन्य भाइरसहरु पनि निस्क्रिय पार्छ । निर्माण गरिएको टनेललाई लायन्सले सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीलाई हस्तान्तरण गरेको छ ।

सञ्चालनमा आएसँगै नेपाल प्रवेश गर्ने सबै नागरिकलाई सीमामा स्यानिटाइजिङ गरी मात्र प्रवेश हुनेछ । स्वचलित मेसिनसहितको उक्त टनेलले मानवको बाहिरी होलबडीलाई स्यानिटाइज गरी शरीरको बाहिरी सतहमा भएको भाइरसलाई मार्नेछ । नेपाल आउने सबैलाई अनिवार्य रुपमा यस किटाणुनासक टनेल भएर आउनु पर्नेछ ।

प्रकाशित: १७ वैशाख २०७७ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App