२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिल गरिएको भुल्केमा ६ सय जनाको स्वास्थ्य परीक्षण गरिदै

१२ जना भारतीय संक्रमित बसेको भुल्के मस्जिद । तस्बिरः महेश्वर

उदयपुर- सदरमुकाम नजिकै मस्जिदमा बसेका भारतीय धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ। १२ भारतीयमध्ये ११ र उनीहरुसँगै रहेका मोरङका एक जनामा कोरोना पोजेटिभ देखिएपछि त्रसित जिल्लाबासीलाई थप संक्रमणबाट रोक्न प्रशासनले उच्च सतर्कता अपनाएको हो।

जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार साँझै संक्रमितसहित मस्जिदमा रहेका १६ जना सबैलाई आइसोलेसनमा राख्न विराटनगर कोरोना अस्पताल पठाइसकेको छ। ४ दिनअघि द्रुत लक्षण परीक्षण (आरडिटी) मा सबैको रिपोर्ट नेगेटिभ आए पनि पुनरयकिन गर्न स्वाब संकलन गरी परीक्षण गर्न पठाउँदा नतिजा पोजेटिभ आएपछि सबैलाई विराटनगर पठाइएको हो।
    
२५ देखि ४९ वर्ष उमेरसम्मका उनीहरु चैत १ गतेदेखि मस्जिदमा बस्दै आएको प्रहरी बयानबाट खुलेको छ। प्रहरीले संकलन गरेको ‘ट्राभल हिस्ट्री’ मा मंसिर २५ गते जोगवनी नाका भएर छिरेको तथा मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिदमा तीन महिना बसेपछि फागुन २५ उदयपुर छिरेको पाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। भुल्के आउनुअघि उनीहरु चौदण्डीगढी ५ सुन्दरपुरस्थित शिवाई मस्जिदमा ७ दिन बसेको खुलेको उनले बताए।

शिवाईबाट चैत १ गते भुल्के मस्जिद आएका उनीहरु लकडाउन सुरु भएपछि रोकिएर अन्य मस्जिद जान नपाएको प्रहरी भनाई छ। मस्जिदमा भारतीयहरु बसेको जानकारी चैत १४ गते नै स्थानीयले प्रशासनलाई दिए पनि सातादिनअघि मात्र प्रहरी र स्वास्थ्यकर्मी टोली खटाएर आरडिटी र स्वाब परीक्षण गराएको थियो।

मोरङका चारसहित मस्जिदमा बसेका उनीहरु क्वारेन्टाइन बस्नुअघि बिभिन्न मस्जिद र सामाजिक अगुवाहरुसँग भेटघाट र घुमफिर गरेको हुन सक्ने भन्दै सबैलाई ‘होम क्वारेन्टाइन’ मा बस्न प्रशासनले आग्रह गरेको छ। गाईघाटको डिएमगेटस्थित मस्जिद र बगाहा मस्जिदमा पनि उनीहरु आउजाउ गरेको अपुष्ट जानकारी स्थानीयले दिएका छन्। घुमफिरमा मस्जिदका पूजारी, व्यवस्थापन समिति र सामाजिक अगुवासँग उनीहरुको घुलमिल भएको स्थानीयको भनाई छ।

कोरोना संक्रमण देखिएपछि ट्राभल हिस्ट्री टाँटेको अनुमान गरी प्रशासनले मस्जिद आसपास गाउँ शुक्रबार साँझै ‘सिल’ गरेको छ। मंसिर २५ गते आएको भने पनि उनीहरु फागुन ३–५ गते सप्तरीमा सम्पन्न ‘अन्तराष्ट्रिय मुस्लिम भेला’मा सहभागी भएको वा भेलामा आएका भारतीयको सम्पर्कबाट रोग सरेको अनुमान गरिएको छ। एसपी मगरका अनुसार उनीहरुले सप्तरी भेलामा सहभागी नभएको तर, त्यो अवधिमा सप्तरीकै कुनै मस्जिदमा रहेको बताएका छन्। उनीहरुले नकारे पनि यस बीचमा नयाँ दिल्लीमा सम्पन्न धार्मिक सभामा उनीहरु स्वयं गएर फर्केको हुनसक्ने अनुमान पनि गरिएको छ।

भुल्केमा सबैको स्वास्थ्य जाँच गरिदै
यसैबीच अघिल्लो साँझदेखि सिल गरिएको मस्जिद क्षेत्रसहित भुल्केका सबैको स्वास्थ्य परीक्षण गरिने भएको छ। विराटनगरबाट थप स्वास्थ्यकर्मी झिकाएर भुल्केबासी ६ सय जनाको परीक्षण गर्न लागिएको जिल्ला स्वास्थ्य अधिकृत मोहन सुबेदीले बताए। गाईघाटका २ जना मात्र ल्याव टेक्निसिएनले नभ्याउने हुनाले थप ३ जना विराटनगरबाट आउँदै गरेको उनले बताए।

शनिबारभित्रै भुल्केमा परीक्षण सकेर संक्रमितहरु घुमफिर गरेको ठाउँका मस्जिद र गाउँ बस्ती पनि परीक्षण गरिने छ। ‘भुल्केमा आज रातिसम्म गरेर भए पनि सबैको जाँच गरिसक्ने योजना छ’ सुबेदीले भने ‘त्यसपछि गाईघाट, बगाहा, शिवाई, हडियालगायत जुनजुन मस्जिद र बस्ती घुमफिर गरेका छन् ती ठाउँहरु पत्ता लगाएर सबैतिर परीक्षण गरिनेछ।’

सदरमुकाममै संक्रमण देखा परेका कारण जिल्लामा जोखिम बढेको भन्दै जिल्ला समन्वय समितिले लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ। समन्वय प्रमुख खड्ग परियारले एकैचोटी १२ जनामा संक्रमण देखिनुले सतर्कता अपनाउनु एक मात्र विकल्प भएको भन्दै सबै जिल्लाबासीलाई घरघर बसेर लकडाउनको पालना गर्न आग्रह गरेका छन्।

 

प्रकाशित: ६ वैशाख २०७७ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App