coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

शिवाई र मोथियाही सुरक्षित, उदयपुरको जनजीवन सामान्य बन्दै

उदयपुर- पछिल्लो पटक पठाइएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बनेको भुल्के नजिकैको मोथियाही र भारतीय धर्म प्रचारकको प्रवेश विन्दु शिवाई सुरक्षित पाइएको छ । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा भेटिएका १२ भारतीयसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सीमा जोडिएको त्रियगा २ मोथियाही र सुरुमा भारतीय प्रवेश गर्दा बसेको चौदण्डीगढी नगरपालिका ५ शिवाईबासीको रिपोर्ट नेगेटिभ आएको हो ।

भुल्केसँग जोडिएकाले मोथियाहीमा संक्रमणको आशंका गरिएको थिया भने संक्रमित प्रमाणित भारतीय नागरिक पहिलोपटक प्रवेश गरेको शिवाई पनि खतराभित्र भएकाले दुवै बस्तीका ७८ को स्वाब गत बिहीबार संकलन गरी विराटनगर पठाइएको थियो । श्निबार आएको सबै रिपोर्टमा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य प्रमुख मोहन सुबेदीका अनुसार शिवाईका ५ महिलासहित ५८ र माथियाहीका ४ महिलासहित २० को रिपोर्ट सबै नेगेटिभ आएको छ ।

उनीरुसँगै बिभिन्न अस्पताल र स्थानीय तहले संकलन गरी पठाइएका १४ महिलासहित २७ स्वास्थ्यकर्मीको रिपोर्ट पनि नेगेटिभ आएको छ । सुबेदीका अनुसार यो अवधिमा बेलका नगरपालिकाका ५ र कटारी नगरपालिकाका २ जनाको स्वाब परीक्षण रिपोर्ट भने आएको छैन ।

भोजपुरमा भेटिएका संक्रमितसँग सम्बन्ध देखिएपछि बेलका ७ मैनामैनीका ५ र भुल्के मस्जिद आउजाउ गरेको पाइएका कटारी नगरपालिकाका २ जनाको स्वाब पनि पठाइएको थियो । उनीहरुको रिपोर्ट आइतबारसम्ममा आउनसक्ने सुबेदीले बताए ।

पछिल्लो रिपोर्टमा सबै नतिजा नेगेटिभ आएसँगै उदयपुरबासीको त्रास घट्दै गएको छ । जिल्लाबासीसँगै कोरोना कहरविरुद्ध ‘फ्रन्टलाईन’मा खट्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, प्रशासन र पत्रकारले राहत महसुस गरेको नेपाल पत्रकार महासंघका उपाध्यक्ष भोटराज राईले बताए । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले सबै नेगेटिभ आएको रिपोर्ट जिल्लाबासीका लागि सुखद रहेको प्रतिक्रिया दिए ।

स्वास्थ्य प्रमुख सुवेदीलाई यो रिपोर्टले सुहानुभूति भएको छ । ‘यो अत्यन्त सुखद समाचार हो, बाँकी ७ को रिपोर्ट पनि नेगेटिभ आओस्’ सुबेदीको कामना छ ‘कोरोनाविरुद्ध रातदिन खट्दा पनि धमाधम संक्रमित फेला परेपछि आफै त्रसित भएका बेला यो रिपोर्टले सन्तोषको श्वास फेर्न पाइयो ।’

 

प्रकाशित: १३ वैशाख २०७७ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App