१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सामाग्री कालोबजारी आरोपमा कमला मेडिसिन छानविनमा

बाँके- लकडाउनको फाइदा उठाउँदै स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेको आरोपमा कमला मेडिसिनबारे प्रहरीले छानबिन सुरु गरेको छ। संकटको फाइदा उठाउँदै नेपालगन्जका केहि मेडिकल पसलले चर्को मूल्यमा स्वास्थ्य सामाग्री बिक्री गरेको गुनासो स्थानीयहरुले गर्दै आएका थिए। स्थानीयहरुले बिरोध गर्दै गएपछि प्रहरीले चर्को मूल्यमा मेडिकल सामाग्री बिक्री भैरहेको बारेमा अनुसन्धान सुरु गरेको थियो। प्रहरीले जनस्तरबाट गुनासो आएको भन्दै कमला मेडिसिनमा छापामार्दा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने गरेको स्यानेटाइजर भेटिएको थियो।

नेपाल सरकारले निशुल्क दिने गरेको ‘ह्यान्ड स्यानिटाइजर’ नेपालगन्जको सुर्खेत रोडमा रहेको कमला मेडिसिनले प्रतिबोतल ६ सय रुपैयाँमा बिक्री गरेको आरोप लागेको छ। नेपालगन्ज सुर्खेतरोडमा रहेको मेडिसिनलाई ज्वरो नाप्ने थर्मल गन पनि महँगोमा बिक्री गरेको आरोप लागेको छ।

स्वास्थ्य मन्त्रालयलाई दिइएको स्यानिटाइजर कसरी नीजि मेडिकल सप्लायर्सको हात पुग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले कमला मेडिसिनका संचालक दीपेन्द्र अग्रवालसँग घटनाबारेमा अनुसन्धान भैरहेको बताए। उनले भने,‘कमला मेडिसिनले कसरी सरकारले निशुल्क उपलब्ध गराएको स्यानिटाइजर बिक्री गर्‍यो भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेको छौं। कमला मेडिसिनका बारेमा अन्य गुनासाहरु पनि आएका छन। त्यसका बारेमा हामी अनुसन्धान गरिरहेको छौं।’

जनताबाट गुनासो आएपछि बुधबार कमला मेडिसिन पसलमा पुग्दा स्यानिटाइजरको एउटा बक्स फेला परेको एसपी ओलीले नागरिकलाई जानकारी गराए।

अवैध रुपमा सामान बिक्री गरेको भेटिएपनि तत्कालको लागि मेडिसिन पसल शिल नगरिएको उनले बताए। एसपी ओलीले थपे, ‘हामीले पसलशील गर्ने होइन। सम्बन्धित निकायले यसमा छानबिन गरेर कारबाही अगाडि बढाउने हो। अहिले मेडिसिनले अन्य सामान बिक्री गर्न पाउँछ।’

मदन भण्डारीले सामाजिक संजालमा एसआर ड्रगले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निशुल्क रुपमा गराएको स्यानिटाइजर प्रति बोत्तल ६ सयमा बिक्री गरेको भन्दै छानबिन गर्न माग गरेका थिए।

एक साता अघि काठमाडौमा शंकर गु्रपका संचालक सुलभ अग्रवाल थर्मल गनको कालोबजारी गरेको आरोपमा प्रहरीको फन्दामा परेका थिए। पाँच हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुलभ अग्रवालले चीनको ग्वान्झाओ सहरबाट सात टन मेडिकल सामाग्री ल्याउँदा नेपालगन्जको कमला मेडिसिनले सँगै सामान ल्याएका थिए।

काठमाडौमा सुलभले गरेजस्तै नेपालगन्जमा दीपेन्द्र अग्रवालले स्वास्थ्य सामाग्री महँगो मुल्यमा बिक्री गरेको आरोप लाग्दै आएको छ। नाम नबताउने सर्तमा स्थानीय रेडक्रसका एक प्रतिनिधीले कमला मेडिसिनले स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेको आरोप लगाए। उनले भने, ‘२५ थान थर्मलगन र केहि स्वास्थ्य सामाग्री किन्न हामी कमला मेडिसिन पुगेका थियौं। ५ हजार पर्ने थर्मल गनलाई मेडिसिनका संचालकले १७ हजार भन्नु भयो। त्यो पनि बिल १० हजार बनाउने सर्तमा। पछि हामी फर्केर आएका थियौं।’

प्रकाशित: ३ वैशाख २०७७ १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App