१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा संक्रमित भेटिएसँगै खोटाङका क्वारेन्टाइन भरिभराउ

खोटाङ– उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै खोटाङको विभिन्न पालिकाको क्वारेन्टाइन भरिभराउ बनेको छ । उदयपुरमा एकैसाथ १२ जना संक्रमित फेला परेको सार्वजनिक भएसँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा आइतबार एकै दिन ३० जनालाई क्वारेन्टीनमा राखिएको छ ।

उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै गाईघाट आसपासबाट गाउँपालिका भित्रिने स्थानीयको संख्या बढेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । उदयपुरबाट रातारात गाउँपालिका प्रवेश गर्ने स्थानीयलाई सिधै क्वारेन्टीनमा लगेर राखिएको छ । यससँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा क्वारेन्टीनमा बस्नेको संख्या ५२ पुगेको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकीमा बनाइएको क्वारेन्टीनमा १७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटस्थित पञ्चकौशिका माबिको क्वारेन्टीनमा १९ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा निर्माण गरिएकोे क्वारेन्टीनमा १६ जनालाई राखिएको छ । उदयपुरमा संक्रमित भेटिएपछि त्रास फैलिएपछि गाउँ फर्कने बढेको अध्यक्ष राईले बताए ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा आईतबारदेखि एकैसाथ १३ जनालाई क्वारेन्टीनमा राखिएको छ । उदयपुरबाट गाउँ आएका चार जनालाई स्वास्थ्यचौकी दुर्छिममा र चार जनालाई स्वास्थ्यचौकी महादेवस्थानको क्वारेन्टीनमा राखिएको नगर प्रमुख इवन राईले बताए । यस्तै, राजापानीमा बनाइएको क्वारेन्टीनमा ३ जना र धितुङको क्वारेन्टीनमा २ जनालाई राखिएको नगरपालिकाले जनाएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलस्थित क्वारेन्टीनमा आईतबार ३ जना थपिएको छ । हाल ७ जना राखिएको क्वारेन्टीनमा इटहरिबाट आएका दोर्पाचिउरीडाँडाका तीन जनालाई राखिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

हाल बराहपोखरी गाउँपालिकाको क्वारेन्टीनमा ७ जना, रावाबेँसी गाउँपालिकामा ७ जना, खोटेहाङ गाउँपालिकामा ६ जना र साकेला गाउँपालिकामा २ जनालाई क्वारेन्टीनमा राखिएको छ ।

असुरक्षित क्वारेन्टाइन
हरेक स्थानीय तहले बनाएका क्वारेन्टाइन असुरक्षित देखिएका छन् । एउटै कोठामा लहरै बेड बनाइएकाले एउटालाई संक्रमण भए अन्य स्वस्थ व्यक्तिलाई समेत रोग सर्ने खतरा देखिएको नेकपा दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि अध्यक्ष राजेन्द्र राईले बताए । ‘एकातर्फ क्वारेन्टाइन सुरक्षित छैन, अर्कातर्फ कसैलाई क्वारेटाइनमा राख्ने, कसैलाई होम क्वारेन्टाइनमा छाड्ने गरिएको छ,’ राईले भने, ‘कसैले छुट पाउने, कसैले क्वारेन्टाइनमा बस्नुपर्ने विभेद ठीक होइन । एक जनाबाट खतरा भए सबैलाई खतरा हुन्छ ।’

प्रकाशित: ८ वैशाख २०७७ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App