४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट फर्किएका ४७ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङ– खोटाङमा विदेशबाट फर्किएका ४७ जनाको कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ। गत चैत यता विभिन्न देशबाट घर फर्किएका जन्तेढुंगा गाउँपालिकाका २० जना, बराहपोखरी गाउँपालिकाका १ जना र खोटेहाङ गाउँपालिकाका २६ जनामा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि बैसाख ३ गतेदेखि सम्बन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए/नभएको परिक्षण गर्ने १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको छ। शुक्रबार विदेशबाट फर्किएका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने कार्यक्रम छ। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बैशाख ६ गते ऐसेलुखर्क गाउँपालिकामा, बैशाख ७ केपीलासगढी गाउँपालिकामा बैशाख ८ मा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैशाख ९ गते साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारिएको छ।

रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागे यता विदेशबाट एक जना मात्र फर्केको तथ्यांक छ। ‘प्रदेश सरकारबाट हामीलाई १२० किट प्राप्त भएकाले त्यती जनाकै टेष्ट हुन्छ,’ प्रजिअ पौडेलले भने, ‘पोजिटिभ रिपोर्ट आए सम्बन्धित पालिकाकै खर्चमा उपचारका लागि धरान पठाइन्छ, नेगेटिभ देखिए पनि १० प्रतिशत नमूना संकलन गरेर परिक्षणका लागि पठाइने छ।’

चैतअघि घर फर्किएका र काठमाडौंबाट घर फर्किएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नका लागि पुनः परिक्षण किट माग गरिएको प्रजिअ पौडेलले बताए। कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तीको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो। उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन्।

कतारबाट फर्किएका युवाको आरडिटि रिपोर्ट पनि ‘नेगेटिभ’
कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ। फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’ आएको हो।

केही समयअघि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणकाक्रममा कोरोना परिक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिए पनि पुनः उनको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत १२ गतेदेखि होम क्वारेन्टीनमा राखिएको छ। सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टीनमा राखिएको बताइएको छ।

प्रकाशित: ५ वैशाख २०७७ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App