२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उच्च सतर्कतासहित जिल्लामा आउजाउ गर्न पूर्ण बन्देज

संक्रमण भेटिएको भुल्के मस्जिद । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरमा थप ९ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसहित यहाँ संक्रमितको संख्या २२ पुगेको छ । ११ भारतीयसहित १३ जना संक्रमित भेटिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपासका ६९ स्थानीयको गत शनिबार संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।

विराटनगरस्थित ल्यावमा परीक्षण गर्दा शंकास्पद भेटिएका ८ जनालाई मंगलबार बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाई पुनः परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरुपछि आईतबार नेपाली सेनाको सैनिक अस्पताल छाउनीबाट हेलिकोप्टरमार्फत आएको स्वास्थ्य टोलीले दोस्रो दिन १ सय ५२ को स्वाब संकलन गरी शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाएकोमा परीक्षण अर्का ३३ वर्षीय एक युवामा पनि संक्रमण पुष्टि भएको छ ।

विराटनगर पठाइएको ६९ स्वावमध्ये ८ जनाबाहेकको रिपोर्ट भने आईनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुमध्ये २० को नेगेटिभ आएको अपुष्ट खवर बाहिरिए पनि स्वास्थ्य कार्यालयले पुष्टि गर्न बाँकी छ । रिपोर्ट सोमबार नै आउने भनिए पनि मंगलबार अवेर मात्र ८ जनाको संकास्पद भेटिएको भन्दै विराटनगरले पुनः परीक्षण गर्न धरान पठाउन भनेपछि एम्बुलेन्समार्फत धरान पठाइएकोमा बिपीले संक्रमित पुष्टि गरेपछि सबैलाई विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

सुरुवाती परीक्षणमै १३ जना संक्रमित भेटिएपछि ‘कोरोना इपिसेन्टर’ मानिन पुगेको मस्जिद क्षेत्र भुल्केका ३ सय २१ को स्वाब विराटनगर र काठमाडौं पठाइएकोमा थप ९ जनामा संक्रमण पुष्टि भएको मंगलबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नेपाली सेनाको १८ नं. बाहिनी अड्डासमेत रहेकाले भुल्केक्षेत्रलाई संबेदनसिल मान्दै नेपाली सेनाको स्वास्थ्य टोली आएर लगातार दुईदिनसम्म स्थानीयको स्वाब संकलन गरी काठमाडौं लगेको हो ।

सैनिक टोलीले दोस्रो दिन १ सय ५२ र तेस्रो दिन १ सय जनाको स्वाव संकलन गरी काठमार्डौं पठाएको रिपोर्टमध्ये एकजनाबाहेक अन्यको भने आउन बाँकी रहेको छ । काठमाडौंमा एक संक्रमित पुष्टि भएका ३३ वर्षीय युवा केही समयअघि विदेशबाट फर्केको र मुस्लिम समुदायकै भएको स्थानीयले बताए पनि उनको सबै विरवण सम्बन्धित निकायले खुलाएको छैन ।

हल्लै हल्लाले जनमानसमा बढ्दो त्रास
गएको चैत दोस्रो साता केही स्थानीयमार्फत त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा ‘दर्जन पाकिस्तानी मुस्लिम महिनादेखि लुकेर बसेको’ हल्ला चल्यो । कोरोना भाईरस रोकथाममा व्यस्त प्रमुख जिल्ला अधिकारी संयोजकत्वको प्रतिरक्षा तथा उद्धार समितिलाई हल्ला सुन्ने फुर्सद थिएन ।

‘प्रशासन, प्रहरी, जिल्ला स्वास्थ्य र नगरपालिकालाई पटकपटक जानकारी गराउँदा पनि बेवास्ता गरेको’ जनगुनासो बढ्दै गयो, त्यसबेला वैशाख लागिसकेको थियो । व्यापक हल्लाकै बीच नगरपालिका, प्रशासन, प्रहरी र स्वास्थ्य कार्यालयको सामुहिक टोली वैशाख २ गते मस्जिद अनुगमन गर्न पुग्यो । त्यहाँ १२ भारतीयसहित १६ मुस्लिम धर्म प्रचारक भेटिए । तर, उनीहरु लुकेर बसेको नभई नियमित धर्म प्रचारको क्रममा आएको र लकडाउन सुरु भएपछि फर्कन नपाएको खुल्यो ।

स्वास्थ्य कार्यालयले भोलिपल्टै उनीहरुको दु्रत लक्षण परीक्षण (आरडिटी) गर्दा रिपोर्ट नेगेटिभ आयो । तर, भारतबाट मंसिर २५ मा जोगवनी हुँदै मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद घुमेर चैत १ गते उदयपुर छिरेको ‘ट्राभल हिस्ट्री’ पाएपछि उनीहरुमा संक्रमणको आशंका रह्यो ।

सप्तरीको बोधेवसाईनमा फागुन ३–५ गतेसम्म सम्पन्न ‘अन्तराष्ट्रिय मुस्लिम सम्मेलन’मा समेत सहभागी भएको देखिएपछि स्वास्थ्य कार्यालयले पोलिमेरिज चेन रियाक्सन (पिसिआर) परीक्षण गर्न उनीहरुको स्वाब संकलन गरी विराटनगर पठायो । ४ दिनपछि आएको रिपोर्टले १२ मध्ये ११ भारतीय र एक नेपालीमा संक्रमण पुष्टि भएपछि सोही साँझ उनीहरुलाई विराटनगर पठाउदा अर्का एकमा संक्रमण भएको पाइयो ।

त्रास बढाउनमा सामाजिक अगुवादेखि सर्वसाधारणसम्म जिम्मेवार रहेको पाइएको छ । संक्रमितहरु कहाँ गए, कोसँग भेटे भन्ने यकिन गर्न ‘कन्ट्याक्ट टे«सिङ’ कार्य जारी रहेकै बेला केही अगुवाले बिभिन्न मस्जिद पुगेको, भेटघाट गरेको भन्दै नामै किटेर क्वारेन्टाइनमा राख्नुपर्ने हल्ला चलाएपछि थप त्रास बढ्नु स्वभाविक हो ।

गाईघाटको डिएमगेट, बगाहा, शिवाई तथा अन्य विभिन्न मस्जिद पुगेर संक्रमितहरु पुजारी र पदाधिकारीसँग भेटघाट गरेको, पाहुना लागेको भन्ने हल्लाले मस्जिद आसपास टोलबासी सिंगो समुदायलाई थप त्रसित बनाएको मुस्लिम अधिकारकर्मी नजवुल खानको गुनासो छ । उनले मस्जिद र मुस्लिम समुदायप्रति अनावश्यक हल्ला गरेर धार्मिक र सामाजिक सद्भाव खल्बल्याउन खोज्नेहरुप्रति सजग रहन पनि आग्रह गरेकी छिन् ।

स्थानीयको निराधार हल्ला चलाउँदा विनाकारण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रशासन र सुरक्षाकर्मीले दुःख पाउनु परेको त्रियुगा १२ नं. वडाध्यक्ष जयविक्रम राईको गुनासो छ । भुल्केका केही मुस्लिम १२ नं.को विसनपुर पुगेर जन्मदिन पार्टी मनाएको जानकारी फोनमार्फत तारन्तार आएपछि मंगलबार दिउँसो अनुगमन गर्न पुगेका वडाध्यक्ष राईले सबै निराधार हल्ला चलाइएको भन्दै दिग्दारी व्यक्त गरे । ‘विना कारण चलाइएको हल्लाले कोरोना लाग्नेलाईभन्दा नलाग्नेलाई विरामी बनाउने खतरा बढ्यो’ वडाध्यक्ष राईले आग्रह गरे ‘विनाकारण चलेको हल्लाको पछि कोही नलाग्नुहोला, ढुक्क भएर घरमै बस्नुहोला !’

 

प्रकाशित: ९ वैशाख २०७७ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App