७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका थप ८३ को स्वाब संकलन गरिदै

थप स्थानीयको स्वाब संकलन गरिदै । तस्बिरः महेश्वर

उदयपुर- सातादिनभित्रै २८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएपछि कोरोना ‘इपिसेन्टर’ बन्न पुगेको उदयपुरमा आइतबार थप ८३ जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको छ । गत बिहीबार पठाइएको ७८ मुस्लिमसहित १ सय २० को रिपोर्ट नेगेटिभ आएपछि रोकिएको संकलन कार्य अन्यमा पनि भाइरस सर्नसक्ने आशंका गर्दै सुचारु गरिएको हो ।

जिल्ला प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले संक्रमित भारतीय नागरिक र भुल्केबासीको ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा थप स्थानीयको स्वाब लिइएको बताए । मस्जिद–मस्जिद र मस्जिद–बस्ती आउजाउ भएको भनिएका गाईघाटको डिएमगेट, बगाहा, जलजले, देउरीका मस्जिद र आसपासका मुस्लिम समुदाय केन्द्रित बस्तीबासीको स्वाव संकलन गरिएको उनले बताएका छन् ।

स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले संभावित संक्रमण अनुमान गरिएका डिएमगेट, बगाहा, देउरी, जलजले र गाईघाटका स्थानका मान्छेलाई बोलाएर जिल्ला अस्पतालमा स्वाब संकलन गरिएको बताए । उनका अनुसार १४ महिलासहित ८३ मध्ये त्रियुगा १२ डिएमगेट मस्जिद क्षेत्रका १६ जना, ३ नं. मोतिगडाका १२ जना, ६ नं. जलजलेका १३ छन् । त्यस्तै त्रियुगा ५ देउरीका ८, सदरमुकाम ११ नं. गाईघाटका ५, सप्तरी घर भई देउरी बस्दै आएका १ छन् । सुरक्षाकर्मी ५ र जिल्ला अस्पतालमा १८ को स्वाब पनि संकलन गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईले शनिबार प्रभावितक्षेत्र भुल्केको स्थलगत निरीक्षण गर्न आउँदा उदयपुरलाई ९५ थान भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम)लगायत आवश्यक स्वास्थ्य सामग्री ल्याइदिएका थिए । त्यहीँ सामग्रीको उपलब्धतापछि थप स्थानीयको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । आइतबार दिउँसो १ः०० बजेदेखि ६ बजेसम्म संकलन गरिएको स्वाब आइतबार साँझै परीक्षणका लागि विराटनगर पठाइएको छ । रिपोर्ट भने सोमबार साँझदेखि मंगलबार विहानसम्ममा आउने उनले बताए ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदका १६ धर्म प्रचारकसहित भुल्केमै २८ संक्रमित भेटिएपछि सीमा जोडिएको मोथियाही र भारतीय धर्म प्रचारक प्रवेश गरेको शिवाईमा बिहीबार स्वाब संकलन गरिएको थियो । शनिबार आएको रिपोर्टमा मोथियाहीका २० र प्रवेशविन्दु शिवाईका ५८ सबैको नेगेटिभ देखिएको छ ।

बिहीबारै पठाइएको भोजपुरका संक्रमितको परिवार र उनीसँग सम्पर्कमा रहेका बेलका ७ मैनामैनीका ५ र २७ स्वास्थ्यकर्मीको रिपोर्ट पनि नेगेटिभ आएको छ । त्यसैगरी भुल्के मस्जिदमा आउजाउ गरेको ट्रेसिङका आधारमा कटारीका दुई जनाको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्यले जनाएको छ ।

 

प्रकाशित: १४ वैशाख २०७७ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App