१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

तिब्बत सरकारले पठायो मेडिकल उपकरण

सिन्धुपाल्चोक- कोरोना भाइरसको संक्रमण रोक्न तिब्बत सरकारले नेपाललाई अनुदानमा सवा आठ करोड रुपैयाँ बराबर मूल्यका अत्यावश्यक मेडिकल उपकरण तथा सामाग्री उपलब्ध गराएको छ।

स्थलमार्गबाट ल्हासा हुँदै आएका सामाग्री बुधबार तातोपानी नाकामा आइपुगेका छन्। बिहान नाकामा आइपुगेका सामाग्री तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको आइसोलेसनमा राखिएको छ। ‘तिब्बत सरकारले अनुदानमा मेडिकल सामाग्री उपलब्ध गराएको हो,’ प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नागरिकसँग भने।

कोरोना नियन्त्रणमा नेपालमा अत्यावश्यक मेडिकल सामाग्री अभाव भइरहेका बेला तिब्बत सरकारले अनुदानमा उपलब्ध गराएका उपकरण महत्वपूर्ण रहेको उनले बताए। भन्सार कार्यालयले दिएको जानकारी अनुसार अनुदानमा उपलब्ध सामाग्रीमा दुईटा पिसिआर मेसिन, २० हजार थान टेस्टिङ किट, एक हजारवटा थर्मलगन, १० हजार पिपिइ सेट, १० हजार एन–९५ माक्स र ५० काटुर्न वेट वाइप (इन्जेक्सन लगाउनुअघि छाला सफा गर्ने पेपर) छन्।

चिनियाँ युआन ५१ लाख ९८ हजार दुई सय मुल्य बराबरको सामाग्री अनुदानमा उपलब्ध भएको प्रमुख अधिकृत खत्रीले जानकारी दिए। यो रकम नेपालीमा आठ करोड ३० लाख रुपैयाँ बराबर हुन आउँछ। झण्डै १० घण्टा आइसोलेसनमा राखेपछि बुधबार साँझै सामाग्री राजधानी पठाउने भन्सारले जनाएको छ। अनुदान सामाग्री लिएर ल्हासास्थित परराष्ट्र मन्त्रालयका अधिकारी सीमासम्म आइपुगेका थिए। भन्सार अधिकारीले मितेरी पुलमा अनुदानका सामाग्री बुझेर बन्दरगाहमा ल्याएका थिए।

नाका भएर निजी क्षेत्रले समेत चीनबाट अत्यावश्यक मेडिकल सामाग्री आयात गरिरहेका छन्। पछिल्लो एक सातायता नियमित सामाग्री आयात भइरहेको छ। लकडाउनको समयमा मेडिकल र खाद्य सामाग्री अभाव हुन नदिन सरकारले दुई साताअघि उत्तरका मुख्य तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

प्रकाशित: १० वैशाख २०७७ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App