५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बारीमै कुहियो तरकारी, कामदारलाई तलब खुवाउन ऋण खोज्दै किसान

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावश्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउदै आएको छ । तर किसानहरु भने आफ्नो उत्पादन बिक्री नभएर समस्यामा परेका छन् । एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन् भने अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौंको नोक्सानी ब्यहोर्नुपरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भइसकेको छ । देशभर जारी लकडाउनको कारण सवारी आवागमन ठप्प छ । सरकारले खाद्य वस्तु एवं अत्यावश्यक वस्तुको ढुवानीमा कुनै रोक नलगाएको बताउदै आएको छ । तर किसानले भने आफ्नो उत्पादन बजार सम्म पुर्‍याउन नपाउँदा समस्यामा परेका छन् । किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिएर गएको छ ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का धनश्याम दासले २२ बिगाह जमिनमा तरकारी खेति गरेका छन् । लकडाउनको कारण तरकारी बिक्री नभएको भन्दै व्यापारीले तरकारी नलैजाँदा उनले गरेको उत्पादन बारीमै कुहिएको छ । तीन बिगाह क्षेत्रफलमा लगाएको पाटे घिरौंला प्रसस्त उत्पादन भएको छ तर बिक्री नभएपछि सुकेर गएको छ । कुनै बेला एक सय रुपैयाँ प्रति किलो बिक्री हुने पाटे घिरौंला अहिले सस्तोमा दिँदा समेत बिक्री नभएको गुनासो उनको छ ।

यस्तै १० बिगाह क्षेत्रफलमा लगाएको गोलभेडा र तीन विगाहमा लगाएको लौकासहित अन्य तरकारी पनि बिक्री नहुँदा कुहिएर गएको दासको भनाई छ । उनले लकडाउन भएयता ५ ट्रक गोलभेडा कुहिएर नष्ट भएको र अझै १० ट्रक कुहिने अवस्थामा पुगेको बताए । उनले अहिले गोलभेडा १० रुपैयाँ प्रति किलोमा बिक्री गर्न खोज्दा समेत बिक्री नभएको बताए ।

लकडाउन हुनु भन्दा पहिले नारायणगढ, पोखरा, काठमाडौंको बजारबाट अत्याधिक माग हुने गरेको र मूल्य समेत राम्रो पाउने गरेकोमा अहिले बिक्री नभएर समस्यामा परेको कृषक दासले बताए । उनले तरकारी बिक्री नभएपछि कामदारलाई तलब खुवाउन र बैंकको किस्ता तिर्न समेत समस्या भएको बताए । यसअघि तरकारी उत्पादनबाटै लाखौं आम्दानी गर्दै आएकोमा अहिले कामदारलाई तलब खुवाउन समेत ऋण खोज्नुपरेको छ । लकडाउनका कारण यो सिजनमा मात्रै २ करोड रुपैयाँसम्म नोक्सानी हुने गुनासो उनले गरे ।

प्रकाशित: १६ वैशाख २०७७ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App